कोशीमा बाढीपहिरोका कारण पाँचको मृत्यु

हिमाल प्रेस १२ असोज २०८१ ९:५४
6
SHARES
कोशीमा बाढीपहिरोका कारण पाँचको मृत्यु

इटहरी – कोशी प्रदेशमा बाढीपहिरोका कारण हालसम्म पाँचजनाको मृत्यु भएको छ भने चारजना बेपत्ता भएका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालका अनुसार पहिरोका कारण पाँचथरमा तीन र धनकुटामा दुईजनाको मृत्यु भएको हो।

पाँचथरको फिदिम नगरपालिका ४ मा घरमाथि पहिरो खस्दा २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको पहिरोमा पुरिएर मृत्यु भएको हो। फिदिम–१२ स्थायी घर भएका उनीहरु फिदिम–४ गढीमा डेरा बस्दै आएका थिए। साथीको घरमा सुत्न गएका उनीहरुको पहिरोमा पुरिएर मृत्यु दाहालले जानकारी दिए।

त्यस्तै, फिदिम १ घर भइ फुरुङगा हाइड्रोपावरमा कार्यरत ५० वर्षीय गोपी विश्वकर्माको पनि पहिरोले पुरिएर मृत्यु भएको उनले जनाए। एसएसपी दाहालका अनुसार धनकुटाको पाख्रीबास नगरपालिका(५ गुराँसेदेवीथान पहिरोले पुरिएर आमा छोरीको मृत्यु भएको छ।

स्थानीय रामकुमारी र आशा तामाङलाई पहिरोले पुर्दा मृत्यु भएको हो। रामकुमारी आमा र आशा छोरी रहेको प्रहरीले बताएको छ। तीनदिनदेखि परेको अविरल वर्षाका कारण ठूलो क्षति हुन नदिन प्रशासनले सचेतसमेत गराएको छ।

यता, सप्तकोसी नदीका ५६ वटै ढोका समेत खुला गरिएको छ। खासगरी तराईका झापा, मोरङका जिल्लामा बाढीले क्षति गरेको छ भने पाँचथर, इलाम, धनकुटालगायतका पहाडी जिल्लामा बढी क्षति भएको छ।

प्रकाशित: १२ असोज २०८१ ९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − two =