कोशी ब्यारेजमा खसेको बसमा सवार सबैको उद्धार

विवेक विवश रेग्मी १० असोज २०८१ २१:३०
32
SHARES
कोशी ब्यारेजमा खसेको बसमा सवार सबैको उद्धार

इटहरी- सप्तकोसी (कोशी ब्यारेज)मा यात्रुवाहक बस खस्दा सबै यात्रुको सकुशल उद्धार गरिएको छ। बिहीबार साँझ ६ बजेतिर कोशी ब्यारेजको ३५ नं. ढोकाबाट बस सप्तकोसी नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार विराटनगरबाट उदयपुरको गाइघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको यात्रुबाहक बस सप्तकोसी नदीमा खसेको पुष्टि गरे।

उनका अनुसार कोशी ब्यारेजको दक्षिणतर्फ बस खसेको थियो। नरसिंह डिलक्स बस आफैं अनियन्त्रित भएर नदीमा खसेको एसपी रेग्मीले जानकारी दिए। घटनाको जानकारी पाएलगत्तै सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, एसपी रेग्मीसहित प्रहरी अधिकारीहरू घटनास्थलतर्फ खटिएका थिए।

ब्यारेजको ३५ नम्बर ढोका खुला नभएका कारण बस खसेको स्थानमा पानीको सतह कम थियो। पानी सतह कम भएकैले नदीमा खसे पनि बस डुब्न पाएन। जसकारण मानवीय क्षति हुनबाट जोगिएको एसपी रेग्मीले जानकारी दिए।

‘बस खसेको सूचना पाएपछि सुनसरी र सप्तरीबाट खटिएको प्रहरी टोलीले तत्कालै घटनास्थलबाट उद्धार गरेको हो,’ उनले भने, ‘बस खसेको ढोका खुला नभएका कारण पानीको सतह कम हुँदा मानवीय क्षति हुनबाट जोगियो।’

बस खसेको क्षेत्र सप्तरीको हनुमाननगर-कंकालिनी नगरपालिका-१ स्थितमा पर्छ। जिल्ला प्रहरी कार्यालय सप्तरी प्रहरीका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार बस चालक सिराहाको लहान नगरपालिका-८ घर भएका अन्दाजी ३५ वर्षीय चन्दनकुमार मेहतालाई नियन्त्रणमा लिइएको छ।

चालक एक, सहचालक दुई गरी तीन जना र १५ जना यात्रु गरी बसमा कुल १८ जना थिए।

प्रकाशित: १० असोज २०८१ २१:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − four =