संविधान संशोधनको एजेन्डा सरकार परिवर्तनको बहाना मात्रै हो : प्रचण्ड

हिमाल प्रेस ७ असोज २०८१ १९:३८
8
SHARES
संविधान संशोधनको एजेन्डा सरकार परिवर्तनको बहाना मात्रै हो : प्रचण्ड

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा (एमाले)ले संविधान संशोधनलाई एजेन्डाको रुपमा नभई सरकार परिवर्तनको बहानाको रुपमा उठाएकाले यसप्रति उनीहरू गम्भीर नभएको आरोप लगाएका छन्।

संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो-इकोनोमिक रिसर्च (आईएसएसआर)को संयुक्त आयोजनामा आज (सोमबार) यहाँ भएको ‘संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता’ विषयक अन्तरक्रियामा उनले जनताको अधिकार सम्बोधन गर्ने गरी संविधान संशोधन हुनुपर्ने बताएका हुन्।

‘नयाँ गठबन्धन बनाउनुभन्दा दुई चार दिनअघिसम्म उहाँहरूले औपचारिकरूपमा कतै संविधान संशोधनको आवश्यकतामाथि छलफल गर्नुभएको थिएन,’ अध्यक्ष दाहालले भने, ‘त्यसैले यो उहाँहरूको एजेण्डा होइन, कथा र बहाना मात्रै हो। सरकार परिवर्तनको हतियार मात्रै बनाइएको हो भन्ने प्रष्ट छ।’

वर्तमान संविधान शान्ति सम्झौताको अंग भएकाले शान्ति सम्झौताको हस्ताक्षरकर्ता दल र नेतासँग नै लुकाएर संविधान संशोधनको सहमति गर्नुको कुनै राजनीतिक अर्थ नभएको पनि उनले स्पष्ट गरे। ‘कांग्रेस एमालेका नेताले आफ्नै पार्टीसँग पनि लुकाएर सम्झौता गर्नुभयो, जनतालाई पनि लुकाएर राखियो तर जनताले सम्झौता देखाउन चुनौती दिन थालेपछि प्रधानमन्त्रीले संसद्मा पढेर त सुनाउनुभयो तर त्यो पनि सक्कली हो कि नक्कली, अझै हस्ताक्षर देखिएको छैन,’ उनले भने। कथा र बहाना नभई एजेण्डाका हिसाबले अघि सार्ने हो भने संविधान संशोधन आवश्यक रहेको तर त्योभन्दा अघि कार्यान्वयनमा जोड दिनुपर्ने उनको कथन छ ।

‘सबैभन्दा पहिले कार्यान्वयन गर्नतिर जोड दिनुपर्छ र कार्यान्वयनमा समस्या आए, कुनकुन विषयमा फेर्नुपर्ने हो, त्यसको निर्क्योल गरेर मात्रै संविधानको समीक्षा गर्न सकिन्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘तर संविधान जसरी पनि कार्यान्वयन गर्नेतिर होइन, कमजोर बनाउनेतिर राजनीतिक नेतृत्वको माइन्डसेट बनेको छ। संविधान बनाउँदा माओवादी एजेण्डा स्वीकार गरिदिएको रुपमा लिएका नेताहरूले अहिले कार्यान्वयनमा पनि इमान्दारिता देखाएका छैनन्। कार्यान्वयन नगर्ने तर संशोधन मात्रै भनेर औचित्यपूर्ण हुँदैन।’

प्रकाशित: ७ असोज २०८१ १९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + two =