सहकारी ठगी प्रकरण :

दिल्लीबाट पक्राउ परेका ढोरपाटनका मेयरलाई नेपाल ल्याइयो, आजै बाग्लुङ पुर्‍याइने

हिमाल प्रेस १३ असोज २०८१ १५:०९
12
SHARES
दिल्लीबाट पक्राउ परेका ढोरपाटनका मेयरलाई नेपाल ल्याइयो, आजै बाग्लुङ पुर्‍याइने

काठमाडौँ- बाग्लुङस्थित ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली र उनका दाइ ओमप्रकाश दर्जी नेपालीलाई नेपाल ल्याइएको छ। अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)सँगको समन्वयमा भारतबाट नियन्त्रणमा लिई उनीहरूलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रहेका मेयर नेपाली बचतकर्ताको रकम अपचलन गरेर १६ महिनादेखि फरार थिए। सहकारीको रकम अपचलन गरेको आरोप लागेका उनका दाइ ओमप्रकाश पनि फरार थिए। प्रहरीले दाजु भाइलाई नै पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले हिमालप्रेसलाई जानकारी दिए।

‘सीआईबीको समन्वयमा लामो अप्रेसनबाट भारतमा भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। उनीहरूले आज नेपाल पठाएका थिए। आज उनीहरू दुवैजनालाई त्रिभुवन विमानस्थलको पार्किङ क्षेत्रबाट सीआईबीको टोलीले पक्राउ गरेको हो,’ उनले भने।

उनलाई आजै हवाइमार्ग हुँदै पोखरा पठाइसकेको बोगटीले बताए। ‘उनलाई आजै पोखरा पठाइसकिएको छ। मुद्दा बाग्लुङमा भएकोले आजै बाग्लुङ प्रहरीलाई बुझाइँदैछ।’

गत स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित मेयर नेपाली गत वर्ष ५ जेठदेखि फरार थिए। तर नेपाली बेलाबेलामा फेसबुक लाइभमा आउने र आफ्नो जीउधनको सुरक्षा नभएकाले केही समय टाढा बस्नुपरेको बताउने गर्थे।

उनी गत वर्ष ५ मंसिरमा पहिलोपल्ट सामाजिक सञ्जाल फेसबुकमा लाइभ आएर एकै पटक धेरै जना बचतकर्ताले बचत फिर्ता माग्न आउँदा सहकारी समस्यामा परेको दाबीसमेत गरेका थिए।

सहकारी रजिस्ट्रारको कार्यालयले गरेको अध्ययनमा उनले पोखरासहित बागलुङ, बुर्तीबाङ, गल्कोटमा गरी करिब २ अर्ब रकम बचतकर्ताबाट उठाएर हिनामिना गरेको उल्लेख छ।

नेपालीविरुद्ध एक हजार पाँचसय ७३ जना बचतकर्ताले जिल्ला प्रहरी कार्यालय बाग्लुङ जाहेरी निवेदन दिएका थिए। मेयर नेपालीसँगै सहकारीको रकम अपचलनको आरोपमा उनकी श्रीमती छेला नेपालीविरुद्ध पनि प्रहरीकहाँ जाहेरी छ।

उनीहरूविरुद्ध २०८० जेठ २३ गते पहिलोपटक मुद्दा दर्ता भएको थियो। अहिलेसम्म उनीहरूविरुद्ध बिगो एक अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

प्रहरीले मेयर दम्पत्तिविरुद्ध इन्टरपोलमार्फत गत माघ १०(२४ जनवरी २०२४) गते रेड नोटिस जारी गरेको थियो। मेयर नेपालीले कृत्रिम कर्जा खडा गरेर सहकारीको रकम अपचलन गरेको पाइएको थियो।

नेपालीले आफ्नो घरमा आई हतियारसहित ज्यान मार्ने धम्की आएको र ६ लाख बचत भएकाहरूले करोडौँको घर मागेकोले बेपत्ता हुनुपरेको उनले बताएका थिए। आफ्नो चलअचल सम्पत्ति पूरै बागलुङमा रहेको भन्दै कर्मचारीले आफूलाई असहयोग गरेको बताएका थिए। बागलुङको ढोरपाटन नगरपालिकाको प्रमुख भएर ७ वर्षदेखि बुर्तिवाङ बस्दा सहकारीमा समय दिन नसकिएको उनले स्वीकारेका थिए।

उनले आफू र पत्नीका नाममा भएको घरजग्गाको विवरण समेत सार्वजनिक गर्दै आफूले बचतकर्ताको पैसा फिर्ता गर्न तयार रहेको समेत वचन दिएका थिए। बाग्लुङ, पोखरा र काठमाडौंमा गरी उनका १८ घर रहेको र ती घरको मूल्य ३ अर्बभन्दा बढी रहेको बताएका छन्।

उनी नेकपा (एमाले) बाट २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा ढोरपाटनको मेयर जिते हुन्। इमेज सहकारीको मुख्य कार्यालय बागलुङ बजारमा छ। शाखा कार्यालयहरू पोखरा र बालगुङको हटिया र बुर्तिबाङ बजारमा छन्। बागलुङमा मात्र सहकारीको २ अर्बभन्दा बढी रकम हिनामिना भएको अनुमान छ।

उक्त सहकारी ठगी अभियोगमा पक्राउ परेका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिइसकेको छ।

प्रकाशित: १३ असोज २०८१ १५:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =