वैदेशिक रोजगारीको अँध्यारो पाटो : थपिँदै पत्नी हत्याका घटना

रमेश भारती १० असोज २०८१ १७:४९
98
SHARES
वैदेशिक रोजगारीको अँध्यारो पाटो : थपिँदै पत्नी हत्याका घटना

काठमाडौँ- वैदेशिक रोजगारीमा गएका युवाले कमाएको पैसा देशको आम्दानीको मुख्य हिस्सा हो। साउनमा १ अर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको विवरणले पनि यो कुरा पुष्टि हुन्छ।

वैदेशिक रोजगारीमा गएका युवाले भित्र्याएको पैसाले मुलुकलाई फाइदा भएको विषयमा जति चर्चा हुन्छ त्यसभित्रको नकारात्मक असरको लेखाजोखा भने कमै हुने गर्छ। त्यसैमध्येको एक हो विदेशमा काम गरेर फर्किएका पुरुषले पत्नीको हत्या गर्नु।

रोजगारीमा विदेश गएका युवाको घरझगडा, मनमुटाव, सम्पत्तिको निहुँमा विवाद, सन्तानको बिचल्ली, पतिपत्नीबीच सम्बन्धविच्छेदजस्ता समस्याको लामै सूची बन्न सक्छ। रोजगारविज्ञहरु विवाद, सम्बन्धविच्छेद, सम्पत्ति बाँडफाँटजस्ता विषयलाई त मिलाउन सकिएला तर वैदेशिक रोजगारीबाट फर्किएका पुरुष हिंस्रक बन्दै जानु राम्रो संकेत नभएको बताउँछन्।

पछिल्लो समयमा वैदेशिक रोजगारीबाट फर्किएर कतिपय पुरुषले श्रीमतीका हत्या गरेको घटना बाहिरिन थालेका छन्। बुधबार राति सर्लाहीमा यस्तै घटना भयो। जिल्लाको हरिपुर्वा नगरपालिका-५ का २७ वर्षीय धीरेन्द्र यादवले वैदेशिक रोजगारीबाट फर्किएर २३ वर्षीया श्रीमती चित्रलेखा यादवको गोली हानेर हत्या गरेको सर्लाही प्रहरीले जनाएको छ।

धीरेन्द्र एक महिनाअघि कुवेतबाट फर्किएका थिए। उनले बुधबार राति पौने २ बजे श्रीमतीलाई गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

यादवले पत्नीको हत्या गर्नुको कारण नखुलेको श्रेष्ठले बताए। यादवले चलाएको गोली लागेर उनका बुबा ५४ वर्षीय रामदिनेश यादव घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ। धीरेन्द्र पक्राउ परेका छन्।

गत असारमा धनुषा महेन्द्रनगर क्षीरेश्वरनाथ नगरपालिका-५ का राजनारायण यादवले श्रीमती रुबी यादवको हत्या गरी शव जंगलमा लगेर गाडेका थिए। रुबीको शव आठ दिनपछि प्रहरीले सडेको अवस्थामा फेला पारेको थियो।

यादवले वैदेशिक रोजगारी साउदीबाट फर्किएको तीन महिनापछि श्रीमतीको हत्या गरेको स्वीकार गरेको  धनुषा जिल्ला प्रहरीले जनाएको छ। परिवारिक झगडा, आर्थिक लेनदेन र दोस्रो पुरुषसँग लागेको शंकामा यादवले श्रीमतीको हत्या गरेको प्रहरीको भनाइ छ। यादवका ६ वर्षीय एक छोरा छन्।

गत चैतमा झापाको बाह्रदशी गाउँपालिका-१ का ३३ वर्षीय देवनारायण राजवंशीले वैदेशिक रोजगारी यूएईबाट फर्किएको चार दिनपछि ३३ वर्षीया श्रीमती मनसरी राजवंशीको हत्या गरे।

झापाकै दिव्यज्योति मावि राजगढमा शिक्षण पेसामा आबद्ध मनसरीलाई देवनारायणले आफू वैदेशिक रोजगारीमा हुँदा परपुरुषसँग लागेको आरोप लगाउँदै घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरी नियन्त्रणमा रहेका राजवंशीको सात वर्षीया छोरी छिन्।

चैतमै व्यास नगरपालिका-५ साँगेका ४० वर्षीय जितबहादुर कुमालले भारतबाट फर्किएर ३६ वर्षीया श्रीमती सुनमाया कुमालको हत्या गरे। एक छोरा र एक छोरीका अभिभावक कुमालले भारतबाट फर्किएको तीन दिनपछि श्रीमतीका हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। कुमालले अहिले जेलमा छन्।

२०७९ साउनमा चितवनमा यस्तै घटना भएको थियो। १५ वर्ष वैदेशिक रोजगारीमा बसेर फर्किएका चितवन भरतपुर महानगरपालिका १० का कृष्णप्रसाद आचार्यले श्रीमती रुष्मा आचार्यको हत्या गरेका थिए। श्रीमतीको हत्यापछि उनले तत्काल आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनको अभिलेखमा उल्लेख छ।

वैदेशिक रोजगारीमा कार्यरत हुँदा कतिपय पुरुषले श्रीमतीलाई परपुरुषसँग लागेको शंका गर्छन्। यही विषयमा परिवारिक झगडा हुँदा स्वदेश फर्किएर श्रीमतीको हत्या गर्ने गरेको पाइएको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्की बताउँछन्।

उनले भने, ‘अहिलेसम्मका घटना हेर्दा आर्थिक लेनदेन र परपुरुषसँग लागेको आरोपमा वैदेशिक रोजगारीबाट फर्किएर श्रीमानले श्रीमतीको हत्या गरेको पाइन्छ।’ उनले यस्ता घटना बढिरहेको बताए। कार्कीले भने, ‘वार्षिक १०/१२ वटा यस्ता घटना हुने गरेका छन्।’

वैदेशिक रोजगारीबाट फर्किएका कामदारहरुले श्रीमतीको हत्या गरेको कारण खोज्नुपर्ने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती बताउँछन्।

उनले भने, ‘वैदेशिक रोजगारीमा कार्यरत कामदार र स्वदेशमा भएकी श्रीमती अथवा परिवारसँग तालमेल नमिल्दा हत्याको घटना भइरहेका छन्। कतिपय घटना त शंकाका आधारमा भइरहेको छ।’

वैदेशिक रोजगार मामिलाका विज्ञ रामेश्वर नेपाल पनि वैदेशिक रोजगारीका कारण कतिपय परिवारले कारुणिक अन्त्य व्यहोर्नुपरेको बताउँछन्। ‘वैदेशिक रोजगारी कतिपय जीवनमा समृद्धिको पाटो बनेको छ भने कतिपयका लागि निल्न न ओकल्न सक्ने विष बन्दैछ’, उनले भने।

प्रकाशित: १० असोज २०८१ १७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 18 =