विवादकैबीच सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डे सिफारिस

हिमाल प्रेस ११ असोज २०८१ १५:३३
14
SHARES
विवादकैबीच सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डे सिफारिस नृपध्वज निरौला र नित्यानन्द पाण्डेय

काठमाडौँ- सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डे सिफारिस भएका छन्। आज शुक्रबार बसेको न्याय परिषद् बैठकले उनीहरूको नाम सिफारिस गर्ने निर्णय गरेको हो। निरौला अहिले उच्च अदालत पाटन र पाण्डे उच्च अदालत तुलसीपुरमा मुख्य न्यायाधीश छन्।

यस्तै बैठकले १४ जना न्यायाधीशहरूको सरुवा सिफारिस गरेको छ।

न्यायाधीश सिफारिसको विषयमा नेपाल बार एशोसियसनले आन्दोलन गरिरहेको छ। तत्काल न्यायाधीश सिफारिस नगर्न मागसहित बारले आज पनि न्याय परिषद् बैठकस्थल बाहिर धर्ना दिएको थियो।

उमेर हदका कारण असोज १९ मा प्रधानन्यायाधीश पदबाट अनिवार्य अवकाश पाउँदै गरेका न्यायपरिषद् अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठ त्यसअघि नै सर्वोच्च र उच्च दुवैमा रिक्त न्यायाधीशको पदपूर्ति गर्ने कसरतमा छन्।

उच्च अदालतमा १६ र सर्वोच्चमा ६ न्यायाधीश नियुक्ति गर्नुपर्नेछ । सर्वोच्चमा यसअघि नै ५ न्यायाधीशको दरबन्दी रिक्त छ । प्रधानन्यायाधीश श्रेष्ठ अनिवार्य अवकाश पाउने भएकाले परम्पराअनुसार अहिले बिदामा छन् । प्रधानन्यायाधीश श्रेष्ठले मुद्दा नहेर्ने भएकाले अहिले प्राविधिक रूपमा ६ वटा दरबन्दी खाली छन् ।

कुल २१ न्यायाधीश रहने संवैधानिक व्यवस्था भएको सर्वोच्च अदालतमा ६ दरबन्दी खाली हुनु भनेको एकतिहाइ बराबरको रिक्तता हो । सर्वोच्चमा न्यायाधीश नियुक्ति नहुँदा न्याय सम्पादनमा असर पर्न थालेको छ । श्रेष्ठ प्रधानन्यायाधीश भएको तीन महिनापछि गत वर्ष मंसिर ५ मा ६ न्यायाधीशको सिफारिस भएको थियो । त्यसयता न्यायाधीशहरू अवकाश हुँदै गए पनि नियुक्ति हुन सकेको छैन ।

विवाद बढेपछि बार–बेन्च द्वन्द्व समाधान गर्न वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा कार्यदल गठन पनि भएको थियो। उक्त कार्यदलको प्रतिवेदन सार्वजनिक हुनुपर्ने बारको माग छ।

प्रकाशित: ११ असोज २०८१ १५:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 11 =