अविरल वर्षा : कहाँ कहाँ, के के भयो?

हिमाल प्रेस १२ असोज २०८१ २०:०३
8
SHARES
अविरल वर्षा : कहाँ कहाँ, के के भयो?

काठमाडौँ- जल तथा मौसम पूर्वानुमान महाशाखाले केही दिनअघि नै वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको थियो।

महाशाखाका साथै कतिपय मौसमविद्हरूले समेत तीन चार दिन देशभर भारी वर्षाको सम्भावना रहेको र बाढी पहिरो आउनसक्ने सूचना निरन्तर दिइरहेका थिए।

वर्षाका कारण पटक–पटक आउने बाढी पहिरोबाट मानवीय र भौतिक क्षतिलाई न्यूनीकरण गर्न सुरक्षा निकायहरूले निरन्तर विभिन्न माध्यमबाट सूचना प्रवाह गरी सर्वसाधारणलाई सचेत गराइरहेका थिए।

महाशाखा र मौसमविद्हरूले गरेको पूर्वानुमान झैँ पछिल्लो तीन दिन देशभर लगातार वर्षा भएको छ। यस वर्षको मनसुनलाई बिदाई गर्ने गरी बिहीबारदेखि सुरू भएको झरी थोरै पनि विराम नलिई निरन्तर जारी रह्यो। र, तीन दिनसम्म लगातारको यो वर्षाले देशभर मानवीय तथा भौतिक क्षति पु¥याएको छ।

नेपाल प्रहरीले दिएको पछिल्लो तथ्यांकअनुसार वर्षापछि आएको बाढी र पहिरोका कारण ५१ जनाको मृत्यु भएको छ भने ४० जना बेपत्ता छन्। बाढी पहिरोमा परी ३४ जना घाइते भएका छन्। यसका अलावा ठूलो परिमाणमा भौतिक क्षति भएको छ।

देशका अधिकांश प्रमुख राजमार्गहरू अवरूद्ध भएका छन्। अन्य जिल्लाहरूसँग काठमाडौँको लगभग सम्पर्क विच्छेद भइसकेको छ। काठमाडौँबाट बाहिरिने लगभग सबै राजमार्गहरू क्षतिग्रस्त भइसकेका छन्। खराब मौसमका कारण हवाई सेवा पनि प्रभावित बनेको छ।

यसअघि वर्षापछि आउने बाढी र पहिरोबाट देशका अन्य जिल्लाहरू प्रभावित भए पनि तुलनात्मक रूपमा काठमाडौँ उपत्यकामा कमै असर पर्ने गरेको थियो। सुरक्षित आवास र व्यवस्थित खोला नालाहरूका कारण ठूलै वर्षा भए पनि उपत्यकाले देशका अन्य भागहरूको तुलनामा कमै क्षति बेहोर्नु परेको थियो। तर, तीन दिनसम्म भएको यो झरीका कारण यसपालि सबैभन्दा बढी क्षति काठमाडौँ उपत्यकालाई नै बेहोर्नु परेको छ।

राहत तथा उद्धारकार्यमा खट्न देशभर २० हजार सुरक्षाकर्मी परिचालन गरिएका छन्। त्यस्तै सिन्धुली, मकवानपुर र काभ्रपलान्चोक जिल्लामा गृह मन्त्रालयले उद्धारका लागि सेनाको हेलिकप्टर पठाएको छ।

काठमाडौँ उपत्यकामा सबैभन्दा बढी क्षति

बिहीबार साँझदेखि सुरू भएको अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ। शनिबार साँझ प्रहरीले दिएको जानकारीअनुसार ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको हो।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले बाढीमा परी १७ जना बेपत्ता भएका छन् भने १७ जना घाइते छन्।

