विद्याभूषण : प्रमाणपत्रले टार्न खोज्दै सरकार!

रमेश दवाडी ९ असोज २०८१ २१:४७
14
SHARES
विद्याभूषण : प्रमाणपत्रले टार्न खोज्दै सरकार!

काठमाडौँ- सरकारले ६ वर्षदेखि विद्याभूषण उपलब्ध नगराउँदा उच्चशिक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी निराश बनेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीहरू विद्याभूषण दिनका लागि बजेट अभाव भएको भनेर पन्छिने गरेका छन्।

सरकारले विश्वविद्यालय तहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीका लागि बर्सेनि विद्याभूषण र विभिन्न पदक घोषणा गर्दै आएको छ।

इलामका नवीन के भट्टराईले २०८० सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट एमएड टप गर्दै नेपाल विद्याभूषण ‘ख’ बाट पुरस्कृत हुनेको नामावलीमा अटाए। उनी विद्याभूषणको पर्खाइमा छन्। घोषणा गरेलगत्तै पदक दिँदा त्यसको छुट्टै अर्थ, महत्त्व हुने बताउँदै भट्टराईले विद्याभूषण हात नपर्दा आफू निराश भएको गुनासो गरे।

गोल्डमेडलिस्ट भट्टराईले हिमालप्रेससँग भने, ‘पदक प्राप्त भएको छैन। २०७६ सालदेखि सरकारले पदक दिन नसकेको रहेछ। मैले पनि समाचार पढेर थाहा पाएँ। सरकारले घोषणा गरेको पदक नपाउँदा निराश छु।’

पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातक तहमा उत्कृष्ट विकास पाण्डे विद्याभूषण ‘ख’ बाट पुरस्कृत हुनेको सूचीमा छन्। सरकारले घोषणा गरेको विद्याभूषण ढिलोचाँडो हात पर्नेमा ढुक्क छन् पाण्डे। ‘सरकारले घोषणा गरेको विद्याभूषण नपाउँदा नराम्रो लागेको छ। सरकारले घोषणा गरेपछि पक्कै दिन्छ होला। तर कहिले दिन्छ थाहा छैन। घोषणा गर्ने बित्तिकै दिएको भए त्यसको बढी महत्त्व हुन्थ्यो। बजेट अभाव भएर नदिएको भन्ने बुझेका छौँ,’ पाण्डेले भने।

विश्वविद्यालय शिक्षामा उच्च नतिजा ल्याउने विद्यार्थीलाई गणतन्त्र घोषणाअघि महेन्द्र विद्याभूषण प्रदान गरिन्थ्यो। गणतन्त्र आएपछि महेन्द्र विद्याभूषणको सट्टा नेपाल विद्याभूषण नामकरण गरिएको थियो। नाम परिवर्तन गरिए पनि घोषणा हुनेबित्तिकै विद्यार्थीले पदक पाउने गरेका छैनन्।

यसअघि पनि घोषणा गरिएकै समयमा विद्याभूषण प्रदान गरिएको थिएन। त्रिभुवन विश्वविद्यालयबाट २०६५ सालमा मानुषी यमि भट्टराईले गोल्डमेडल प्राप्त गरेकी थिइन्।  आफूलाई  गोल्डमेडल हात पार्न पाँच वर्ष कुर्नुपरेको उनी स्मरण गर्छिन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्ष पनि उत्कृष्ट क्याम्पस, विद्यालय, विद्याभूषण, प्रविधि विद्याभूषण तथा छात्रापदक पाउनेको नाम घोषणा गर्‍यो। संस्थागततर्फको पुरस्कार शिक्षा दिवसकै दिन दिए पनि विभूषण वितरणको कुनै टुंगो छैन।

शिक्षा मन्त्रालयका अधिकारीहरू  विद्याभूषण, प्रविधि विद्याभूषण तथा छात्रापदक ६ वर्षदेखि रोकिएको  बताउँछन्। एक हजार तीन सय जनालाई विद्याविभूषण तथा पदक दिन बाँकी छ। विद्याभूषण तथा पदकका लागि आवश्यक बजेटबारे शिक्षा मन्त्रालयका अधिकारीहरू बेखबर छन्र। मन्त्रालयका अधिकारीहरू एकअर्को शाखालाई देखाएर जिम्मेवारविहीन अभिव्यक्ति दिन्छन्।

विद्याभूषण तथा पदकको बजेटका विषयमा प्रश्न गर्दा शिक्षा मन्त्रालयका अधिकारीहरू आर्थिक प्रशासन शाखा र आन्तरिक व्यवस्थापन शाखालाई देखाएर पन्छिन खोजेका छन्।

मन्त्रालयको आर्थिक प्रशासन शाखाका उपसचिव (लेखा) मुरारी निरौलाले विद्याभूषण र पदकको बजेटबारे आफूलाई कुनै पनि जानकारी नभएको बताए।  उनले भने, ‘मन्त्रालय आएको धेरै भएको छैन। मलाई यसबारे जानकारी छैन।’

आन्तरिक व्यवस्थापन शाखाका अधिकृत अर्जुन राईले पनि निरौलाकै भाषा बोले। शिक्षा मन्त्रालयमा आफू भर्खरै सरुवा आएका कारण विद्याभूषण र पदकको बजेटबारे जानकारी नभएको  उनको भनाइ थियो।

मन्त्रालयको उच्च शिक्षा शाखा अधिकृत नगेन्द्र दाहालले २०७६ सालदेखि विद्याभूषण तथा पदक रोकिएको जानकारी दिए। उनले भने, ‘२०७६ सालदेखि पदक तथा विभूषण दिन रोकिएको छ। यो पाउने एक हजार तीन सय जना हुनुहुन्छ।’

दाहालले अर्थ मन्त्रालयले बजेट नदिँदा विद्याभूषण र पदक वितरण गर्न नसकिएको स्वीकार गरे। उनले भने, विद्याभूषणका लागि अर्थ मन्त्रालयले पैसा नै दिँदैन।’

अर्थ मन्त्रालयले उच्च शिक्षा र विद्यालय शिक्षाका लागि ३०/३० लाख रुपैयाँ मात्र दिएको जानकारी दिँदै दाहालले विद्याभूषण र पदकका लागि अघिल्ला वर्षहरूबाटै बजेट कटौती हुँदै आएको बताए।

शिक्षा मन्त्रालयका सूचना अधिकारी तथा उपसचिव नारायणप्रसाद पोखरेल पनि बजेट अभावले विद्याविभूषण तथा पदक दिन नसकिएको बताउँछन्। उनले भने, ‘बजेट अभावले  विभूषण तथा पदक दिन सकिएको छैन। बजेट व्यवस्थापन गरेर दिने निर्णय भएको छ।’ उनले कहिले पदक दिने भन्ने कुनै टुंगो नभएको बताए। पोखरेलले भने, ‘बजेट उपलब्ध भएपछि सार्वजनिक सूचना गरेर पदक लिन बोलाउनेछौँ।’

शिक्षा मन्त्रालयका अर्का एक उच्च अधिकारीले भने अब विद्याभूषण तथा पदक नदिने पक्षमा मन्त्रालय पुगेको छ। ती अधिकारीले भने, ‘बजेट अभावले गर्दा पदक दिन सकिन्न, प्रमाणपत्र मात्र दिने विषयमा छलफल भइरहेको छ। ठोस निर्णयचाहिँ भएको छैन।’

मन्त्रालयका अनुसार यस वर्ष उच्च शिक्षातर्फ नेपाल विद्याभूषण ‘क’ प्राप्त गर्ने २६४ जना छन्। सोही विद्याभूषण ‘ख’ प्राप्त गर्ने ३५ जना र ‘ग’ प्राप्त गर्ने २१ जनाको नाम सार्वजनिक गरिएको छ। छात्रा विद्यापदकका लागि १५ जनाको नाम सार्वजनिक गरिएकको छ।

कुन श्रेणीलाई कुन विद्याभूषण र पदक?

नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका-२०७७ अनुसार विद्यावारिधि वा सोभन्दा माथिको उपाधि प्राप्त गर्ने व्यक्तिलाई ‘क’ श्रेणीको नेपाल विद्याभूषण प्रदान गरिने उल्लेख छ।

निर्देशिका अनुसार नेपाल विद्याभूषण पदक गोलाकारमा पचास मिलिमिटर परिधिको षट्कोण आकारको हुन्छ। यसको तौल जर्ती बाहेक बयालीस ग्राम शुद्ध चाँदी र त्यसमा एक ग्राम सुनको लेपन हुन्छ। यसको अगाडिपट्टिको माथिल्लो भागमा नेपाल विद्याभूषण लेखिएको, त्यसको तल नेपालको नक्सा र सो नक्सामुनि पदक प्रदान गरिएको साल लेखिएको हुन्छ। पछाडिको भागमा नेपाल सरकारको निसाना छाप र सोकोमुनि ‘क’ श्रेणी लेखिएको हुन्छ।

स्नातकोत्तर तहमा नियमित विद्यार्थीको रूपमा अध्ययन गरी उक्त संकायअन्तर्गत विशिष्ट वा प्रथम श्रेणीमा प्रथम हुने वा ग्रेड प्वाइन्ट प्रणालीअन्तर्गत सबै विषय वा पत्रमा गरी समग्रमा सो संकायमा उच्चतम ग्रेड प्वाइन्ट पाउने विद्यार्थीलाई सर्वप्रथम सरह मानी ‘ख’ श्रेणीको नेपाल विद्याभूषण प्रदान गरिन्छ। तर त्यस्तो विद्यार्थीको ग्रेड प्वाइन्ट कम्तीमा तीन हुनुपर्ने निर्देशिकामा छ।

नेपाल विद्याभूषण पदक गोलाकारमा पैतालीस मिलिमिटर परिधिको षट्कोण आकारको हुन्छ। यसको तौल जर्तीबाहेक एकतीस ग्राम शुद्ध चाँदी र त्यसमा एक ग्राम सुनको लेपन हुन्छ। अगाडिको माथिल्लो भागमा नेपाल विद्याभूषण लेखिएको, त्यसको मुनि नेपालको नक्सा र सो नक्सामुनि पदक प्रदान गरिएको साल लेखिएको हुन्छ। पछाडिको भागमा सरकारको निसाना छाप र सोकोमुनि ‘ख’ श्रेणी लेखिएको हुन्छ।

स्नातक तहमा नियमित विद्यार्थीको रूपमा अध्ययन गरी संकाय वा स्कुलअन्तर्गत विशिष्ट वा प्रथम श्रेणीमा प्रथम हुने वा ग्रेड प्वाइन्ट प्रणालीअन्तर्गत सबै विषय वा पत्रमा गरी समग्रमा उच्चतम ग्रेड प्वाइन्ट पाउने विद्यार्थीलाई सर्वप्रथम सरह मानी ‘ग’ श्रेणीको नेपाल विद्याभूषण प्रदान गरिन्छ। तर त्यस्तो विद्यार्थीको ग्रेड प्वाइन्ट कम्तीमा तीन हुनुपर्ने निर्देशिकामा बताइएको छ।

नेपाल विद्याभूषण पदक गोलाकारमा चालीस मिलिमिटर परिधिको षट्कोण आकारको हुन्छ। यसको तौल जर्ती बाहेक बाइस ग्राम शुद्ध चाँदी र त्यसमा एक ग्राम सुनको लेपन हुन्छ। यसको अगाडिको माथिल्लो भागमा नेपाल विद्याभूषण लेखिएको, त्यसकोमुनि नेपालको नक्सा र सो नक्सामुनि पदक प्रदान गरिएको साल लेखिएको हुन्छ। पछाडिको भागमा सरकारको निसाना छाप र सोकोमुनि ‘ग’ श्रेणी लेखिएको हुन्छ।

त्यस्तै विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कृषि, पशु विज्ञान, वन विज्ञान र चिकित्साशास्त्र विधाको स्नातकोत्तर तह वा सोभन्दा माथिल्लो तहमा नेपालसँग सम्बन्धित विषय समावेश भएको र नयाँ प्रविधि विकास हुने तथा सम्बन्धित अध्ययनलाई निरन्तरता दिन वा प्रयोग गर्न सकिने गरी तयार गरिएको शोधपत्रका आधारमा नेपालका विश्वविद्यालयका प्रत्येक संकायका दुईजना विद्यार्थीलाई नेपाल प्रविधि विद्याभूषण प्रदान गरिने नियम भएको निर्देशिकामा बताइएको छ।

नेपाल प्रविधि विद्याभूषण पदक गोलाकारमा पैतालीस मिलिमिटर परिधिको पटकोण आकारको हुन्छ। यसको तौल जर्ती बाहेक एकतीस ग्राम शुद्ध चाँदी र त्यसमा एक ग्राम सुनको लेपन हुन्छ। यसको अगाडिको माथिल्लो भागमा नेपाल प्रविधि विद्याभूषण लेखिएको, त्यसकोमुनि नेपालको नक्सा र सो नक्सा मुनि पदक प्रदान गरिएको साल लेखिएको हुन्छ। पछाडिको भागमा नेपाल सरकारको निसाना छाप हुन्छ।

नेपालभित्रका विश्वविद्यालयको स्नातक तहमा नियमित विद्यार्थीको रूपमा अध्ययन गरी प्रत्येक संकायमा सबैभन्दा बढी अंक वा ग्रेड प्राप्त गर्ने एक जना छात्रालाई सम्बन्धित परीक्षा नियन्त्रकको सिफारिसमा ‘क’ श्रेणीको नेपाल छात्रा विद्यापदक प्रदान गरिने निर्देशिकामा बताइएको छ।

छात्रा विद्यापदक गोलाकारमा छ्यालीस मिलिमिटर परिधिको षट्कोण आकारको हुन्छ यसको तौल जर्ती बाहेक तीस ग्राम शुद्ध चाँदी र त्यसमा एक ग्राम सुनको लेपन हुन्छ। यसको अगाडिको माथिल्लो भागमा नेपाल छात्रा विद्यापदक लेखिएको, त्यसकोमुनि नेपालको नक्सा र सो नक्सामुनि पदक प्रदान गरिएको साल लेखिएको र पछाडिको भागमा सरकारको निसाना छाप र सोकोमुनि ‘क’ श्रेणी लेखिएको हुन्छ।

परीक्षा बोर्डबाट माध्यमिक शिक्षाको कक्षा १२ वा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट प्रमाणपत्र वा सो सरहको परीक्षामा सबैभन्दा यही अंक वा ग्रेड प्राप्त गर्ने एक जना छात्रालाई सम्बन्धित परीक्षा नियन्त्रकको सिफारिसमा ‘ख’ श्रेणीको नेपाल छात्रा विद्यापदक प्रदान गरिने निर्देशिकामा उल्लेख छ।

नेपाल छात्रा विद्यापदक गोलाकारमा छ्यालीस मिलिमिटर परिधिको षट्कोण आकारको हुन्छ। यसको तौल जर्तीबाहेक तीस ग्राम शुद्ध चाँदीको हुन्छ। पदकको अगाडिपट्टिको माथिल्लो भागमा नेपाल छात्रा विद्यापदक लेखिएको, त्यसकोमुनि नेपालको नक्सा र सो नक्सामुनि पदक प्रदान गरिएको साल लेखिएको हुन्छ। पछाडिको भागमा सरकारको निसाना छाप र सोकोमुनि ‘ख’ श्रेणी लेखिएको हुन्छ।

पुरस्कार पाएका शैक्षिक संस्था

यस वर्ष मन्त्रालयबाट उत्कृष्ट ठहरिएका शैक्षिक संस्थाले पुरस्कार प्राप्त गरिसकेको सूचना अधिकारी पोखरेलले जानकारी दिए। त्रिभुवन विश्वविद्यालयअन्तर्गतको सामुदायिकतर्फ ललितपुर, चापागाउँको श्री जनभावना क्याम्पस, निजीतर्फ सोल्टीमोड काठमाडौँको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइसेन्स,पोखरा विश्वविद्यालयअन्तर्गतको उत्कृष्ट कास्कीको स्कुल अफ बिजनेससहित तीनवटै क्याम्पसलाई शिक्षा मन्त्रालयले २ लाख ५० हजार रुपैयाँसहित पुरस्कृत गर्‍यो।

जनभावना क्याम्पसकी लेखापाल प्रभा महर्जनले पनि शिक्षा दिवसकै दिन सरकारबाट २ लाख ५० हजार रुपैयाँ र प्रमाणपत्र क्याम्पसले पाएको बताइन्।

देशभरका सार्वजनिक विद्यालयमध्येबाट २०८० को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा दाङ, तुल्सीपुरको श्री मावि तुल्सीपुर सेन्टरले तीन लाख रुपैयाँ प्रथम पुरस्कार प्राप्त गर्‍यो। काठमाडौँको विश्वनिकेतन माविलाई द्वितीय पुरस्कार स्वरुप दुई लाख रुपैयाँ र दाङकै जनकल्याण माविले तृतीय पुरस्कार एक लाख रुपैयाँ प्राप्त गर्‍यो।

निजी विद्यालयतर्फ काठमाडौँ टोखाको फ्लोरिसेन्ट मावि उत्कृष्ट ठहरिएको छ। फ्लोरिसेन्टले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै द्वितीय बनेको काठमाडौँको विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालयले दुई लाख र तेस्रो बनेको काठमाडौँको बुढानीलकण्ठ विद्यालयले एक लाख रुपैयाँ प्राप्त गर्‍यो।

प्राविधिकतर्फ बनेपाको नेपाल बनेपा बहुप्राविधिक शिक्षालय, दाङको तुल्सीपुर पोलिटेक्निक इन्स्टिच्युट, काठमाडौँको नेपाल आर्मी कलेज अफ हेल्थ साइन्स उत्कृष्ट भएका छन्। प्राविधिक विधातर्फ उत्कृष्ट भएका विद्यालयले एकरएक लाख रुपैयाँ प्राप्त गरे। शिक्षा मन्त्रालयका अनुसार यो वर्षको समाज कल्याण शिक्षा पुरस्कार काठमाडौँ कागेश्वरी मनोहराको श्री युवा क्रियाकलाप उत्थान केन्द्र र ललितपुरको श्री सी–आशा फाउन्डेसनले पाएका छन्। दुवै संस्थाले दुईरदुई लाख रुपैयाँबाट पुरस्कृत भए।यसअघि पनि घोषणा गरिएकै समयमा विद्याभूषण प्रदान गरिएको थिएन।

प्रकाशित: ९ असोज २०८१ २१:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =