बल्खुमा २५ करोडको फलफूल क्षति

हिमाल प्रेस १४ असोज २०८१ १४:०५
22
SHARES
बल्खुमा २५ करोडको फलफूल क्षति

काठमाडौँ- बल्खुस्थित फलफूल गोदाममा लेदो भरिएको छ। अविरल वर्षापछि बागमती आएको बाढी पसेर गोदाम लेदोले भरिएको हो। गोदामभित्र १० फिट उचाइसम्म बाढी पसेको थियो।

गोदाममा शनिबार र आइतबार पसेको बाढीको पानी सुके पनि लेदोले सबै फलफूल नष्ट भएको व्यवसायीले बताएका छन्। गोदाममा राखिएका करिब २५ करोड रुपैयाँ बराबरको फलफूल नष्ट भएको फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले जानकारी दिए।

‘बागमती किनारमा रहेका कारण यो गोदामले जहिल्यै वर्षाको मार व्यहोर्नुपर्छ। गोदाममा पानी पस्न नदिन धेरै उपाय अपनाएर पनि सकिएन’, उनले भने।

खोलाकिनारमा रहेको गोदाम जोगाउन केही फिट माथि मात्र फलफूल राख्ने व्यवस्था गरे पनि सफल हुन नसकेको उनको भनाइ छ। सरकारसँग व्यस्त र धेरै फलफूल तथा तरकारी व्यापार हुने बजार व्यवस्थित र सुरक्षित बनाउन माग गरे पनि सुनुवाइ नभएको उनको गुनासो छ।

फलफूल नष्ट भएकाले बजारमा उपभोक्ता मूल्य पनि बढेको छ। काठमाडौँ प्रवेश गर्ने अधिकांश नाका बाढीपहिरोका कारण अवरुद्ध छन्।

बल्खु गोदाममा फलफूल पनि बाँकी नरहेको फलफूल व्यवसायी रञ्जित सिंहले जानकारी दिए। मौसमी फलफूल भएका कारण पनि सबै कुहिएको उनले बताए। ‘यसै वर्षमात्र तीन पटकभन्दा बढी फलफूल र तरकारी वर्षाका कारण नष्ट भयो’, उनले भने।

गत साउनमा परेको वर्षाका कारण बल्खुस्थित कृषि तथा तरकारी बजारमा बाढी पस्दा करिब ३ करोडको क्षति भएको थियो। असारमा बागतीमा आएको बाढीका कारण काठमाडौंको बल्खुस्थित तरकारी बजार डुबानमा परेको थियो। त्यति बेला २ करोड बराबरका फलफूल र तरकारी बाढीले बगाएको व्यापारीहरू बताउँछन्।

अध्यक्ष घिमिरेले केरुङ नाकाबाट फलफूल ल्याउँदा प्रतिट्रक एक लाख २० हजार रुपैयाँसम्म भाडा पर्छ। तातोपानी नाका नजिकै भोटेकोशीमा पुल भत्किएकाले सडक अवरुद्ध छ।

व्यवसायीका अनुसार काठमाडौँको बजारमा स्याउ, अनार, किवी, एभोकाडोलगायतमा प्रतिकिलो ८० देखि ९० रुपैयाँसम्म मूल्य बढेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुुसार शनिबारदेखि बाहिरबाट आएको छैन। केही दिन फलफूल नआउने उनले जानकारी दिए।

प्रकाशित: १४ असोज २०८१ १४:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 20 =