चीनको स्थापना दिवसमा ब्राजिलका पूर्वराष्ट्रपति रुसेफलाई मित्रता पदक

अजय अलौकिक १३ असोज २०८१ १२:५५
6
SHARES
चीनको स्थापना दिवसमा ब्राजिलका पूर्वराष्ट्रपति रुसेफलाई मित्रता पदक तस्बिर : सिन्हवा/रासस

बेइजिङ- जनगणतन्त्र चीनको ७५ औँ स्थापना दिवसको पूर्वसन्ध्यामा चीनले आइतबार राष्ट्रिय पदक तथा राष्ट्रिय सम्मान प्रदानको एक उच्चस्तरीय समारोह आयोजना गरेको छ।

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, केन्द्रीय सैन्य आयोगका अध्यक्ष तथा चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रिय पदक तथा राष्ट्रिय सम्मान प्राप्त गर्नेहरूलाई पदक प्रदान गरेका छन्।

समारोहमा चारजनालाई गणतन्त्र पदक प्रदान, १० जनालाई राष्ट्रिय सम्मान मानार्थ उपाधि प्रदान गरिएको छ भने न्यु डेभलपमेन्ट बैंककी अध्यक्ष तथा ब्राजिलका पूर्वराष्ट्रपति दिल्मा रुसेफलाई मित्रता पदक प्रदान गरिएको छ।

राष्ट्रपति सीले जन गणतन्त्र चीनको ७५ औँ स्थापना दिवसको पूर्वसन्ध्यामा चीनको सर्वोच्च राष्ट्रिय सम्मान प्राप्त गर्नेहरूलाई हार्दिक बधाई तथा उच्च सम्मान व्यक्त गरेका छन्।

क्षेप्यास्त्र र रकेट विशेषज्ञ र चीनको मानव अन्तरिक्ष कार्यक्रमका अग्रगामी वाङ योङ्चीलाई मरणोपरान्त सम्मान गरिएको छ। अन्य तीन सम्मानितहरूमा ल्युकेमिया उपचारमा सफलता पाएका वैज्ञानिक वाङ चनयी, विशेषज्ञ ली चनसेचङ, र युद्ध भेट्रान हुवाङ चोङद हुन्।

जनबृहत् सभाभवनमा गणतन्त्र पदक, मित्रता पदक र राष्ट्रिय सम्मानका पदकहरू प्रदान गरिसकेपछि राष्ट्रपति सी चिनफिङले समारोहलाई सम्बोधन पनि गरेका छन्। सीले विगत ७५ वर्षमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले तीव्र आर्थिक वृद्धि र दीर्घकालीन सामाजिक स्थायित्वका दुई चमत्कारहरू सिर्जना गर्न सबै जातीय समूहका चिनियाँ जनताको नेतृत्व गरेको बताए।

राष्ट्रपति सीले चीनमा भएका परिवर्तनहरूको प्रशंसा गर्दै राष्ट्रिय कायाकल्प अब अपरिवर्तनीय ऐतिहासिक मार्गमा रहेको पनि औँल्याए।

राष्ट्रपति सीले चिनियाँ जनतालाई शक्तिशाली चीन निर्माण गर्न राष्ट्र नायक तथा रोल मोडेलबाट सिक्न आह्वान गर्दै महान समयले नै नायक तथा नायकहरूको माँग गर्ने पनि औँल्याए। ‘पुस्तौँपुस्तामा उदाउने नायकहरूको आकाशगंगाले पार्टी र जनहितको दिगो समृद्धि सुनिश्चित गर्नेछ’, सीले भने।

राष्ट्रपति सीले चीनको विकास र चिनियाँ र विदेशी जनताबीचको मित्रतामा महत्त्वपूर्ण योगदान पुर्‍याएका अन्तर्राष्ट्रिय मित्रहरूलाई चिनियाँ जनताले कहिल्यै नभुल्ने पनि औँल्याए।

राष्ट्रपति सीले मित्रता पदक प्राप्त गर्ने दिल्मा रुसेफलाई चीनका पुराना मित्र र असल साथीहरूको उत्कृष्ट प्रतिनिधिको रूपमा प्रशंसा गर्दै भने, ‘विश्वमा विगत ७५ वर्षदेखि चिनियाँ जनतासँग अघि बढ्ने धेरै पुराना र नयाँ मित्रवत् साथीहरू छन्। सोही क्रममा आज ‘मित्रता पदक’ बाट सम्मानित दिल्मा रोसेफ एक उत्कृष्ट प्रतिनिधि हुनुहुन्छ।’

चीनसँग मित्रता बढाउन ठूलो योगदान दिएका अन्तर्राष्ट्रिय साथीहरूलाई कहिल्यै बिर्सन नसक्ने सीको भनाइ छ। सीले भने, ‘चिनियाँ मानिसहरूले चीनको विकास र चीन तथा अरू देशहरूसँगको मित्रता बढाउन ठूलो योगदान दिएका अन्तर्राष्ट्रिय साथीहरूलाई कहिले पनि विर्सन सक्दैनन्।’

चिनियाँ जनता विश्व शान्तिको रक्षा र साझा विकासलाई प्रवर्द्धन गर्न विभिन्न देशका जनतासँग मिलेर काम गर्न तयार रहेको पनि बताए। उनले भने, ‘चिनियाँ मानिसहरू विश्वका विभिन्न देशहरूका जनतासँग मिलेर विश्वको शान्ति, संयुक्त विकास, मानवजातिको साझा भविष्य भएको समुदाय र थप उज्ज्वल भविष्यको सिर्जना गर्न इच्छुक छ।’

राष्ट्रपति सीले साझा भविष्य भएको मानव समुदाय निर्माण गर्न र मानवताको अझ उज्यालो भविष्य निर्माण गर्न संयुक्त प्रयास गर्न आह्वान पनि गरे।

सम्मान समारोहले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ पार्ने र विश्वव्यापी शासनमा सहभागितामा चीनको जोडलाई देखाउँछ। दिल्मा रुसेफलाई मित्रता पदकबाट सम्मानित गरेर चीन-ब्राजिल सम्बन्धलाई सुदृढ गर्ने मात्र होइन, चीनले उदीयमान अर्थतन्त्रहरूबीचको सम्बन्ध, क्षेत्रीय सहयोगको महत्त्व र विकासका मुद्दाहरू र साझा लक्ष्यहरूमा सहकार्य गर्ने प्रतिबद्धता पनि झल्काउँछ। यसबाट नेपालले पनि अवसर देख्न सक्छ र कूटनीतिक पहललाई बलियो बनाउन र सहकार्यलाई प्रवर्द्धन गर्न सक्छ।

प्रकाशित: १३ असोज २०८१ १२:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + twenty =