काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक व्यवस्था स्थापना र पूर्वाधार निर्माणलगायत सबै हिसाबले माओवादीले नै नेपालमा नयाँ युगको सुरुवात गरेको बताएका छन्।
राजधानीमा बिहीबार अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय उद्घाटन गर्दै उनले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नयाँ समाजवादी क्रान्तिको नेतृत्व पनि माओवादीले गर्ने दाबी गरे।
‘संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्वसहितको राज्य व्यवस्था नेपालमा माओवादीकै कारण स्थापित भएको हो भन्ने ऐतिहासिक तथ्यलाई अब कसैले अस्वीकार गर्न सक्ने अवस्था छैन’, अध्यक्ष प्रचण्डले भने। उनले महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, संविधानसभाबाट संविधान निर्माण र त्यसमा आमसहमित जुटाएर कार्यान्वयन गर्ने काम मात्र होइन, माओवादीले सरकारको नेतृत्व गर्ने अवसर पाएका बेलामा सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र पूर्वाधार निर्माणका क्षेत्रमा पनि ऐतिहासिक भूमिका निर्वाह गरेको दाबी गरे।
उनले माओवादीले सरकारको नेतृत्व गरेको बेलामा गरेका महत्त्वपूर्ण कामको चर्चा गर्दै यसलाई आमजनतामा स्थापित गर्नुपर्ने बताए।
‘मैले गणतान्त्रिक नेपालको प्रथम प्रधानमन्त्रीको रुपमा नेतृत्व गरेको बेलामा मध्यपहाडी मध्यपहाडी लोकमार्गको अवधारणा अघि सारेँ, जो निर्माण सम्पन्न हुने चरण छ’, पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘चुरेको काखबाट पूर्वपश्चिम मदन भण्डारी लोकमार्ग पनि हाम्रै अवधारणामा अघि सुरु गरिएको हो, जो निर्माण कार्य भइरहेको छ।’
त्यस्तै आफूले अघि बढाएको उत्तरदक्षिण कोरिडोर र डा बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला अघि बढाइएको काठमाडौँको करिडोर अवधारणा पनि माओवादी सरकारकै विकास नीतिको परिणाम भएको दाबी प्रचण्डको छ।
अध्यक्ष प्रचण्डले अब सडक र सदनबाट भ्रष्टाचारविरुद्ध महाअभियान चलाउने बताए। ‘सरकारबाट थालेको सुशासनको अभियान अब सदन र सडकबाट पनि अघि बढाउँछौँ’, उनले भने, ‘भ्रष्टाचारविरुद्ध सदन र सडकबाट महाअभियान चलाउँछौँ। यसले समाजवादी क्रान्तिको थालनी गर्न समेत पनि सहयोग गर्नेछ।’
सरकारमा रहँदा दलाल पुँजीपतिहरुको राइँदाइँमाथि जेहाद छेडेको उल्लेख गर्दै उनले सदन र सडकबाट केही महिनाभित्र नै परिस्थिति उल्ट्याइदिन सकिने दाबी गरे।
‘हामी अहिले सरकार बनाउने हतारोमा छैनौँ। तिमीहरु मिलेर बस भनेका छौँ तर हामीले चाहँदैमा उनीहरु मिल्दैनन्। अपवित्र गठबन्धन चाँडै कुहिएर झर्छ’, अध्यक्ष प्रचण्डले भने। फेरि प्रतिनिधिसभाका पहिलो र दोस्रो दल मिलेर संविधानले स्थापित गरेका उपलब्धि खोस्ने खोस्ने षड्यन्त्र गरे भने सदन र सडकबाट एकैसाथ प्रतिरोध गर्न बाध्य हुने चेतावनी प्रचण्डले दिए।
अध्यक्ष प्रचण्डले अहिले ठूलाठूला शक्ति राष्ट्रहरुको अस्वस्थ प्रतिष्पर्धा देखिएको र त्यसको असर दक्षिण एसियामा पनि देखापर्न थालेको उल्लेख गर्दै नेपालमा राष्ट्रिय स्वाधीनतको मुद्दा पेचिलो बन्न थालेको बताए।
प्रचण्डले एक्काइसौं शताब्दीमा समाजवादी क्रान्तिको नयाँ बाटो भनेर आठौँ राष्ट्रिय महाधिवेशनबाट पारित लाइन नै आधिकारिक र औपचारिक कार्यदिशा भएको उल्लेख गर्दै सोही कार्यदिशाअनुसार कार्ययोजना बनाएर जनतामा जानुपर्नेमा केही कमजोरी भएको स्वीकार गरे।