त्यस्तै बाढी तथा डुबानमा परेका १ हजार ३१५ जनाको उद्धार गरिएको छ। अत्याधिक वर्षाका कारण काठमाडौँमा चारवटा घर भत्किएका छन्। लतिलपुर महानगरपालिका–१४ नखिपोट कान्तिपुर कलोनीमा नख्खु खोलाले बगाएर बेपत्ता भएका चार जनामध्ये दुई जनाको उद्धार भएको छ। खोलामा बेपत्ता भएका दुई जनालाई सर्वसाधारण पूर्ण केसीले उद्धार गरेका थिए।

सिस्नेरी बजारमा बग्यो ३० घर

अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ। सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिए।

बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन्। अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज बिहान बाँधका दुई वटा ढोका खोलिएको थियो।

विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशयका कारण बाढी आएको प्रहरीले जनाएको छ। बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ। स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ।

अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध भएको छ। पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ, कुलेखानी–फाखेल–काठमाडौँ, कुलेखानी–मातातीर्थ–काठमाडौँ र त्रिभुवन राजपथ अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ।

हेवा खोलामा बग्यो बेलिब्रिज

अविरल वर्षापछि हेवा खोलामा आएको बाढीले मेची राजमार्गअन्तर्गतको ‘बेलिब्रिज’ बगाएको छ। फिदिम नगरपालिका–४ का वडाध्यक्ष उपेन्द्र लावतीले हेवा खोलामा आएको बाढीले ‘बेलिब्रिज’ बगाएको जानकारी दिए।

उनका अनुसार बाढीले हिलिहाङ गाउँपालिकातर्फको पर्खाल भत्काएपछि बेलिब्रिज बगाएको हो। गत वर्षको असार २ गते आएको बाढीले यहाँ रहेको पुल बगाएपछि यहाँ ‘बेलिब्रिज’ निर्माण गरिएको थियो।

‘बेलिब्रिज’ बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिका तथा ताप्लेजुङ जिल्लासँगको सडक सञ्जाल विच्छेद भएको छ।

कोशीमा पनि मानवीय क्षति

कोशी प्रदेशमा बाढीपहिरोका कारण हालसम्म पाँचजनाको मृत्यु भएको छ भने चारजना बेपत्ता भएका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालका अनुसार पहिरोका कारण पाँचथरमा तीन र धनकुटामा दुईजनाको मृत्यु भएको हो।

पाँचथरको फिदिम नगरपालिका ४ मा घरमाथि पहिरो खस्दा २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको पहिरोमा पुरिएर मृत्यु भएको हो। फिदिम–१२ स्थायी घर भएका उनीहरु फिदिम–४ गढीमा डेरा बस्दै आएका थिए। साथीको घरमा सुत्न गएका उनीहरुको पहिरोमा पुरिएर मृत्यु दाहालले जानकारी दिए।

त्यस्तै, फिदिम १ घर भइ फुरुङगा हाइड्रोपावरमा कार्यरत ५० वर्षीय गोपी विश्वकर्माको पनि पहिरोले पुरिएर मृत्यु भएको उनले जनाए। एसएसपी दाहालका अनुसार धनकुटाको पाख्रीबास नगरपालिका९५ गुराँसेदेवीथान पहिरोले पुरिएर आमा छोरीको मृत्यु भएको छ।

स्थानीय रामकुमारी र आशा तामाङलाई पहिरोले पुर्दा मृत्यु भएको हो। रामकुमारी आमा र आशा छोरी रहेको प्रहरीले बताएको छ। तीनदिनदेखि परेको अविरल वर्षाका कारण ठूलो क्षति हुन नदिन प्रशासनले सचेतसमेत गराएको छ।

यता, सप्तकोसी नदीका ५६ वटै ढोका समेत खुला गरिएको छ। खासगरी तराईका झापा, मोरङका जिल्लामा बाढीले क्षति गरेको छ भने पाँचथर, इलाम, धनकुटालगायतका पहाडी जिल्लामा बढी क्षति भएको छ।

प्रकाशित: १२ असोज २०८१ २०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast