सबै समस्या समाधानको बाटोमा : ओली, विगत होइन अगाडि हेरेर हिँड्न आवश्यक छ : मोदी

हिमाल प्रेस ८ असोज २०८१ ९:४२
10
SHARES
सबै समस्या समाधानको बाटोमा : ओली, विगत होइन अगाडि हेरेर हिँड्न आवश्यक छ : मोदी प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अमेरिकाको न्युयोर्कमा भएको भेट। तस्बिर : रासस

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले  दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकामा आइतबार राति (नेपाली समयअनुसार) भेटेका छन्। दुई प्रधानमन्त्रीबीचको भेटलाई बहुप्रतीक्षित मानिएको थियो। यसअघि बिम्स्टेक सम्मेलनका क्रममा थाइल्यान्डमा भेट हुने भनिए पनि त्यहाँको आन्तरिक राजनीतिका कारण  सम्मेलन नभएपछि  न्युयोर्कमा भेट जुरेको हो।

दिल्ली र काठमाडौँको दुरी खासै टाढा होइन तर दुई प्रधानमन्त्रीबीच भेटका लागि यसपटक न्युयोर्क चयन भयो त्यो पनि आफ्नो अस्तित्व गुमाउँदै गएको राष्ट्रसंघको क्यान्डेरअन्तर्गतको कुम्भमेला (महासभा) मा। ओली र मोदीबीच करिब ३५ मिनेट कुराकानी भएको सहभागी अधिकारीहरुले जानकारी दिएका छन्। मोदी बसेको लोट्टे न्युयोर्क प्यालेसमा प्रधानमन्त्री ओलीसहितको टोली पुगेको थियो।

ओली र मोदीबीच जनकपुर, दिल्ली र काठमाडौँमा भेट हुँदा जुन प्रकारको खुलस्त छलफल र मुहारमा चमक देखिएको थियो यसपटक त्यस्तो नदेखिएको अधिकारीहरूले बताए। एकले अर्कोलाई शंकाले हेरिरहेको भावमा दक्षिण एसियाका दुई नेताबीच न्युयोर्कमा प्रतिनिधिमण्डल स्तरमा दुईपक्षीय वार्ता भएको थियो।

प्रधानमन्त्री ओलीले भेट्न चाहेको जानकारी पठाउँदा पनि समय निकाल्न गाह्रो हुने बताउँदै आएको भारतीय पक्षले अन्तिम समयमा समय दिएको हो।

नयाँदिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापा र न्युयोर्कमा रहेका स्थायी प्रतिनिधि लोकबहादुर थापाको प्रयासमा भएको भेटलाइ महत्त्वपूर्ण मानिएको छ।

ओली र मोदीको पुरानो सम्बन्ध नियाल्ने हो भने सीधै एकअर्कालाई टेलिफोन गरेर समय मिलाउन सक्ने प्रकारको देखिन्छ तर यसपटकचाहिँ भेट हुन पनि दुवै मिसनको निकै मेहनत परेको  सम्बद्ध अधिकारीहरूले बताएका छन्।

‘प्रधानमन्त्री ओलीसँग भेट भयो। भारत नेपाल सम्बन्ध घनीभूत छ। यस घनिष्टतालाई अझै गति दिनेछौँ,’ मोदीले भेटबारे सामाजिक सञ्जालमा लेखेका छन्, ‘ऊर्जा, प्रविधि र व्यापारमा केन्द्रित हुँदै हाम्रो कुराकानी भयो।’ प्रायः श्री केपी शर्मा ओली लेख्ने मोदीले यसपटक सामाजिक सञ्जालमा श्री लेख्नमात्र होइन शर्मा पनि छुटाएका छन्। यसबाट उनीहरूको भेट बढी औपचारिक र कम खुलापन देखिएको बुझाइ कूटनीतिक मामिलाका जानकारहरूको छ।

चौथो पटक प्रधानमन्त्री बनेका ओली आरम्भमा नै भारत जान चाहन्थे। तर भारतीय सदभाव नपाएपछि उनले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारत पठाएका थिए। उनको भ्रमणलगत्तै ओलीको भारत भ्रमण हुने अनुमान थियो तर त्यसो भएन। जसले गर्दा ओलीले आरम्भदेखि भारतको सद्भाव नपाएको अनुभव गर्दै आएका छन्। त्यही चिर्न पनि ओलीले मोदीलाई भेट्नुपर्ने थियो।

छिमेकी पहिलो भनिरहेका मोदीले न्युयोर्कमा पुगेका छिमेकी प्रधानमन्त्रीलाई नभेट्दा नराम्रो सन्देश जान सक्ने भएकै कारण भेट गरेको अधिकारीहरू बताउँछन्। भेटमा देखिएको औपचारिकताले पनि त्यसलाई पुष्टि गर्ने सहभागी एक अधिकारीले बताए।

असार अन्त्यमा प्रधानमन्त्री भएका ओलीले असोज पहिलो साता मोदीलाई न्युयोर्कमा भेटे। जबकि प्रधानमन्त्री भएलगत्तै भारत र चीन भ्रमण गर्ने गरेको विगत छ। ओली पछिल्लो समय सत्तायात्रामा आउने सम्भावना कम रहेका कारण पनि भारतीय सद्भावप्रति उनले चासो नदिएको हुनसक्ने अधिकारीहरू बताउँछन्।

नेपाल र भारतबीच कैयन् मुद्दाहरू रहे पनि सानासाना कुरामा अल्झिएका ओलीले ठूला कुरा भने राख्न पाएनन्। ओलीले चुच्चे नक्सा जारी गरेका कारण भारतलाई उनीप्रति सद्भाव कायम गर्न गाह्रो परेको छ।

भारतको बुझाइ पहिला दरबार देखाउने कम्युनिस्टले पछिल्लो समय भारत देखाउँदा नेपालमा भारतप्रति नकारात्मक भाव फैलाएको भन्ने छ। यद्यपि भारतले अघोषित रूपमा नाकाबन्दी लगाउँदा ओलीले लिएको अडानलाई राम्रै मानिएको थियो।  पछि चुच्चे नक्सा जारी गर्दा भारतले नेपालमा स्टनबाज राजनीति सुरु भएको भन्दै यसलाई प्रश्रय दिन नहुने निष्कर्ष निकालेको एक भारतीय अधिकारीले जानकारी दिएका थिए।

राजनीतिमा स्टनबाज हुन थालेपछि अन्तर्राष्ट्रिय सम्बन्धमा पनि त्यही प्रभाव रहने हुनाले यसलाई व्यवस्थापन गर्नुपर्ने बुझाइ भारतको छ। भारत हरेक विषय ‘करेक्सन’ गर्न चाहन्छ।

कांग्रेसले मान्दैन भनेर ओलीले चुच्चे नक्सा अघि बढाउँदा त्यही नक्साका कारण ओली भारतीय राजनीतिज्ञको नजरमा फरक चरित्र भएका व्यक्तिमा दरिएका छन्। संसद्बाट सर्वसम्मतिले चुच्चे नक्सा जारीपछि ओली भारतमा अप्रिय पात्रका रुपमा परिचित भएका हुन्।

पछिल्लो समय ओली सरकारमा आउने कुरा पनि थिएन। त्यही कारण उनी मिसन ८४ लिएर एमालेको संगठन विस्तारमा हिँडिरहेका थिए। उनलाई कांग्रेस सभापति शेरबहादुर देउवा दम्पतीले प्रधानमन्त्रीको अफर गरेपछि राजनीति फरक कोर्समा मोडिएको हो। यसरी प्रधानमन्त्री बनेका ओलीले भारतसँग सहज सम्बन्ध भएको देखाउन आवश्यक रहेको कूटनीतिक अधिकारीहरू बताउँछन्।

ओलीका तर्फबाट प्रयास हुँदा पनि भारतीय पक्षले नचाहँदा भेट नहुने हुनाले पनि आइतबार रातिसम्म  भेट हुने या नहुनेमा आशंका थियो। ओलीले मोदीलाई नेपाल भ्रमण बोलाउने र मोदीले पनि ओलीलाई भारत भ्रमणमा बोलाउने विषय रहेको हुँदा त्यसमा छलफल हुने आस थियो।

मोदी तेस्रो पटक प्रधानमन्त्री भएको पनि १०० दिन बितेको छ। मोदी प्रधानमन्त्री भएलगत्तै ओली पनि नेपालमा प्रधानमन्त्री भए। ओलीलाई मोदीले भारत भ्रमणको निम्ता दिएका छैनन्। निम्ताका लागि ओलीबाट निकै पहल भइरहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन्। यद्यपि ओलीले भने मोदीलाई दुई पटक निम्ता गरेका छन्। ओलीले  प्रधानमन्त्री भएर बधाई लिएलगत्तै र आरजुको भारत भ्रमणका क्रममा मोदीलाई औपचारिक रूपमा नेपाल भ्रमणका लागि निम्ता दिएका हुन्।

मोदीले अझै पनि नेपाल आउने विषयमा स्पष्ट धारणा राखेका छैनन्। उनले नेपाल आउने चाहना मात्र व्यक्त गरेका छन्। यद्यपि मोदी निर्वाचनपछि पशुपतिनाथको दर्शनका लागि नेपाल आउने समाचार सार्वजनिक भएको थियो।

‘प्रधानमन्त्री ओलीजीले भारतीय समकक्षी मोदीजीलाई नेपाल भ्रमणमा आउनका लागि निमन्त्रणा गर्नुभएको छ,’ परराष्ट्रमन्त्री आरजुले भनिन्, ‘मोदीजीले पनि चाँडै उपयुक्त समय मिलाएर नेपाल आउनेछु भन्नुभएको छ।’ यसैबाट स्पष्ट हुन्छ सम्बन्धको सकारात्मक र राम्रो वातावरण। परराष्ट्रमन्त्रीले जति भने पनि दिल्लीले ओलीलाई स्वागत गरेर मात्र मोदी नेपाल आउने निश्चित हुनेछ।

ओली र मोदीबीच ईपीजी प्रतिवेदन बुझ्ने विषयमा पनि छलफल भएको सहभागी अधिकारीहरूले बताएकमा छन्। दुवै मुलुकले यसका लागि लगानीसमेत गरेका हुनाले यसको सुझाव केही न केही रूपमा लिन आग्रह गर्ने काम भएको थियो। मोदीले कसको के ब्रिफिङ सुनेर त्यो प्रतिवेदन अहिलेसम्म बुझेका छैनन्।

ओलीले भारतबाट आरजु फर्किएपछि ईपीजीको प्रसंग उठाउन थालेका छन्। ईपीजीमा नेपाल र भारतबीच रहका समग्र दुईपक्षीय विषयहरु संयन्त्र बनाएर सम्बोधन गर्दै जाने उल्लेख छ। मोदीले पनि सबै समस्या संयन्त्रमार्फत सम्बोधन गरेर अघि बढ्ने आश्वासन दिएका छन्।

कतिपय विषय ओलीबाट सुनेका मोदीले सबै प्रस्ताव सम्बोधन गर्दै जानुपर्नेमा जोड दिएको भेटमा सहभागी ती नेपाली अधिकारीले जानकारी दिए। ‘ओलीजीका सबै कुरा सकारात्मक छन्। झिनामसिना कुरामा नअल्झिएर काम गर्न आवश्यक छ। दुई मुलुकबीच समस्या हुँदा कुराकानीबाट हल हुँदै आएका छन्। अब पनि गरौँ। यसमा भारतलाई समस्या छैन’, मोदीको भनाइ उधृत गर्दै ती अधिकारीले भने।

दुई प्रधानमन्त्रीबीच अन्य साझा मुद्दामा भने कुराकानी नभएको ती अधिकारीको भनाइ छ। सार्कका विषयमा पनि कुराकानी भएन। ती अधिकारीका अनुसार मोदीले भनेका थिए, ‘समय निकै बदलिएको छ अब पछि हटेर होइन अघि बढेर समाधान खोज्नुपर्छ। हामी सबैमा अगाडि हेर्ने बानीको विकास हुनुपर्छ।’

जबाफमा ओलीले छिमेक असल र जाती हुनुपर्ने अडान राखेको ती अधिकारीको भनाइ छ। उनले भनेका थिए, ‘नेपालले छुद्र र जाली छिमेकीसँग सम्बन्ध राख्दैन बरु टाढाको असल र जातीसँग सम्बन्ध विकास गर्न सक्छ।’ ओलीले नेपालले छिमेकीसँग थप कुराकानी गरेर आफ्नो प्राथमिकताका काम गर्ने  बताएका थिए।

ओलीले मोदीसँगको भेटमा कुन कुरालाई प्राथमिकता दिए भन्ने स्पष्ट छैन। केही कुरा राम्रै भएको भेटमा सहभागीले बताए। त्यसो त ओली निकै कुटिल राजनीतिज्ञ हुन्। बिहान झगडा गरेको व्यक्तिसँग बेलुका सँगै खान खाने र ठट्टा गर्ने क्षमता उनको छ। जानकारहरूका अनुसार परराष्ट्रमन्त्रीको जिम्मेवारीमा रहँदा पनि ओलीको स्वभाव यस्तै थियो। ओलीले मोदीसँगको भेटमा पनि यस्तै शैली अपनाएको बुझाइ नेपाली अधिकारीहरुको छ।

प्रधानमन्त्री ओलीसँगै रहेका प्रमुख सल्लाहकार विष्णु रिमालले मोदीसँगको भेटवार्ता फलदायी भएको बताए। रिमालका अनुसार दुई प्रधानमन्त्रीबीच नेपाल र भारतको सम्बन्ध, नेपालको राजनीति र भारतको राजनीतिमात्र नभएर विश्वको समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो।

भेट गराउन सक्रिय भूमिका निर्वाह गरेका स्थायी प्रतिनिधि लोकबहादुर थापाले पनि भेट साँच्चै राम्रो र अब्बल बताए।

अमेरिकी कूटनीतिज्ञले भारत र चीनसँग नेपालले राम्रो सम्बन्ध विकास गरेर मुलुकमा फड्को मार्न सक्नुपर्ने सुझाव दिएपछि ओली र मोदीबीच भेट भएको थियो परराष्ट्रका अर्का एक अधिकारीले बताए।

प्रतिनिनिधिमण्डल स्तरमा भेट भएकाले सबैजसो अधिकारी सहभागी थिए। ओली र मोदीको भेटमा के भएछ? भारतले सरकारलाई वास्ता गरेन कि वा के भयो? जस्ता आशंका उब्जिरहेका छन्।

वास्तविकता त्यसभन्दा फरक छ। भारतको छिमेकीसँग राम्रो सम्बन्ध छैन। त्यो सम्बन्ध भारतले सहज रुपमा राख्न सक्छ तर भारत आफैँले छिमेकीसँग राम्रो सम्बन्ध राखेर अघि बढ्न आवश्यक रहेको कूटनीतिक अधिकारीहरू बताउँछन्। भारत राष्ट्रसंको पुनः संरचनाका लागि लबिङ गरिरहेको उदाउँदो मुलुक हो। त्यसैले भारत सानामसिना विषयमा अल्झिने नहुने  पूर्वराजदूतहरुको राय छ।

नेपाली नेताहरुले पनि भारतलाई शक्तिका रुपमा प्रस्तुत गर्ने गरेका कारण दिल्ली एकाएक शक्तिकेन्द्र बनेको छ। प्रधानमन्त्री ओलीले सार्क अध्यक्ष हुन्। उनले मोदीसँग  सार्कका आठै सदस्य मुलुक घुमेर सार्कलाई पुनःजीवन दिन्छु र शिखर सम्मेलनलाई अघि बढाउन भारत पनि अग्रसर हुनुपर्छ जस्ता विषयमा कुरा राख्न सक्नुपर्ने थियो। भेटमा यस्ता विषय नउठेको अधिकारीहरूले बताए।

सार्कको राजधानी काठमाडौँ हो। सार्कमा कार्यरत कर्मचारीले ‘होलिडे’ मनाएजसरी दिन बिताउन थालेको १० वर्ष भइसकेको छ।

खुला बजारका कुरा

खुला बजारमा पुगेको नेपालले भारतबाट अण्डा ल्याउन दिएको छैन। सोही कारण नेपालका गरिब किसानले आफ्ना सन्तानलाई अण्डा खुवाउन सकेका छैनन्। भारतबाट चोरी पैठारी गरेर बिचौलियाले बेचेको विषयमा जानकार हुँदा पनि सरकारले त्यसलाई नियन्त्रण गर्न सकेको छैन।

नेपालमा एउटा अण्डा २० रुपैयाँभन्दा बढी तिर्नुपर्छ। यद्यपि सरकार अण्डामा आत्मनिर्भर रहेको दाबी गर्छ।  त्यस्तै अवस्था दुध र चीजको पनि छ। त्यो सबै प्रतिस्पर्धी  बजारमा लैजान सरकारले किसानलाई अनुदान दिनुपर्ने हो। यस्ता विषयमा नेपालले चासो दिइरहेको छैन।

दुई देशका प्रधानमन्त्रीबीचको भेटमा नागरिकका कुरा कहिल्यै उठ्दैन। यो वा त्यो गर्ने भनेर आश्वासन दिने काममात्र हुन्छ। अहिले पनि त्यही भएको छ। हामीले बजार प्रतिस्पर्धी बनाउने सहकार्य गर्ने, सीमा समस्या भए समाधान खोज्ने हो। सायद मोदीले भन्न खोजेको पनि यही हो। विगत होइन आगाडि हेरेर हिँड्न आवश्यक छ।

प्रकाशित: ८ असोज २०८१ ९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =