१३ गतेदेखि अग्रिम टिकट बुकिङ, व्यवसायी भन्छन् : पहिला सडक बनाऊ

हिमाल प्रेस ६ असोज २०८१ १४:२२
14
SHARES
१३ गतेदेखि अग्रिम टिकट बुकिङ, व्यवसायी भन्छन् : पहिला सडक बनाऊ

काठमाडौँ- सार्वजनिक यातायातमा चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ असोज १३ गतेदेखि खुल्ने भएको छ।  यातायात व्यवस्था विभाग र सरोकारवालहरुबीच भएको छलफलमा १३ गदेखि अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिए।

शनिबार भएको छलफलमा सरकारी अधिकारीहरूले दसैँ, तिहार तथा छठलक्षित अग्रिम टिकट खुलाउन व्यवसायीलाई आग्रह गरेका थिए। पनेरूले भने, ‘शनिबार बसेको बैठकमा १३ असोजभित्र बुकिङ खुला गर्ने सहमति भएको छ।’ सरकारको निर्णयले मात्रै यातायातको अग्रिम टिकट बुकिङ खुल्दैन। यसका लागि व्यवसायी र ट्राफिक प्रहरीको पनि सहयोग चाहिन्छ। पनेरूका अनुसार सबै पक्षसँग छलफल गरेर अग्रिम टिकट बुकिङ खुलाउन लागिएको हो।

विगतमा सरकारले असोज पहिलो साता नै अग्रिम टिकट बुकिङ खुलाउँथ्यो। नेपालीको ठूलो चाड दसैँ सुरु हुन १० दिन बाँकी छ। यसपटक दसैँको घटनस्थापना १७ गते परेको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने भत्किएका सडक मर्मत नगरी अग्रिम टिकट बुकिङ गर्न नहुने अडान राखेको छ। महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सडकको अवस्थाबारे ध्यान नदिई सरकारले अग्रिम टिकट बुकिङ खुलाउन दबाब दिइरहेको बताए।

‘जीर्ण सडकका कारण हरेक वर्ष चाडबाडका बेला नागरिकले कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ। समयमा घर नपुगेपछि यातायात व्यवसायीलाई सेवाग्राहीले दोष देखाउँछन्। सरकारले बिग्रिएको बाटो बनाउन चासो दिँदैन’, उनले भने।

सिटौलाका अनुसार काठमाडौँ वरिपरिकै सडकको अवस्था खराब छ। उनले भने, ‘लामो दुरीका सवारीसाधनका लागि सडक व्यवस्थित चाहिन्छ, अहिले कत्तैको सडक व्यवस्थित छैन।’ जसका कारण दुर्घटनाको जोखिम रहेको उनी बताउँछन्।

‘राजमार्गमै चार घण्टाको सडक छिचोल्न १० घण्टासम्म लाग्छ। उपत्यका भित्रिने सडककै अवस्था यस्तो छ’, उनी भन्छन्। यसैगरी व्यवसायीले भाडा दर समायोजन गर्न पनि माग गरेका छन्। सिटौलाका अनुसार इन्धनको मूल्य पाँच प्रतिशतभन्दा बढी घटबढ हुँदा गरिने गरिएको वैज्ञानिक भाडा समायोजन एक वर्षदेखि हुन सकेको छैन। यसलाई पनि कार्यान्वयन गर्नुपर्ने माग व्यवसायीको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र ट्राफिक प्रहरीबीच अग्रिम टिकट बुकिङ खुलाउने विषयमा पटकपटक छलफल गरिरहेको विभागका प्रवक्ता पनेरूले बताए।

उनले भने, ‘बिग्रिएको सडकका बारेमा व्यवसायीले विरोध गर्नुभएको छ। हामीले भत्किएको सडक तत्काल मर्मत गर्ने वचन दिएका छौँ।’ यसैगरी प्रवक्ता पनेरूले वैज्ञानिक भाडा समायोजन हुने बताए। उनका अनुसार दसैँ-तिहारपछि मात्रै नयाँ भाडादर लागू हुनेछ।

विगतमा जस्तो यात्रामा सास्ती र समस्या नहोस् भनेर यसपटक स्थानीय तहको सहयोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अनुगमन गर्ने भएको छ।

विभागले चाडबाडलाई लक्षित गरी निर्माण कार्य भइरहेका ठाउँका मुख्य अवरोध हटाउन र मर्मतको काम गर्ने प्रतिबद्धतासमेत जनाएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले शनिबार सडक विभागअन्तर्गतका सबै सडक घटस्थापनाअघि नै मर्मतसम्भार गर्न विभागलाई निर्देशन दिएका छन्।

प्रकाशित: ६ असोज २०८१ १४:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 14 =