जनकपुरको राजदेवी मन्दिरमा १५ हजार बोकाबलि

हिमाल प्रेस २५ असोज २०८१ ४:२३ | Friday, October 11, 2024
जनकपुरको राजदेवी मन्दिरमा  १५  हजार बोकाबलि

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा १५ हजार बकाबलि भएको छ। विजय दशमीअन्तर्गत बिहीबार राति १५ हजार ४ बोकाबलि भएको हो।

राजदेवी मन्दिरमा यस वर्ष १५ हजार बोकाबलि भएको बोकाबलिमा सहभागी सोनु निधिलेजानकारी दिएका छन्। गत वर्ष यो संख्या १५ हजार २५१ रहेको थियो।

बिहीबार राति ८ बजेर ३८ मिनेटमा सुरू भएको बोकाबलि शुक्रबार बिहान करिब ४ बजेर ५ मिनेटसम्म चलेको थियो। श्रद्धालुहरूको लाम ठूलो भएपछि समयमै व्यवस्थापन गर्न मन्दिर परिसरभित्रै चार ठाउँमा बोकाबलिको व्यवस्था गरिएको थियो।

बिहीबार राति हुने बोकाबलिका लागि बिहानैबाट श्रद्धालुहरू लाइन बसेका थिए। राजदेवी मन्दिरमा बोकाबलिका लागि धनुषा, महोत्तरी, सर्लाही, सिरहाका साथै भारतबाट समेत श्रद्धालुहरू आउने गर्दछन्। राजदेवी मन्दिरमा बोकाबलि गरेपछि भाकल पूरा हुने जनविश्वास रहेको छ।

बोकाबलिअघि राजदेवी मन्दिरमा निशा पूजा गरिएको थियो। राम मन्दिरका महन्त राम गिरीले निशा पूजा गरेका थिए। बोकाबलिअघि निशा पूजा गर्ने परम्परा रहेको छ। त्यस्तै नेपाली सेनाको टुकडीले राजदेवी मन्दिर परिसरमा सलामी अर्पण गरेका थिए।

राजा जनकको कुलदेवी ठानिएकी राजदेवीमाताको मन्दिरमा वर्षको एकपटक बडादसैँको महाष्टमीका दिनमात्र बोकाबलि हुने गरेको छ। मिथिला पञ्चाङअनुसार फूलपातिका साथै महाष्टमी पनि पनि परेकाले बिहीबार बोकाबलि गरिएको राजदेवी मन्दिरमा पूजा व्यवस्थापन गरिरहेको महावीर युवा कमिटीका अध्यक्ष अजयकुमार साहले जानकारी दिए।

भाकल गरेका साथै अन्य व्यक्तिहरुले समेत महाष्टमीका राती राजदेवी मन्दिरमा बोकाबली गर्ने गरेका छन्। यहाँ बोकाबलीका लागि नेपालका साथै भारतबाट समेत श्रद्धालुहरु पुग्ने गरेका छन्।

बोकाबलिका लागि एक साताअगाडिदेखि रसिद काट्न सुरू भइसकेको महावीर युवा कमिटीले जनाएको छ।

मन्दिर परिसरमै रहेको गुठी संस्थान कार्यालयले प्रतिबोका रू. ३ सयको दरले रसिद काटिरहेको कमिटीले जनाएको छ। यसअघि रू. २ सय रहेकोमा गुठी संस्थानले यसपालि सय रूपैया वृद्धि गरेको छ। बोकाबलिका लागि शुल्क वृद्धि भएपछि कतिपयले विरोधसमेत गरेका छन्।

तर, महावीर युवा कमिटीले भने बोकाबलिका लागि दश वर्षपछि सय रूपैयाँ वृद्धि गरिएकोले विरोध गर्न नहुने बताएको छ। अध्यक्ष साहले पूजा व्यवस्थापन, सरसज्जालगायतका कार्यका लागि खर्च बढेको अवस्थामा बोकाबलिको शुल्क वृद्धि गरिएको बताए।

बोकाबलिबाट उठ्ने पैसा गुठी संस्थान, महावीर युवा कमिटी र राम युवा कमिटीबीच भागबन्डा हुने गरेको छ।

महावीर युवा कमिटीका अध्यक्ष साहले यसपालि राजदेवी मन्दिरमा पूजाआजाका लागि सरसजावटलगायतका शीर्षकमा ४५ लाखभन्दा बढी खर्च हुने अनुमान रहेको बताए। बोकाबलि र स्थानीय व्यवसायी तथा महानगरपालिकाबाट प्राप्त भएको चन्दा सहयोगबाट यो खर्च व्यवस्थापन गरिने उनले जानकारी दिए।

बोकाबलिमा अत्याधिक भीडभाड हुने गरेकाले व्यवस्थापनका लागि जनकपुरधामका सबै युवा क्लबहरूको सहयोग लिने गरिएको अध्यक्ष साहले बताए। बोकाबलिलाई व्यवस्थित रूपमा सम्पन्न गर्न पाँच सयबढी स्वयंसेवक परिचालन गरिएको थियो।

प्रकाशित: २५ असोज २०८१ ४:२३ | Friday, October 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast