किसानलाई बजारसँग जोड्ने ‘पैँचो पसल’

हिमाल प्रेस ११ असोज २०८१ ११:१३
26
SHARES
किसानलाई बजारसँग जोड्ने ‘पैँचो पसल’

काठमाडौँ- गुल्मी छत्रकोट–१ हुँगाका युवराज पाण्डे बिहान झिसमिसेमै तरकारी संकलन केन्द्रमा पुग्छन्। केन्द्रमा स्थानीय किसानहरू तरकारी लिएर आइपुग्छन्। पाण्डेको बिहान कुन किसानले कुन तरकारी परिमाणमा ल्याए? त्यसको मूल्य कति हो? निर्धारण गरेर पठाउँदैमा बित्छ।

किसानलाई आफूले ल्याएको तरकारीबाट कति कमाइ भयो भन्ने जानकारी घर नपुग्दै मोबाइलमा आइपुग्छ। कति तरकारी बिक्री गरेछु भन्ने हिसाब राख्नै पर्दैन। पाण्डेका अनुसार केन्द्रमा दैनिक औसतमा पाँच क्विन्टल तरकारी आउँछ।

संकलन भएका तरकारी लिन केन्द्रमा सवारीसाधन आइपुग्छ। स्थानीय किसानका लागि दैनिक उपभोग्य सामान पनि संकलन केन्द्रमै उपलब्ध हुन्छ। किसानले कति मूल्यको तरकारी बिक्री गरे र त्यहाँबाट कति मूल्यको सामान लिएर गए भन्ने जानकारी पनि मोबाइलमै आउँछ।

किसानलाई सामान उपलब्ध गराउँदै उनीहरूको तरकारी खरिदलगायतसम्मको कामको व्यवस्थापन ‘पैँचो पसल’ले गरिदिएको छ। आफू अनुकूलको सेवा सहजै प्राप्त हुँदा किसान पनि खुसी छन्।

ग्रामीण क्षेत्रमा यो प्रचलन कम हुँदै गए पनि अझै पनि जीवित नै छ। आफूलाई चाहिएको सामग्री एकापसमा सरसापट गरेर लिने र काम चलाउने प्रक्रियालाई पैँचो भनिन्छ। त्यस्तै शैलीमा व्यवसायी ध्रुब न्यौपानेलगायतले पैँचो पसलको अवधारणा अगाडि सारेका हुन्।

पाण्डे यो अभियानमा जोडिएको १० वर्ष भयो। गुल्मी छत्रकोटका अगुवा किसानको परिचयसमेत बनाएका पाण्डे आफैँले पनि वार्षिक १० लाख बराबरको तरकारी बिक्री गर्छन्। उनले १२ रोपनी जग्गामा तरकारीखेती गरेका छन्।

गोलभेँडा, भिन्डी, बोडी, रातो मुला, तीतेकरेला बारीमा फलेका छन्। बजारको कुनै चिन्ता छैन। किसानलाई प्रत्यक्ष रूपमा उपभोक्तासँग जोड्ने र सरल मूल्यमा ताजा तरकारी एवं कृषि उपज उपलब्ध गराउने उद्देश्यका साथ सुरु भएको पैँचो पसलको अवधारणा यतिबेला देशव्यापी हुने क्रममा छ। सो अवधारणामा जोडिएका किसानलाई मल, बीउको प्रबन्ध गर्नेदेखि कृषि प्राविधिक उपलब्ध गराउने कामसमेत गरिएको छ।

किसानले कुनै समस्या परे, पशुचौपायामा कुनै रोगव्याधी लागे प्राविधिक पुग्छन् र समाधानको उपाय सुझाउँछन्। यो अवधारणाबाट लाभान्वित हुनेमा गुल्मीकै सरोज राना पनि छन्। वैदेशिक रोजगारीमा पाएको दुःखकष्ट र हण्डर सबै बिर्सेर आफ्नै थलोमा फर्किएका रानाको दैनिकी यतिबेला तरकारी स्याहार्दै बित्ने गरेको छ।

उनले सात रोपनी जग्गामा तरकारीखेती गरेका छन्।  ‘हामीलाई यसले धेरै फाइदा भएको छ। उत्पादित तरकारी लिन गाउँमै गाडी आइपुग्छ। बिचौलियाले खाइदेला कि, कम मूल्यमा बेच्नुपर्यो कि भन्ने कुनै गुनासो छैन’, उनले भने,‘किसानले उत्पादन गरेको हरिया सागसब्जी उपभोक्ताको भान्छामा सहजै पुगेको छ। यो भन्दा खुसीको कुरा अरु के हुनसक्छ र?’

उनको बारीमा यतिबेला सिमी, गोलभेँडा फलेका छन्। एक हजार बिरुवा सयपत्रीका छन्। तिहारमा सयपत्रीले राम्रो मूल्य पाउने आशामा रहेका राना बन्दा, काउली मुला, गाँजर पनि लगाउने तयारी छन्। इत्तेहाद एयरलाइन्सको रोजगारी भनेर साउदी अरब पुगेका  ठेकेदारको काम गर्दा उचित पारिश्रमिक नपाएपछि घर फर्केर उनले सुरु गरेको तरकारीखेतीले गाउँमै केही गर्न सकिन्छ भन्ने आत्मबल बढाइदिएको छ।

केन्द्रमा रानाजस्तै ३० जना किसान परिवारले तरकारी उपलब्ध गराउँछन्। गुल्मी सत्यवतीका लोकबहादुर कुँवर पैँचोको अवधारणा राम्रो भए पनि स्थानीय संकलन केन्द्रका मानिसको व्यवहार किसानमैत्री नभएको गुनासो गर्छन्। समयमा पैसा नपाएको गुनासो गर्ने कुँवरले पनि तरकारी पैँचोलाई नै बिक्री गर्छन्। उनको सुझाव छ,‘किसानले प्राप्त गरेको पैसा सहज रूपमा पाउने वातावरण बनाइदिएहुन्थ्यो भन्ने लाग्छ।’

घरपरिवारलाई चाहिने दाल, चामल तथा अन्य उपभोग्य वस्तु घरमै आइपुग्ने गरेको बताउने कुँवर किसानलाई थप राहत दिनेगरी योजना ल्याउन पैँचोका अभियन्तालाई आग्रह गर्छन्।

छत्रकोट–४ रुक्सेका रामकृष्ण कँडेलको बारीमा तीते करेला, घिरौला, लौका, सिमी, कागती फलेका छन्। उनी सो गाउँको अगुवा किसानमात्रै नभई संकलन केन्द्रको प्रमुखसमेत हुन्। औसतमा दैनिक सात क्विन्टल बराबरको तरकारी उनको संकलन केन्द्रमा जम्मा हुने गरेको छ। हरेक दिन तरकारी जोख्ने, हिसाब राख्ने काम गर्ने गरेको जानकारी दिँदै कँडेलले यो अवधारणाले किसानलाई राहत प्रदान गरेको बताए। रासस

प्रकाशित: ११ असोज २०८१ ११:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =