प्राकृतिक विपद्को असर तरकारीमा, ४८ घण्टामा चार गुणाले बढ्यो भाउ

रमेश भारती १४ असोज २०८१ १०:५७
54
SHARES
प्राकृतिक विपद्को असर तरकारीमा, ४८ घण्टामा चार गुणाले बढ्यो भाउ काठमाडौँको कालीमाटीस्थित तरकारी बजार। तस्बिर : हिमाल प्रेस

काठमाडौंँ- अविरल वर्षापछिको बाढीपहिरो र डुबानका कारण तरकारी तथा फलफूलको भाउ चार गुणाले बढेको छ। अविरल वर्षापछि पहिरोले सडक अवरुद्ध हुँदा उपत्यकामा तरकारीको भाउ बढेको तरकारी व्यापारीहरूले बताएका हुन्।

आइतबारदेखि बजारमा तरकारीको अभाव सुरु भएको टुकुचा तरकारी बजारका व्यापारी विकास श्रेष्ठले जानकारी दिए। उनका अनुसार शनिबार ६० रुपैयाँ प्रतिकिलोको आलु सोमबार १ सय २० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।

उनले हाल आलुको अभाव भएको बताउँदै अझै दुई दिन बाहिरबाट आलु नआए यसको भाउ १ सय ५० रुपैयाँ पुग्ने जानकारी दिए। हिजो आइतबारदेखि तरकारी कम भित्रिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार शुक्रबारको तुलनामा आइतबार र सोमबार ७० प्रतिशतभन्दा कम तरकारी उपत्यका भित्रिएको छ। जसका कारण पनि तरकारीको भाउमा फरक परेको उनले बताए।

‘अविरल वर्षापछि सडक अवरुद्ध तरकारीका गाडी बाटोमा रोकिएका छन्। त्यहीँ भएर बजारमा हरियो तरकारी नै कम आएको हो। भने तरकारी कम आएपछि भाउ बढ्छ,’ उनले भने।

उपत्यकाभित्रै उत्पादन हुने तरकारी मात्र आइतबार र सोमबार बजारमा भित्रिए पनि छिमेकी जिल्लाहरू मकवानपुर, धादिङ, काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक र मधेश प्रदेशका केही जिल्ला तथा भारतबाट पनि फलफूल तथा तरकारी आउने गरेको छ। तर वर्षाका कारण तीन दिनयता ती स्थानबाट तरकारी नभित्रिएको समितिले जनाएको छ।

सामान्य अवस्थामा उपत्यकामा सात टनभन्दा बढी फलफूल तथा तरकारी भित्रिने गरेको छ। जसमध्ये ७० प्रतिशत तरकारी भित्रिने गरेको समितिले जनाएको छ। समितिका अनुसार शनिबार उपत्यकाभित्र १ सय ६५ टन फलफूल तथा तरकारी भित्रिएको समितिले जनाएको छ। आइतबार ३८ टन र सोमबार ३० टन मात्र तरकारी उपत्यका भित्रिएको समितिका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

थोरै सामान भित्रिएपछि फलफूल र तरकारीको भाउ सतप्रतिशतसम्म बढेको समितिले जनाएको छ। शनिबार प्रतिकिलो ४० रुपैयाँमा बिक्री भएको सानो गोलभेंडा सोमबार १२० रुपैयाँ पुगेको समितिको तथ्यांकमा छ। काँक्रो, तोरीको साग, हरियो बोडी, भिन्डी, सिमी, लौका, करेलाआलु, गाँजर र लोकल बन्दा पनि शनिबारको तुलनामा प्रतिकिलो ५० देखि ७० रुपैयाँसम्म बढेको समितिले जनाएको छ।

बाढीपहिरोले सडक अवरुद्ध भएपछि बजारमा तरकारी लुकाएर बेच्न थालेका छन्। तरकारीमा कालोबजारी भएपनि सरकारले नियन्त्रणमा चासो नदिएको सर्वसाधारणको गुनासो छ।

आजको तरकारीको भाउ

प्रकाशित: १४ असोज २०८१ १०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =