गण्डकीका धनाढ्य मुख्यमन्त्री : काठमाडौँसहित ३ ठाउँमा घर, ४५ तोला सुन

विजय नेपाल १४ कार्तिक २०८१ १०:२५ | Wednesday, October 30, 2024
गण्डकीका धनाढ्य मुख्यमन्त्री : काठमाडौँसहित ३ ठाउँमा घर, ४५ तोला सुन सुरेन्द्रराज पाण्डे।

पोखरा- गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ। पछिल्लो समय गत १६ जेठमा मुख्यमन्त्री नियुक्त पाण्डेले अघिल्लो कार्यकालमा बुझाएको सम्पत्ति विवरण तुलनामा थप सम्पत्ति जोडेका छन्।

मुख्यमन्त्री पाण्डेको गोरखाको पालुङटार नगरपालिका र काठमाडौँमा घरजग्गा छ। यो सम्पत्ति उनले पैत्रिक भनेका छन्। उनको पालुङटार, कपिलबस्तु नगरपालिका र भक्तपुरको सूर्यविनायक नगरपालिकामा जग्गा रहेको उल्लेख गरेका छन्।

पालुङटारमा ३ कित्तामा करिब ३६ रोपनी, कपिलबस्तुमा २ कित्तामा ५ कठ्ठा ६ धुर, सूर्यबिनायकमा ५ कित्तामा करिब १० रोपनी जग्गा रहेको छ । उनीसँग ४५ तोला सुन, ७ सय तोला चाँदी, २ सेट हिरा र १ मोती छन्। यसअघि, सम्पत्ति विवरण बुझाउँदा सुन ४२ तोला र चाँदी ५ सय तोला रहेको बताएका उनको अहिले ३ तोला सुन बढेको हो। चाँदी २ सय तोला थप जोडेका छन्।

उनले आफू र पत्नी बिना शर्मा पाण्डे र छोरा सुयोग्यराज पाण्डेको नाममा विभिन्न बैंकमा बचत रकम जम्मा गरेका छन्। उनको एभरेष्ट बैंक, नबिल बैंक, एसबिआई बैंक र कृषि विकास बैंकमा २७ लाख ७४ हजार बचत छ। पहिले सम्पत्ति विवरण बुझाउँदा उनीसँग २४ लाख ९६ हजार बचत थियो।

अहिले थप रकम पनि जोडेका हुन्। पत्नीको नाममा प्रभू र ग्लोबल आईएमई बैंकमा उपदानवापत २७ लाख र जग्गा बिक्रीबाट ४४ लाख मुद्दति खातामा छ। बचत खातामा ६७ हजार छ। छोराको नाममा ग्लोबल आईएमई र एसबिआई बैंकमा ४ लाख ७८ हजार रुपैयाँ बचत छ।

धितोपत्र, शेयर वा ऋणपत्रतर्फ मुख्यमन्त्रीले दियालो फुडल्याण्ड प्रालिमा ६१ हजार १ सय कित्ता, बैंक तथा वित्तीय संस्थामा ५ हजार कित्ता, पत्नीको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा करिब ५ हजार कित्ता र छोराको नाममा करिब ४ हजार कित्ता शेयर छ।

उनले ती शेयर कित्ता जग्गा बिक्री, व्यवसाय र तलबबाट आर्जन गरेको दाबी गरेका छन्। पत्नीको नाममा मारुती बलेरो कार छ।पाण्डे नेतृत्वमा गण्डकी ९ सदस्यीय मन्त्रिमण्डल छ । अन्य मन्त्रीहरुको पनि सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

प्रकाशित: १४ कार्तिक २०८१ १०:२५ | Wednesday, October 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast