विज्ञान, गणित र अंग्रेजी शिक्षकको अभाव झेल्दै सामुदायिक स्कुल

रमेश दवाडी ७ असोज २०८१ १९:२०
1.3k
SHARES
विज्ञान, गणित र अंग्रेजी शिक्षकको अभाव झेल्दै सामुदायिक स्कुल

काठमाडौँ- सामुदायिक विद्यालयमा विज्ञान, गणित र अंग्रेजी विषयका शिक्षक हुँदा पठनपाठमा अवरुद्ध भएको छ। शिक्षक पदपूर्तिका लागि विद्यालयले पटकपटक विज्ञापन खुलाए पनि आवेदन नपरेपछि पठनपाठनमा समस्या उत्पन्रन भएको सम्बद्ध विद्यालयका प्रधानाध्यापकहरूले बताएका छन्।

गणित, विज्ञान र अंग्रेजी मूल विषय पढेका जनशक्तिले शिक्षण पेसामा अरुचि देखाएपछि शिक्षक अभाव भएको हो। गणित र विज्ञान पढेका जनशक्ति विज्ञानमै उच्चशिक्षा लिएर अन्य पेसामा संलग्न हुने गरेका छन् भने अंग्रेजी मूल विषय पढेका जनशक्तिको रोजाइ शिक्षणभन्दा अन्तै हुने गरेको छ।

शिक्षक सेवा आयोगले लिने माध्यमिक र निम्नमाध्यमिक तहको शिक्षकको परीक्षामा  यी तीन विषयमा अन्य विषयमा भन्दा कम प्रतिस्पर्धा  हुन्छ। आयोगले वर्षमा एकपटक विज्ञापन गर्दै आएको छ। कुनै शिक्षक अवकाश भएपछि विद्यालयहरुले तत्कालका लागि करारमा शिक्षक नियुक्ति गरेर पठनपाठन प्रक्रिया कायम राख्ने चलन छ। विद्यालयहरूले करारमा शिक्षक भर्ना गर्न नपाएका हुन्।

नवलपुरको नगरडाँडा माध्यमिक विद्यालयले असोज ४ गते विज्ञान विषयका लागि तेस्रोपटक विज्ञापन खुलायो तर आवेदन परेन। विद्यालयका प्रधानाध्यापक मानबहादुर बरालले एक वर्षअगाडिदेखि विज्ञान विषय शिक्षक अभाव भएकाे जानकारी दिए।

तेस्राेपटक आवेदन माग गर्दा एक जनाकाे मात्र दरखास्त परेकाे बताए। त्यसबाट शिक्षक पूर्ति हुने नहुने यसै भन्न सकिने अवस्था छैन।  उनकाे भनाइमा विज्ञान विषय अध्यापनका लागि विद्यालयमा भएका अन्य शिक्षकबाट काम चलाउनुपरेकाे छ।

बरालले टेलिफोनमा हिमालप्रेससँग भने, ‘हामीकहाँ विज्ञान विषय शिक्षक एक वर्षदेखि अभाव भएकाे हाे। विद्यालयकै अन्य शिक्षकबाट अध्यापन गराइरहेका छाैँ। विज्ञान शिक्षक चाहियाे भनेर विज्ञापन खुलाउँदा एकजनाकाे मात्र आवेदन परेकाे छ। आवेदन अध्ययन भइरहेकाे छ। नियुक्ति हुने नहुने यसै भन्न सकिने अवस्था छैन।’

विज्ञान, गणित, अंग्रेजी पढेका मानिसहरू शिक्षण पेसाप्रति आकर्षित नहुँदा विषय शिक्षक पाउन गाह्रो भएको प्रधानाध्यापक बरालको गुनासो छ।  उनले कक्षा ११ र १२ मा विज्ञान संकाय अनिवार्य नहुँदा पनि विद्यालयमा शिक्षक पाउन नसकिएको तर्क गरे।

बरालले भने, ‘विज्ञान, गणित, अंग्रेजी पढेका मानिसहरूको शिक्षण पेसामा आकर्षण छैन। कक्षा ११ र १२ विज्ञान विषयमा अनिवार्य छैन। भौगोलिक दूरीका कारण पनि विषयगत शिक्षक पाउन सकिएको छैन। विषयगत शिक्षक नहुँदा पठनपाठनमा गाह्रो त भइहाल्छ।’

असोज ४ गते मध्यविन्दु नगरपालिका-३ डटौरास्थित जनता माध्यमिक विद्यालय नन्दभाउजूले मावि गणित विषयका लागि तेस्रोपटक विज्ञापन खुलायो। आवेदन परेन। जनता माध्यमिकका प्रधानाध्यापक सुनकुमारी महताेले शिक्षक नहुँदा तल्लाे तहका शिक्षकबाटै काम चलाउनुपरेकाे बताइन्। उनले भनिन्, ‘हाम्राे विद्यालयमा मावि गणित विषयका लागि शिक्षक आह्वान गरेका छाैँ। तेस्राेपटक भइसक्याे। शिक्षक नियुक्ति गर्न सकेका छैनाै‌ँ। विषयगत शिक्षक अभाव हुँदा तल्लो तहमा अध्यापन गराउने शिक्षकबाटै काम चलाइरहेका छौँ।’

त्यस्तै तनहुँको बन्दीपुर गाउँपालिका-६ हुस्लाङस्थित अरुण माध्यमिक विद्यालयले माध्यमिक तहमा विज्ञान शिक्षकको चौथोपटक विज्ञापन गर्‍यो। कसैले आवेदन दिएनन्। पटकपटक विज्ञापन गर्दा पनि आवेदन नपरेका कारण विद्यार्थीको पढाइ नियमित बन्न नसकेको विद्यालयले जनाएको छ।

विषयगत शिक्षक अभाव हुँदा  एसईई नतिजामा समेत असर परेको प्रधानाध्यापकहरू बताउँछन्र। राष्ट्रिय परीक्षा बोर्डले गत असार १३ गते सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा सहभागीमध्ये ४७.८६ प्रतिशत अर्थात् दुई लाख २२ हजार ४७२ जना मात्र पास भएका छन्।

नतिजाअनुसार सबैभन्दा धेरै गणित विषयमा एक लाख ७७ हजार ८५ विद्यार्थी अनुत्तीर्ण भएका छन्। एक लाख २६ हजार विज्ञानमा र एक लाख १६ हजार अंग्रेजी विषयमा फेल छ्न्।

मूल विषयमा निराशाजनक नतिजाले विद्यालय शिक्षामा सरकारको नारा, लगानी र सिकाइ विधिमा प्रश्न मात्र उठेको छैन शिक्षकको अभाव, विद्यार्थीको सिकाइ उपलब्धि कमजोर र शिक्षकको मिहिनेत पनि नपुगेको देखाएको छ।

विज्ञान र गणित विषयमा विद्यार्थी कम उत्तीर्ण हुनु विषयगत शिक्षक अभाव भएको बताउँछन् कपिलवस्तुको वाणगंगास्थित जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भण्डारी।

उनी विज्ञान र गणित विषयका शिक्षक हुन्। अधिकांश विद्यालयमा विज्ञान र गणित शिक्षक अभाव हुनुको कारण उपयुक्त शैक्षिक नीति नभएकाे उनकाे बुझाइ छ। उनले माथिल्लाे तहमा शिक्षा संकाय अध्ययन गरेकालाई मात्र परीक्षाबाट शिक्षक लाइसेन्स दिने नीति हुँदा त्यसकाे असर नतिजामा देखिएको बताए।

भण्डारीले हिमालप्रेसको कुराकानीमा भने, ‘विज्ञान, गणित विषय पढेका मानिसहरू विद्यालयमा उक्त विषय पढाउन चाहँदैनन्। उनीहरूलाई शिक्षक लाइसेन्सको व्यवस्था छैन। बीएस्सी पढेर, अध्यापन अनुमतिपत्रका लागि परीक्षा दिएर शिक्षण पेसामा जानेको संख्या कम छ। विज्ञान, गणित पढेकाहरूको शिक्षामा आकर्षण नहुँदा समस्या आएको हो। गोल्डमेडलिस्टहरूलाई शिक्षक लाइसेन्सको व्यवस्था गर्नुपर्छ। विज्ञान, गणित विषय पढाउनेहरूको तलब पनि बढाउनुपर्छ।’

देशभरका ३६ हजार विद्यालयमा माध्यमिक तहमा पढाउने विज्ञान शिक्षकको संख्या कम छ। विज्ञानमा १२ पास गरेका युवा बीएस्सी पढ्न कोही सहर पस्छन् त कोही विदेश जाने गरेका छन्। विदेश गएकाहरू प्राय: फर्कँदैनन्।

भण्डारीले शिक्षण सिकाइका तौरतरिका नमिल्दा विद्यार्थी कम उत्तीर्ण भएको बताए। उनले भने, ‘विज्ञान विषय पढेर, पढाएर भन्दा पनि क्रियाकलापबाट सिक्ने विषय हो। प्राक्टिकलबिना यो विषय बुझ्न सकिँदैन। विज्ञान भाषा विषय होइन। याद गरेर हुँदैन। प्रयोग गरेर मात्रै सिक्ने सिकाउने गर्नुपर्छ।’

उनले विज्ञान, गणित विषय अध्ययन अध्यापनका लागि सरकारले नै ध्यान दिनुपर्ने बताए। उनले भने, ‘विज्ञान प्रयोगशालाका लागि सरकारले साढे ६ हजार रुपैयाँ बजेट दिने गरेको छ। यो पर्याप्त छैन। सरकारले प्रत्येक विद्यालयमा विज्ञान प्रयोगशालाका लागि बजेट बढाउनुपर्छ।’

प्रधानाध्यापक भण्डारीले गणित विषय पनि व्यावहारिक रुपमा कक्षा शिक्षण गर्नुपर्ने बताए। अफ्ठ्यारो होइन सजिलो छ भनेर सिकाउँदा विद्यार्थीले सजिलै बुझ्ने उनले आफ्नो अनुभव सुनाए। भण्डारीले भने, ‘वर्गाकार, आयतकारका विषयमा पढाउँदा हामीले कक्षाकोठाकै उदाहरण किन नदिने? रटाउने भन्दा पनि विद्यार्थीले बुझ्ने गरी आधारभूत कुरा सिकाउनुपर्छ। आधारभूत कुरा नै नजानेको विद्यार्थीलाई ठूला कुरा सिकाउन उसले नबुझ्न सक्छ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी सुरेशकुमार जोशीले सामुदायिक विद्यालयमा विषयगत शिक्षक अभावबारे केन्द्रले सहजीकरण गरिरहेको जानकारी दिए।

विद्यालय पाँच सात पटक विज्ञापन गर्दा कसैको आवेदन नपर्नुको कारण भौगोलिक, तलब, सेवासुविधाका हुन सक्ने जोशीले बताए। उनले भने, ‘गणित, अंग्रेजी, विज्ञानको शिक्षक अभाव छ भन्ने देखिएकै छ। विज्ञान खुलाउँदा आवेदन दिए कि दिएनन् भन्ने बुझ्नैपर्ने हुन्छ। यसका विभिन्न कारण हुनसक्छन्। भौगोलिक कारणले विद्यालय टाढा भएर हुनसक्छ। मानिस पायक पर्ने ठाउँमा बस्न चाहन्छ। विषय शिक्षकको तलब सेवासुविधाको कुरा आउला।’

निर्देशक जोशीले प्राविधिक धारका विषयमा पनि शिक्षक अभाव भएको जानकारी दिए। शिक्षक पदपूर्ति सम्बन्धित पालिकाले नै गर्ने हुँदा नीति, मापदण्डअनुसार मानवस्रोतले पनि सहजीकरण बताए। उनले भने, ‘बाधाअड्काउ फुकाउन मानवस्रोतले पनि सहयोग गर्छ। सहजीकरण गरेर विज्ञापनमा जानुस् भन्न सक्छौं।’

सरकारकाे लगानी पुगेन : बालचन्द्र लुइँटेल, शिक्षाविद्

हामीले माग र पूर्तिलाई हेरेनौँ। पहिला पूर्तिलाई जोड दियौँ। धेरै शिक्षक उत्पादन गर्ने भन्यौँ। गुणस्तरमा ध्यान दिएनौँ। त्यसो हुँदा योग्य मानिस शिक्षक हुन आएनन्। बीचको समय त्यसरी गुज्रियो। विज्ञान, गणित, अंग्रेजी शिक्षकका लागि कसैले मेहनत गरेनन्। न विश्वविद्यालयले न सरकारले मेहनत गरेको छ। खासमा खाडलचाहिँ त्यसरी परेको हो।

यो अहिलेको होइन, २०/३० वर्षदेखिको खाडल हो। यसलाई पुर्न गर्न सरकार र विश्वविद्यालयले काम गर्नुपर्छ। विज्ञान, गणित पढ्ने मान्छे नै कम छन् अहिले। बजारमा मानिस छैनन। भएका जनशक्ति शिक्षक बन्न चाहँदैनन्। सरकारले शिक्षामा बढी लगानी गरेर योग्य मानिस ल्याउनुपर्छ। शिक्षणलाई आकर्षको पेसा बनाउनुपर्छ। विश्वविद्यालयले पाठ्यक्रम  सुधार गर्नुपर्छ।

प्रकाशित: ७ असोज २०८१ १९:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast