श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा निर्वाचित

हिमाल प्रेस ६ असोज २०८१ २०:३२
34
SHARES
श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा निर्वाचित श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमार दिशानायके

काठमाडौँ- श्रीलंकाको ९ औँ राष्ट्रपतिमा वामपन्थी दल जनता विमुक्ति पेरामुना (जेभीपी) का नेता अनुरा कुमार दिशानायके निर्वाचित भएका छन्। पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतगणनाबाट अनुरा राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

अनुराले ५७ लाख ४० हजार १७९ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी प्रेमदासाले ४५ लाख ३० हजार ९०२ मत प्राप्त गरे।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको मतगणनाको घोषणा गरिएको थियो। श्रीलंकाको राष्ट्रपतीय निर्वाचनको इतिहासमा दोस्रो चरणको मतगणना भएको यो पहिलोपटक हो। चुनावको क्रममा मतदातालाई आफ्नो रोजाइअनुसार तीन जना उम्मेदवार छान्न भनिएको थियो।

चुनाव आयोगले अनुरा कुमारा दिसानायके र सजीथ प्रेमदासाबाहेक अरू सबै उम्मेदवार चुनावको दौडबाट बाहिरिएको जनाएको थियो। प्रेदासालाई पछाडि पार्दै अनुरा श्रीलंकाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन्। चुनावमा बहालवाला राष्ट्रपति रानिल बिक्रमसिंघेले पनि प्रतिस्पर्धा गरेका थिए। मतपरिणामअनुसार उनी तेस्रो भए।

चुनावी अभियाका क्रममा अनुराले मतदातामाझ भ्रष्टाचारविरूद्ध कडा कदम उठाउने प्रतिबद्धता जनाएका थिए। उनले साेमबार राष्ट्रपति पदकाे सपथ लिने बताइएकाे छ। श्रीलंका सरकारले साेमबार देशमा ‘विशेष बिदा’ काे घाेषणा गरेकाे छ। त्यहाँकाे सामान्य प्रशासन एवं गृह मन्त्रालयले साेमबार सार्वजनिक बिदा दिने घाेषणा गरेकाे स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सन् २०२२ मा भएको विरोध प्रदर्शनपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजपक्षे पदबाट राजीनामा दिएर देश छाडेका थिए। चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा राजपक्षेले राजीनामा दिएपछि संसदले विक्रमसिंघेलाई राष्ट्रपतिमा निर्वाचित गरेको थियो।

श्रीलंंकामा निर्वाचन कानुनअनुसार कुनै पनि उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने हुन्छ। सन् १९८२ देखि अहिलेसम्म भएका आठ राष्ट्रपति निर्वाचनमा पहिलो चरणकै मतगणनाबाट निर्णय भएको छ। योपालिको चुनावलाई श्रीलंकाको इतिहासमा सबैभन्दा बढी प्रतिस्पर्धात्मक चुनाव भनिएको थियो।

श्रीलंकामा १ करोड ७० लाख मतदाता छन्। त्यहाँको निर्वाचन आयोगले योपालिको चुनाव इतिहासकै सबैभन्दा बढी शान्तिपूर्ण ढंगबाट सम्पन्न भएको दाबी गरेको छ। श्रीलंकामा दुई वर्षअघि अर्थव्यवस्था धरमराएपछि सरकारविरूद्ध उग्र प्रदर्शनहरू भएका थिए। तत्कालीन राष्ट्रपति राजपक्षेले प्रदर्शनकाबीच राजीनामा दिएपछि शनिबार पहिलोपटक राष्ट्रपतीय निर्वाचन भएको हो।

श्रीलंकाको राष्ट्रपतिका लागि ३८ जना उम्मेदवार चुनावी प्रतिपस्पर्धामा उत्रिएका थिए।

प्रकाशित: ६ असोज २०८१ २०:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − five =