केटी साथीलाई भेट्न नदिएको निहुँमा सिरहामा साथीको हत्या

हिमाल प्रेस ५ कार्तिक २०८१ १०:३४ | Monday, October 21, 2024
केटी साथीलाई भेट्न नदिएको निहुँमा सिरहामा साथीको हत्या

काठमाडौँ- केटी साथीलाई भेट्न नदिएको भन्दै साथीलाई नै हत्या गरेको घटना बाहिर आएको छ। गत असोज २८ गते कृष्णकुमार सिरहामाथि आफ्नै साथीले हत्या गरेका छन्। उनको शव सुखिपुर नगरपालिका–१० गागन खोल नजिक फेला परेको थियो।

कृष्णकुमारले आफ्नी महिला साथीलाई भेट्न नदिने भनेपछि त्यही निहुँमा पक्राउ परेका व्यक्तिहरूले उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका व्यक्तिहरूले कृष्णकुमारलाई चारैतिरबाट घेराहाली धारिलो कैँचीले घाँटी तथा पेटमा रोपी हत्या गरेको अनुसन्धानबाट खुलेको सिरहा प्रहरीका प्रवक्ता वीरेन्द्रकुमार पासवानले बताए।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१३ डंगराहा टोल बस्ने २७ वर्षीय सन्तोषकुमार महरा, सोही ठाउँका १९ वर्षीय रोहितकुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरजकुमार राम र २० वर्षीय मोहम्मद जमसेद रहेको  प्रवक्ता पासवानले जानकारी दिए। उनका अनुसार हत्यापछि उनीहरूले कृष्णकुमारको शवको कम्मरभन्दा माथिको भाग खोला किनारमा बालुवाले छोपेर फरार भएका थिए।

कृष्णकुमार र रोहित घरबाट सँगै आएर सुखिपुरमा दुर्गा मेला हेर्न आएका थिए। मेलामा अन्य तीन जना साथी भेट भएपछि त्यहाँबाट पूर्व खोलानजिक चौरमा गएर नशालु पदार्थ सेवन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

कृष्णकुमारले महिला साथी (नाम नखुलेको) लाई भेट्न बोलाउन खोज्दा उनका साथीहरूले पनि भेट्ने भनेको प्रहरीले जनाएको छ। तर, कृष्णकुमारले नमानेपछि यही विषयमा विवाद भएर पाँच जनाले मिलेर हत्या गरेको अनुसन्धानबाट खुलेको डिएसपी पासवानले बताए।

पाँचै जनालाई उनीहरूको घरबाटै पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ कार्तिक २०८१ १०:३४ | Monday, October 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast