ईभीमा आकर्षण, छैनन् चार्जिङ स्टेसन 

विजय नेपाल ९ असोज २०८१ ८:०५
18
SHARES
ईभीमा आकर्षण, छैनन् चार्जिङ स्टेसन  पोखरा–बागलुङ राजमार्ग छेउको कालिका पेट्रोलपम्पमा रहेको चार्जिङ स्टेसन। तस्बिर : विजय नेपाल

पोखरा- जनैपूर्णिमाको साइत पारेर श्रीनगर यातायात कम्पनी प्रालिले पोखरा-तानसेन विद्युतीय गाडी (ईभी) चलाउन थालेको छ। सिट फोल्डिङ सुविधा र एसीसमेत रहेको उक्त ईभी माइक्रोका कारण यात्रुलाई यतिबेला आउजाउमा सहज भएको कम्पनीका अध्यक्ष डिलबहादुर ढुंगाना बताउँछन्।

कम्पनीले दैनिक रुपमा तानसेनबाट र पोखराबाट एकएकवटा गाडी छुटाउने गरेको छ। सानो र छरितो भएकाले यात्रुलाई सुविधाका लागि पोखरा तथा तानसेनमा घरघरसम्मै पुर्याइने ढुंगानाले बताए।

पर्वत कुस्मा नगरपालिका वडा ३, दुर्लुङका कमल रेग्मीले ४३ लाख रुपैयाँ खर्चेर ११ सिटे फोटोन कम्पनीको गाडी खरिद गरेको दुई महिना भयो। यो गाडी उनलाई ट्याक्सी चलाएझैँ लाग्छ रे।

भाडा सस्तो छ। गाडी चलाउँदा मर्मत खर्च कम हुने तथा पेट्रोल हाल्नु नपर्दा कमाइ हुने आशामा यसमा आकर्षित भएको रेग्मी प्रस्ट पारे। उनले भने, ‘पहिले ट्याक्सी चलाउँदा पेट्रोल र मोबिलमै लाख खर्च हुन्थ्यो। अब महिनामा एक लाख जति बच्ने भयो।’

ईभीका नियमित यात्रु विशज पौडेलले हिँड्दा आरामदायी र भाडा पनि सस्तो भएकाले सकेसम्म ईभीमा चढ्ने गरेको सुनाउँछन्। पोखरा-कुस्मा आउजाउ गर्दा अरु बेला ६ सय लाग्नेमा यो गाडीमा मात्र साढे ३ सय रुपैयाँ भाडा तिर्ने गरेको पौडेलले बताए।

दसैँ आउन लाग्दा पोखरा सभागृह परिसरमा यतिखेर टीभीएस कम्पनीका ईभीसहितका गाडीको एक्सचेन्ज मेला जारी छ। तीन दिनदेखि जारी मेला अवलोकन गर्न आउने ग्राहक पनि ईभीमै आकर्षित हुने गरेको जगदम्बा मोटर्सका गण्डकी प्रतिनिधि प्रवीण अर्यालले बताए।

उनका अनुसार मेलामा ईभी स्कुटरसमेत राखिएका छन्। गत वर्ष पोखराबाट २ सय ५० वटा यसप्रकारका ईभी स्कुटर बिक्री गरिएको अर्यालले जानकारी दिए। हाल मासिक रुपमा ३०/३५ ईभी स्कुटर बिक्री भइरहेको उनले बताए। दुईवटा मोडलमा रहेको ईभी स्कुटरमध्ये एउटाको चार लाख र अर्कोको पाँच लाख रुपैयाँसम्म पर्छ। ब्याट्रीमा पाँच वर्ष वारेन्टी दिने गरेको उनले बताए।

अर्यालका अनुसार नेपाली बजारमा ईभी सवारीसाधन बाक्लै भित्रिइरहेका छन्। १ सय ८० ब्रान्डका गाडी भित्रिइसकेको अर्यालले बताए। आगामी दिनमा बस तथा ट्रक पनि आउन सक्ने उनी बताउँछन्। अहिले ईभीमध्ये दुईपांग्रेमा मोटरसाइकल/स्कुटर, चारपांग्रेमा कार बढी मात्रामा सडकमा गुड्ने गरेको पाइन्छ। व्यक्तिगत रुपमा प्रयोग गर्नेले बीवाईडी, ओमोडा, नेटाभ, फोटोन, डिपल तथा यात्रु ओसार्न केवाईसी लङ, एसआरएम, फोटोनको माग रहेको गाडी विक्रेताहरु बताउँछन्।

पोखरा सभागृह परिसरमा ईभीसहितका गाडीको एक्सचेन्ज मेलामा राखिएका स्कुटी। तस्बिर : हिमालप्रेस

पछिल्लो समय ईभीमा आकर्षण बढेपछि सडकमा पनि उत्तिकै संख्यामा ईभी गुडेको पाइन्छ। यातायात व्यवस्था कार्यालय गण्डकीमा गत वर्षसम्म ९ सय ९० वटा विद्युतीय गाडी दर्ता भएका छन्। तीमध्ये कारको संख्या सबैभन्दा धेरै छ।

यातायात व्यवस्था कार्यालयका निमित्त कार्यालय प्रमुख अशोक गौतमका अनुसार गण्डकी प्रदेशमा मोटरसाइकल/स्कुटर गरी तीन सय ७३, कार पाँच सय ४९, पिक अप भ्यान १३ र माइक्रो बस ५५ गरी कुल नौ सय ९० विद्युतीय गाडी दर्ता भएका छन्। मानिसको आकर्षणका कारण दिनानुदिन दर्ता हुने क्रम बढेको निमित्त प्रमुख गौतमले बताए।

चार्जिङको छैन सुविधा

चौबिसै घण्टासम्म चार्जको सुविधा रहेको पोखरा ५, मालेपाटनस्थित कालिका पेट्रोलपम्प परिसरमा प्रायः विद्युतीय सवारी अर्थात् इलेक्ट्रिक भेइकल (ईभी)को ताँती देखिन्छ।

सशस्त्र प्रहरी बल नेपाल कल्याणकारी सेवा केन्द्रले खोलेको यो पेट्रोलपम्प परिसर फराकिलो र सुविधाजनक भएकाले नेपाल विद्युत् प्राधिकरणले गत वर्ष २४ भदौमा सार्वजनिक विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको थियो।

पोखरा महानगरपालिकामा योसहित तीन ठाउँमा मात्र यस्तो खालको सार्वजनिक विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन सञ्चालनमा छन्।

राष्ट्र बैंकचोकस्थित पर्यटक बसपार्क परिसर र पृथ्वी राजमार्गअन्तर्गत लेखनाथ तालचोकमा चार्जिङ स्टेसन भए पनि पर्याप्त छैनन्।

पोखरा-बागलुङ राजमार्ग छेउको कालिका पेट्रोलपम्प परिसरमा एकैपटक ६ वटासम्म गाडीमा चार्ज गर्न सकिन्छ। पम्पका एक सशस्त्र प्रहरी जवानका अनुसार दैनिक ६०/७० वटा सवारीसाधन चार्ज हुने गरेको छ।

कर्मचारी कोही नभए पनि यसखालको स्टेसनमा सवारीचालकले आफैँ चार्जमा गाडी जोड्न सक्छन्। चार्जबापतको रकम भने पहिल्यै अनलाइनमार्फत भुक्तानी गर्नुपर्छ। एउटा गाडी चार्जमा राखिसकेपछि कम्तीमा ३० मिनेटदेखि बढीमा तीन घण्टासम्म अवधिमा शतप्रतिशत (फुल) चार्ज हुन्छ।

ईभी चलाउनेहरु चार्ज स्टेसन पर्याप्त नभएको गुनासो गर्छन्। पोखरा-पर्वत ईभी चलाउने पर्वत ठूलीपोखरीका शालिकराम केसी भन्छन्, ‘हाइवेमा चलाउँदा कतिखेर ब्याट्री घट्ने हो भन्ने डर हुन्छ। टाढा हुँदा हतारहतार चार्जका लागि पोखरा धाउनुपर्ने बाध्यता छ।’ उनले सरकारले ईभीमा सहुलियत दिए पनि चार्ज स्टेसन भने नदिएको बताए। तसथ जतिसक्दो धेरै स्टेसन निर्माण गर्नुपर्ने उनको जोड छ।

विगतमा पेट्रोलबाट चल्ने भाडाको गाडी चलाउने गरेका उनले भर्खरैमात्र ईभी हायस खरिद गरेका छन्। उनको गाडी पोखरा-कुस्मा आवतजावत गर्छ। केसीका अनुसार उक्त हायसमा १४ जनासम्म यात्रु अट्छन्। उनी भन्छन्, ‘सरकारले निकै राम्रो गाडी त ल्यायो तर पर्याप्त चार्जिङ दिएन। यसले हामीलाई निकै असुविधा भएको छ।’ ठाउँठाउँमा चार्जिङ स्टेसन भएमा ईभीको भविष्य निकै राम्रो भएको उनको तर्क छ।

शालिकरामको जस्तै गुनासो छ, पोखरा-कुस्मा-बागलुङ-बेनी-दुर्लुङ चल्ने गुरुङ ट्राभल्सका चालक रामजी गुरुङको पनि। उनी पनि राजमार्गको ठाउँठाउँमा चार्जिङ स्टेसन हुनुपर्नेमा जोड दिन्छन्। यो पर्याप्त नहुँदा समयको खेर जाने र जुनसुकै र जतिबेला पनि गाडी रोकिन सक्ने डर हुने गुनासो गरे।

पेट्रोल-डिजेल नचाहिने भएकोले ईभी चलाउँदा फाइदा हुने सम्बन्धित गाडी चालक तथा गाडीधनी बताउँछन्। यसले यात्रुसँगसँगै देशलाई समेत फाइदा हुन्छ। ‘ईभी चलाउँदा राज्यलाई पनि फाइदा। आरामदायी गाडी र सस्तो भाडा भएकाले यात्रुलाई नि फाइदा। गाडीधनीलाई पनि फाइदा,’ केसी भन्छन्, ‘देशको पैसा देशमै रहने भयो। तर चार्जिङ स्टेसन राज्यले जतिसक्दो चाँडो ठाउँ-ठाउँमा दिनुपर्छ।’

प्रकाशित: ९ असोज २०८१ ८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 3 =