विपद्‌मा विद्यालय : निजी स्कुलमा बढी क्षति

हिमाल प्रेस १३ असोज २०८१ १३:४७
242
SHARES
विपद्‌मा विद्यालय : निजी स्कुलमा बढी क्षति

काठमाडौँ- बाढीपहिरोका कारण निजी स्कुलमा बढी क्षति पुगेको छ। काठमाडौँ उपत्यकाका खोला किनारामा रहेका निजी स्कुलमा बाढीपहिरोले बढी क्षति पुर्‍याएको विवरण पाएको सम्बन्धित पालिकाहरूले जनाएका छन्।

पालिकाहरू विद्यालयमा भएको क्षतिको विवरण संकलनमा जुटेका छन्। सरकारले तीन दिन विद्यालय बन्द गरेरै क्षतिको विवरण संकलन, उद्धार र राहत कार्यमा जुट्न निर्देशन दिइसेकको छ।

काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, गोदावरी नगरपालिकाले बाढीपहिरोबाट विद्यालयमा भएको क्षतिको विवरण संकलन गरिरहेको जनाएका छन्।

ललितपुर महानगरपालिका शिक्षा अधिकृत (आठौँ) नवराज रिजालले सामुदायिकभन्दा पनि निजी विद्यालयमा क्षति पुगेको बताए। उनले महानगरको विपद् व्यवस्थापन समूहले त्यसको विवरण संकलन गरिरहेको जानकारी दिए।

उनले भने, ‘शनिबार सार्वजनिक बिदाका कारण विवरण संकलन हुन सकेन। सामुदायिकभन्दा पनि खोला किनारमा रहेका निजी विद्यालयमा बढी क्षति भएको सूचना पाएका छौँ। महानगरको विपद् व्यवस्थापन समूहले तथ्यांक संकलन गरिरहेको छ। आज बेलुकासम्म विवरण आउला।’

ललितपुरका सामाजिक कार्यकर्ता नवराज तिमिल्सिनाले पहिरोका कारण गोदावरी नगरपालिका–१० मा अवस्थित बागेश्वरी निमाविमा क्षति पुगेको बताए। विद्यालयमा क्षति भएपछि केन्द्र सरकारको निर्देशनमा स्थानीय सरकारले तीन दिन बिदा दिएको उनले बताए। तिमिल्सिनाले भने,‘गोदावरीका केही विद्यालयका छेउछाउमा पहिरो गएको छ। विद्यालयमा जोखिम छैन।’

काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालयमा भएको क्षतिको विववरण संकलन भइरहेको जनाएको छ। मेयर बालेन्द्र शाह सचिवालय सदस्य सुरेन्द्र बजगाईँले खोलाकिनारमा रहेका विद्यालयमा बाढीले क्षति पुर्‍याएको बताउँदै महानगर प्रहरी बलले घटनास्थलमा पुगेको बताए।

बजगाईँले क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए। उनले भने,‘काठमाडौँ महानगरपालिकाअन्तर्गका सबै विद्यालयमा अविलर वर्षा र बाढीले क्षति पुर्‍याएको विवरण संकलन गर्दैछौं। पूरा विवरण आइसकेको छैन।’

त्यसैगरी, भक्तपुर नगरपालिका शिक्षा अधिकृत रामशरण फुयाँलले पनि अविरल वर्षा र बाढीका कारण विद्यालयमा भएको क्षतिको विवरण संकलन भइरहेको बताए। उनले भने,‘वर्षा, बाढी तथा डुबानले नगरपालिकाअन्तर्गतका सबै विद्यालयमा के कति क्षति पुर्‍याएको छ भन्ने विवरण संकलन भइरहेको छ।’

प्रकाशित: १३ असोज २०८१ १३:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − nine =