हिज्बुल्लाह नेता नसरल्लाहको मृत्युपछि पनि इजरायलले रोकेन आक्रमण

हिमाल प्रेस १३ असोज २०८१ १५:५९
2
SHARE
हिज्बुल्लाह नेता नसरल्लाहको मृत्युपछि पनि इजरायलले रोकेन आक्रमण तस्बिर : एपी

काठमाडौँ- हिज्बुल्लाह नेता हसन नसरल्लाहको मृत्युपछि पनि इजरायलले लेबनानमाथि आक्रमणलाई जारी राखेको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार लेबनानको दक्षिणी भागमा कम्तीमा ६ जनाको मृत्यु भएको छ।

हिज्बुल्लाहको गढ ठानिएको बेका उपत्यकामा ९ जनाको मृत्यु भएको बताइएको छ। यता इजरायली सेनाले आफूहरूले एउटा ड्रोनलाई नष्ट पारेको दाबी गरेको छ।

उत्तरी क्षेत्रमा सीमापारीबाट गोलीबारी भइरहनुका साथै दक्षिणी क्षेत्रबाट पनि जोखिमको सामना गर्नुपरिरहेको इजरायलको भनाइ छ।

इजरायलको डिफेन्स फोर्सेस (आईडीएफ) ले ‘रेड सी’ को तर्फबाट इजरायलको दक्षिणी भागतिर आइरहेको एक ड्रोनलाई रोकिएको बताएको छ।

यमनबाट हुथी विद्रोहीहरूले पनि इजरायललाई लक्षित गरेर प्रहार गरेको मिसाइललाई रोक्न आफूहरू सफल भएको आईडीएफले जनाएको छ। हुथी विद्रोही समूहलाई ईरानको समर्थन रहेको र उसले इजरायललाई आफ्नो दुश्मन ठान्छन्।

रोयटर्स र एएफपीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहू विमानस्थलमा पुगेको बेला शनिबार मिसाइल प्रहार गरिएको थियो।

इजरायलको आक्रमणमा परी हिज्बुल्लाका नेता नसरल्लाहको मृत्यु भएपछि तनाव झनै तीब्र भएको छ। नसरल्लाहको मृत्युपछि ईरानले संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको बैठक बोलाउने माग गरेका छन्। ईरानलले लामो समयदेखि हिज्बुल्लालाई आर्थिक र सैन्य सहयोग गर्दै आइरहेको छ।

प्रकाशित: १३ असोज २०८१ १५:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 8 =