‘ढुङ्गाखानी बन्द हुँदा रोजगारी गुम्यो’

हिमाल प्रेस १० असोज २०८१ १५:५७
8
SHARES
‘ढुङ्गाखानी बन्द हुँदा रोजगारी गुम्यो’ फाइल तस्बिर

पर्वत- पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्ले, वडा नं ३ देउराली र वडा नं ४ क्याङको सिमानास्थित माटेको लेकमा रहेको ढुङ्गाखानी सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन्। उक्त ढुङ्गाखानी विगत १७ वर्षदेखि बन्द अवस्थामा छ।

तत्कालीन क्याङ, देउराली र भुकताङ्ले गाविस बीचको सिमाना विवादका कारण ढुङ्गाखानी बन्द भएको थियो। ढुङ्गाखानी सञ्चालन गर्न अहिलेसम्म कुनै पनि निकायले पहल गरेको छैन। मोदी गाउँपालिकाको तीनवटा वडा क्याङ, देउराली र भुकताङ्लेमा पर्ने माटेको लेकमा रहेको ढुङ्गाखानी बन्द हुँदा यस क्षेत्रका बासिन्दाले नोक्सानी बेहोर्नुपरेको छ। साथै स्थानीय सरकारले राजस्व गुमाएको छ। देउराली, क्याङ र भुकताङले गाविसका बासिन्दाले खानी आ-आफ्नो गाविसभित्र पर्ने भन्दै दाबी  गरेपछि २०६४ सालदेखि ढुङ्गाखानी बन्द भएको हो।

सबैले ढुङ्गाखानीमाथि दाबी गर्नथालेपछि बन्द गरिएको तत्कालीन क्याङ गाविसका अध्यक्ष नरसिंह पुनले बताए। ठूलाछाप सामुदायिक वनमा पर्ने उक्त ढुङ्गाखानी समुदायलाई हस्तान्तरण गरे पनि तत्कालीन जिल्ला वन कार्यालयले विवाद अन्त्य गर्न उक्त वनलाई राष्ट्रियकरण गरेको उनको भनाइ छ।

खानीमा प्रशस्त ढुङ्गा भए पनि सञ्चालन नहुँदा प्रयोगविहीन छ। ‘खानी सञ्चालनका समयमा दैनिक सयौँ मजदुरले प्रत्यक्ष रुपमा रोजगारी पाएका थिए’, अध्यक्ष पुनले भने। यहाँ निकालिएका ढुङ्गा पर्वत, बाग्लुङ, म्याग्दीलगायत देशका विभिन्न ठाउँमा बिक्रीका लागि लैजाने गरिएको उनले बताए।

खानीका ढुङ्गा सङ्कलन गरेर बिक्री गरी जीविकोपार्जन गर्दै आएका स्थानीय भानेबहादुर विकका अनुसार खानी बन्द भएपछि आश्रित परिवारको रोजीरोटी खोसिएको छ। धेरैजसो स्थानीय युवा विदेश पलायन भएका छन्। उनले ढुङ्गाखानीमा झण्डै १० वर्षसम्म काम गरेका थिए। जस्तापाताभन्दा ढुङ्गा बलिया र टिकाउ भएकाले धेरैले घर ढुङ्गाले छाउन मन पराउने गरेको विक बताउँछन्।

एकपटक छाएको घर दुई-तीन पुस्तासम्म पुग्ने स्थानीयवासी बताउँछन्। खानी उत्खनन गरेर ढुङ्गा बिक्री गर्ने हो भने पनि राज्यलाई वार्षिक लाखौँ रुपैयाँ आम्दानी हुने स्थानीय राम पुनले बताए। सार्वजनिक जग्गाभित्र एक किलोमिटर क्षेत्रफलमा ढुङ्गाका पाँचवटा खानी रहेका छन्। यसअघि केहीले ढुङ्गा कुँद्ने र केहीले खानीबाट ढुङ्गा निकाल्ने गर्दै आएका थिए। उत्तरी पर्वतका अधिकांश वडाका प्रायजसो घर ढुङ्गाले छाएका छन्।

‘पहिला खानी सञ्चालन हुँदा गाउँलेले राम्रै रोजगारी पाएका थिए’, स्थानीय हर्कबहादुर पुनले भने ‘अहिले रोजगारी गुमेपछि कोही विदेशतिर गए त कोही गाउँमै मजदुरी गर्दै आएका छन्।’  खानी सञ्चालन गर्न सके स्थानीयको जीवनस्तरमा परिवर्तन आउने उनको भनाइ छ। ‘अहिले बजारबाट जस्तापाता ल्याएर घर छाउनुपर्ने बाध्यता छ’, स्थानीय गङ्गाबहादुर विकले भने।

स्थानीयलाई रोजगारी दिन खानी सञ्चालनमा ल्याउनुपर्ने मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले बताए। खानी सञ्चालन गर्न डिभिजन वन कार्यालय, खानी तथा भूगर्भ विभागलगायत सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्ने उनले बताए।

प्रकाशित: १० असोज २०८१ १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast