बाँके- नेपालगञ्जमा ऐतिहासिक संस्कृतिको रूपमा रहेको रामलीलामा नयाँ पुस्ताको साथ खोज्न थालिएको छ। नयाँ पुस्तालाई रामलीला मञ्चनप्रति आकर्षण बढाउन जिम्मेवारी दिएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए।
‘पहिले युवापुस्ताले रामलीलाका बारेमा त्यति धेरै चासो र चिन्ता गरेका थिएनन्, अहिले आकर्षण र साथ बढ्दै गएको छ’, रामलीला सञ्चालक समितिका उनले भने, ‘हाम्रो निरन्तरको प्रयासले नयाँ पुस्ता पनि रामलीलामा जोडिँदै गएका छन्।’
युवापुस्तालाई रामलीलाको इतिहास र यसको सन्देशका बारेमा अझ धेरै प्रचारप्रसार गरेर संस्कृति संरक्षणमा नयाँ पुस्तालाई पनि साथमा लैजाने योजना रहेको उनले बताए।रामलीला सञ्चालक समितिमा पनि रिक्त स्थानमा युवापुस्तालाई समेट्दै गएको उनको भनाइ छ।
प्रत्येक वर्ष दशैँका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला मञ्चन हुँदै आएको छ। यस वर्ष रामलीलाको एक सय ५७औँ संस्करणको लागि आवश्यक तयारी सुरु गरिएको रामलीला सञ्चालक समितिका अध्यक्ष कनोडियाले जानकारी दिए।
‘विगत वर्षहरूमा जस्तै यो वर्ष पनि रामीलला महोत्सव सञ्चालन गर्ने तयारी गरेका छौँ’, उनले भने, ‘रामलीला मञ्चनका लागि भारतको वृन्दावनका कलाकारलाई आग्रह गरिसकेका छौँ।’
रामलीला मञ्चनका लागि बर्सेनि लाखौँ खर्च गरेर भारतबाट कलाकार ल्याइन्छ। नेपालमै कलाकार उत्पादन गर्ने प्रयास गरिए पनि सफल हुन नसकेको रामलीला सञ्चालक समितिका अध्यक्ष कनोडियाले बताए।
नेपालमै कलाकार उत्पादन गर्न तालिम सञ्चालन गर्ने सोच बनाएको उनले उल्लेख गरे। एउटा आयोजनामा कम्तीमा १५ लाख खर्च हुने गर्छ। अध्यक्ष कनोडियाले समुदायस्तरबाट डेढ सय वर्षदेखिको यस अद्भूत कलालाई निरन्तरता दिन भइरहेको प्रयास चुनौतीपूर्ण रहेको बताए।
‘शतप्रतिशत समुदायको सहयोगबाट चलेको छ। नितान्त समुदायको अग्रसरतामा यहाँसम्म आइपुगेको यो ऐतिहासिक विरासतलाई निरन्तरता दिन र जीवन्त राख्न स्थानीय कलाकार उत्पादनलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढ्न स्थानीय सरकारको सहयोग आवश्यक देखिन्छ’, कनोडियाले भने।
एक सय ५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको एक सय ५३ र एक सय ५४औँ वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण स्थगन गरिएको थियो।
सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दशैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ः०० देखि १२ः०० बजेसम्म रामलीला मञ्चन गरिन्छ।
नेपालगञ्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको सङ्ख्यामा मध्यरातसम्म सहभागी हुने गर्दछन्। धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ।
यसक्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको उनको भनाइ छ। सञ्चालक समितिका अध्यक्ष कनोडियाका अनुसार विश्वनाथ टण्डन, बद्रीनाथ टण्डन, पाटनदिन गुप्ता, जगदीशप्रसाद वैश्य, पन्नालाल गुप्ता, जयेन्द टण्डन, भाइलाल हल्वाईलगायतले नेपालगञ्जमा रामलीला महोत्सव सुरु गरेका थिए।
नेपालगञ्जको परम्परालाई जोगाइराख्न सहयोग संकलन गरेर रामलीला महोत्सव गर्दै आएको स्थानीय अगुवा द्वारिकाप्रसाद वैश्यले बताए। विसं १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुँदै आएको यो कला नेपालीभन्दा बढी सीमावर्ती भारतीयहरूबीच लोकप्रिय छ।