खाँदबारी-किमाथांका सडकखण्ड निर्माणले पायो तीव्रता

हिमाल प्रेस ९ कार्तिक २०८१ १३:२३ | Friday, October 25, 2024
खाँदबारी-किमाथांका सडकखण्ड निर्माणले पायो तीव्रता फाइल तस्बिर

किमाथांका (सङ्खुवासभा)- संखुवासभाको उत्तरी क्षेत्र जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको खाँदबारी-किमाथांका सडकखण्ड निर्माणले तीव्रता पाएको छ।

भौगोलिक रूपमा विकट मानिएको खाँदबारी-किमाथांका सडकको आठ किलोमिटर ट्र्याक नेपाली सेनाले खोलिसकेको छ। उत्तरी क्षेत्रमा पर्ने किमाथांका नाका भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ। उक्त खण्डको १० किमीमध्ये आठ किमी ट्र्याक खोल्ने काम सम्पन्न भएको नेपाली सेनाले जनाएको छ। किमाथांका-जोगवनी खण्ड छिमेकी देश चीन-भारत जोड्ने सबैभन्दा छोटो सडकका रूपमा मानिन्छ।

ट्र्याक खोल्न बाँकी दुई दशमलव शून्य एक किमी पनि यही वर्ष जोडिने तयारी भइरहेको आयोजना कार्यालयले जनाएको छ। यो ट्र्याक खुलेसँगै यो वर्ष जोगवनी-विराटनगर-किमाथांका जोडिने आयोजना प्रमुख शमशेर सिंहले जानकारी दिए। उनका अनुसार भोटखोला गाउँपालिकाको च्याम्ताङ-घोङगोप्पाको करिब १० दशमलव पाँच किमी खण्डमा नेपाली सेनाले ट्र्याक खोल्ने काम गरिरहेको छ।

कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक पर्ने भन्दै २२ भदौ २०७६ को मन्त्रिपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मेवारी दिएको थियो। हालसम्म नेपाली सेनाले आठ किमी सडकको ट्र्याक खोलिसकेको प्रमुख सिंहले बताए। सडक निर्माणका लागि दैनिक एक सय ४० जनशक्ति परिचालन गरिएको छ।

सो सडकबाट धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन्। च्याम्ताङसम्म ट्र्याक खुले पनि खाँदबारीबाट बरुण दोभानसम्मको खण्डमा हिउँदको समयमा मात्रै गाडी सञ्चालन हुने गरेको छ। सडक विस्तारसँगै यस क्षेत्रमा व्यापार, व्यवसाय पनि विस्तार हुने स्थानीयको अपेक्षा छ। सडकसँगै सीमामा भन्सार कार्यालय स्थापना हुनुपर्ने स्थानीयको माग छ।

राष्ट्रिय गौरवको आयोजना खाँदबारी-किमाथांका सडक निर्माणमा हालसम्म ५३ करोड रुपैयाँ खर्च भइसकेको अयोजना कार्यालयले जनाएको छ। नेपाली सेनाले हेलिकोप्टरमार्फत निर्माण साम्रगी ढुवानी गरेर ट्र्याक खोल्ने काम गरिरहेको हो।

प्रकाशित: ९ कार्तिक २०८१ १३:२३ | Friday, October 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast