तातोपानी नाकाबाट  भित्रिएको मालबाहक कन्टेनर। फाइल तस्बिर 
                                            तातोपानी (सिन्धुपाल्चोक)- असोज ११ र १२ गते परेको वर्षाका कारण सडक क्षति हुँदा अवरुद्ध भएको उत्तरी सीमा तातोपानी नाका अस्थायी रूपमा सञ्चालनमा आएको छ। भोटेकोशी नदीमा डाभइभर्सन निर्माण गरी नाका सञ्चालनमा ल्याइएको व्यवसायीहरूले बताएका छन्।
बाढीपछि सुनसान रहेको नाका बिहीबारदेखि अस्थायी रूपमा सञ्चालनमा आएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष इन्द्रबहादुर राउतले जानकारी दिए। अर्का व्यवसायी बलराम ढकालका अनुसार सिल्क ट्रान्सपोर्टको अगुवाइमा नाका सञ्चालनमा आएको बताए। उनले भने, ‘अब हामीलाई आशा पलाएको छ। अब सामान्य भए पनि कारोबार हुन्छ। व्यवसायीको पहलमा नाका खुलाइएको हो।’
बाढीपहिरोले नाका अवरुद्ध भएपछि तातोपानी नाका ठप्प थियो। अवरुद्ध सडक खुलाउन नेताहरूले आश्वासन मात्रै दिएको तर समयमा काम नगरेको गुनासो व्यवसायीहरूको छ। उनीहरूका अनुसार राजनीतिक नेताहरु आएर र आफ्नो पार्टीका कार्यकर्तासँग भेटेर मात्र फर्कने गरेका छन्। ढकालले भने, ‘व्यवसायी संघसंगठन मिलेमा स्थानीय तहमा काम गर्न सकिँदो रहेछ भन्ने प्रमाणित भएको छ।’
तिहारका लागि आवश्यक पर्ने सामान खासामा अड्किए पनि सरकारका तर्फबाट नाका खुलाउन पहल नभएको व्यवासायीहरू बताउँछन्।
सिल्क ट्रान्सपोर्टका निर्देशक विजय शेर्पाले नाका खुलेपछि आफूहरूले तिहारका सामान बोकेका २५ वटा कन्टेनर नेपाल भित्र्याएको जानकारी दिए। उनले भने, ‘तिहारका लागि ल्याएका सामान उतै अड्किँदा तनावमा थियौँ। अस्थायी रूपमा नाका खुलेपछि केही आशा पलाएको छ।’
बाढीले लार्चा र लिपिङ भन्ने ठाउँमा पहिरोले पुल बगाएको थियो। पुल बगाएको ठाउँमा ह्युम्पाइप राखेर सडक सञ्चालनमा ल्याइएको हो। गत महिना भीषण वर्षाले भोटेकोशीको बेलिब्रिज र तातोपानीनजिकै लिपिङखोलाको पुल बगाएको थियो। त्यसयता तातोपानी नाकासम्म पुग्ने बाटो अवरुद्ध भएको थियो।


                                             
                                             
                                             
                                             
                                             

