
काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालजस्ता विकासोन्मुख मुलुकमा साना र मझौला उद्यमहरू अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेकाले लगानी बढाउन र निर्यात बजारमा थप सहुलियतका लागि आह्वान गरेका छन्।
एसियाली व्यापार प्रवर्द्धन फोरम एटीपीएफको थाइल्यान्डको राजधानी बैंककमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले समावेशी समृद्धि, एसियाली व्यापार अर्थतन्त्रमा एसएमईको सशक्तीकरणका मुद्दामा साझा आर्थिक दृष्टिकोणका लागि पनि आग्रह गरे।
नेपालमा साना तथा मझौला उद्योगहरूले जीडीपीको लगभग २२ प्रतिशत योगदान गर्ने भएकाले सो क्षेत्रको विकास तथा प्रवर्द्धनमा अन्तरक्षेत्रीय साझेदारीको महत्त्व रहेको अध्यक्ष ढकालको भनाइ थियो। साना तथा मझौला उद्योगलाई क्रियटिभ इकोनोमी ठिकसँग जोडेर विकास तथा प्रवर्धनमा जोड दिन थालिएकाले लगानी तथा बजारका सम्भावनाहरू बढेको तर्फ पनि अध्यक्ष ढकालले एसियाली लगानीकर्ताहरूको ध्यानाकर्षण गराए।
नेपालको निर्यात व्यापारमा हातले बुनेका गलैँचा, थांका, चित्रकला र परम्परागत संगीतका वाद्य यन्त्रहरूको उल्लेख्य हिस्सा रहेकाले सांस्कृतिक उद्योगहरूमा लगानी गरेर समावेशी समृद्धिमा योगदान गर्न पनि अध्यक्ष ढकालले आग्रह गरेका छन्। बढ्दो पर्यटन बजारलाई लक्षित गरी होटल, थिम पार्क, केबलकारलगायतका पर्यटन पूर्वाधारमा लगानी खोजिरहेकाले साझेदारीका लागि पनि उनले लगानीकर्ताहरूको ध्यानाकर्षण गराए।