कृषिलाई प्रतिस्पर्धात्मक बनाउन सरकार लागेको छ : मन्त्री अधिकारी

हिमाल प्रेस ७ असोज २०८१ १७:२९
8
SHARES
कृषिलाई प्रतिस्पर्धात्मक बनाउन सरकार लागेको छ : मन्त्री अधिकारी

काठमाडौँ- कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले निर्वाहमुखी कृषिलाई दिगो, उद्यमशील र प्रतिस्पर्धात्मक बनाउन सरकार लागिपरेको बताएका छन्।

ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजी, कृषिमा प्रत्यक्ष वित्तीय लगानी परियोजनाको आज शुभारम्भ गर्दै उनले दुई तिहाइ ग्रामीण जनताको जीविकोपार्जनको माध्यम कृषि रहेकाले यसको आधुनिकीकरण जरूरी रहेको बताए।

कुल गार्हस्थ उत्पादन (जिडिपी)मा लगभग २४ दलशमलव पाँच प्रतिशत योगदान कृषि क्षेत्रले पुर्‍याएको चर्चा गर्दै मन्त्री अधिकारीले भने, “कृषिमा उच्च लागत, कम उत्पादकत्व, मानव श्रममा आधारित, गुणस्तरीय कृषि सामग्री (बीउ, मल, सिँचाइ, यन्त्र)मा सीमित पहुँच र अव्यवस्थित बजारले बाधा पुर्‍याइरहेको छ।”

किसान र उद्यमीले कृषि ऋण र सरकारी सहयोग सहज रूपमा पाउन नसकेको गुनासा आइरहेकाले त्यसलाई सहज, सरल र छिटोछरितो बनाउन सरकार लागिपरेको उनले बताए।

मन्त्री अधिकारीले जलवायु परिवर्तनको असर र प्रभाव कृषि क्षेत्रमा देखिन थालेकाले विश्व नै यस क्षेत्रमा संवेदनशील हुनुपर्ने बेला आएको उल्लेख गरे। ‘यस्तो अवस्थामा कृषि क्षेत्रलाई व्यावसायिकीकरण र औद्योगिकीकरणतर्फ अग्रसर गराउन सरकारी, निजी, सहकारी र विकास साझेदारको समन्वयात्मक प्रयास आवश्यक छ। विकास साझेदार, निजी क्षेत्र, सहकारी र किसानका नवप्रवद्र्धनशील विचार, अनुभव र स्रोतका लागि सरकार हातेमालो गरेर अघि बढ्न तयार छ’, उनले भने।

सरकारले कृषिमा लगानी दशक घोषणा गरेर काम गरिरहेकाले लगानी बढाउन र युवा पुस्तालाई आकर्षित गर्न आवश्यक कानुन संशोधनको तयारी भइरहेको पनि मन्त्री अधिकारीले जानकारी दिए।

उनले ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजीले कृषिमा आधारित आर्थिक विकासलाई प्रोत्साहन गर्ने, उद्यमशील कृषिलाई मजबुत बनाउने, खाद्य र पोषण सुरक्षामा सुधार गर्ने, गरिबी घटाउने र निजी क्षेत्रको लगानी बढाउने नीति बनाउन मद्दत पुग्ने विश्वस व्यक्त गरे।

प्रकाशित: ७ असोज २०८१ १७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 1 =