 प्रेस सेन्टर जुम्लाले सोमबार जुम्लाको सिंजा कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष। तस्बिर स्रोत : प्रचण्डको सचिवालय
                             प्रेस सेन्टर जुम्लाले सोमबार जुम्लाको सिंजा कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष। तस्बिर स्रोत : प्रचण्डको सचिवालय
                                            जुम्ला- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरिरहेको आरोप लगाएका छन्। प्रेस सेन्टर जुम्लाले सोमबार जुम्लाको सिंजा कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
प्रचण्डले अब सरकार गठन भएको सय दिन पूरा भएपछि विरोधका कार्यक्रम सुरु गर्ने जानकारी दिए। उनले भने, ‘सरकारले जतिसुकै नराम्रो काम गरे पनि हामीले हनिमुन पिरियड मानिने सय दिनसम्म प्रतिनिधिसभाबाट खबरदारी वक्तव्य दिनेबाहेक अन्य विरोधका कार्यक्रम गरेका छैनौँ। मात्रै हामी विपक्ष दलहरुका तर्फबाट सरकारलाई ज्ञापनपत्र दिँदैछौँ र सय दिन पुगेपछि विरोधका कार्यक्रम सुरु हुन्छन्।’
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले नै यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेको आरोप लगाए। उनले आफूले सरकार गठन भएदेखि यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो भन्दै आएको र अहिले त्यो आरोप प्रधानमन्त्री स्वयंले पुष्टि गरेको बताए।
‘मैले उतिबेला नै भनेको थिएँ, यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो। भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो, सरकार गठनको तीन महिना पुग्दैछ, तपाईहरूले सबै देखिरहनुभएको छ’, अध्यक्ष प्रचण्डले भने, ‘मेरो नेतृत्वको सरकारले जसलाई राज्यको जमिन जबरजस्ती व्यक्तिमा नाममा लैजाने जस्तो ठगी गरेको कारण गिरफ्तार गरेको थियो र अदालतमा मुद्दा पनि चलिरहेको छ, तिनै व्यवसायीबाट जग्गा दान लिने जस्तो कार्य गरेर प्रधानमन्त्री आफैँले यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेका छन्।’
पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले देशभित्र भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा तथा अन्तर्राष्ट्रिय रूपमा नेपालमा प्रतिष्ठा अभिवृद्धि गर्न पहलकदमी लिइरहेका बेला संसद्का पहिलो र दोस्रो दलले अस्वाभाविक र अप्राकृतिक रूपमा आफूलाई हटाएको बताए।
उनले भने, ‘देशमा महत्त्वपूर्ण उपलब्धि भइरहेका बेला हामीले भ्रष्टाचारीलाई कारबाही बढाउँदै लगेको देखेपछि खासगरी नक्कली भुटानी शरणार्थीसँग सम्बन्धित केही फरार अभियुक्तलाई गिरफ्तार गरेपछि बूढानीलकण्ठ र बालकोटमा निकै ठूलो भूकम्प गयो र रातारात अस्वाभाविक रूपमा सरकार बनाइयो।’
प्रचण्डले आफूले सरकारको नेतृत्व गरेको बेलामा देशभित्र जनताको आशा जगाउँदै विश्व समुदायमाझ पनि नेपालको प्रतिष्ठा प्रवर्धनलाई अघि बढाएको दाबी गरे। दुई छिमेकी देशको भ्रमणमा ऐतिहासिक समझदारीहरु भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘संयुक्त राष्ट्रसंघको महासभा, विश्व खाद्य सम्मेलन, कोप २८ सम्ममा लिएको हस्तक्षेपपूर्ण पहलकदमीले विश्वको ध्यान नेपालतर्फ आकर्षित भएको थियो।’ ’
‘सिंजा सभ्यता र प्रतिष्ठानका लागि चाँडै ऐन बन्नेछ’
खस भाषा र सभ्यताको केन्द्र सिंजा कनकासुन्दरीमा आयोजित पत्रकार भेटमा अध्यक्ष अध्यक्ष प्रचण्डले सिंजा सभ्यता र प्रतिष्ठानका लागि चाँडै ऐन बन्ने बताए। उनले आफू पछिल्लोपटक प्रधानमन्त्री भएको बेलामा सिंजा सभ्यता र प्रतिष्ठानसम्बन्धी विधेयक अघि बढाएको उल्लेख गर्दै यसलाई चाँडै मन्त्रिपरिषद्बाट पारित गरी संसद्बाट ऐन बनाउने प्रक्रिया थालनी गर्नुपर्ने बताए।
‘मलाई गर्व छ, मैले क्याबिनेटबाट सैद्धान्तिक सहमति पूरा गरेर त्यो विधेयक अघि बढाउने प्रक्रिया सुरु गरिसकेको थिएँ, अब त्यो विधेयक मन्त्रिपरिषद्बाट पारित हुने प्रक्रियामा छ’, उनले भने, ‘त्यो हामी सबैका लागि खुसीको कुरा हुनेछ।’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 