आदिवासी ज्ञानले बाढीसम्बन्धी पूर्वसूचना दिन सकिन्छ : पर्यटनमन्त्री पाण्डे

हिमाल प्रेस ६ असोज २०८१ १३:४०
4
SHARES
आदिवासी ज्ञानले बाढीसम्बन्धी पूर्वसूचना दिन सकिन्छ : पर्यटनमन्त्री पाण्डे बद्री पाण्डे

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण बाढी, डढेलो, खडेरी तथा समुद्र सतह वृद्धिजस्ता प्राकृतिक प्रकोप बढिरहेका बेला भौतिक तथा अभौतिक सांस्कृतिक सम्पदाले तिनको सामना गर्न शक्ति, एकता र सहनशीलता प्रदान गर्ने गरेको बताएका छन्।

त्रिभुवन विश्वविद्यालयको संस्कृति विभाग, युनेस्को, एशिया प्रशान्त क्षेत्रको उच्च शिक्षा सञ्जाललगायतका संस्थाले आज राजधानीमा संयुक्त रुपमा आयोजना गरेको प्रकोप र जलवायु परिवर्तनको सन्दर्भमा ‘समुदायको सहनशीलता निर्माणमा अमूर्त सांस्कृतिक सम्पदा’को भूमिका विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन मन्तव्यका क्रममा उनले परम्परागत ज्ञानलाई आधुनिक विज्ञानसँग एकीकृत गरेर पूर्वतयारी, न्यूनीकरण र अनुकूलनका रणनीति विकास गर्न सकिने बताए।

उनले बाढीको अवस्थाबारे आदिवासी ज्ञानलाई भू–उपग्रह प्रविधिसँग जोडेर ‘सटिक’ रुपमा पूर्वसूचना प्रदान गर्न सकिने बताए।

मन्त्री पाण्डेले अहिलेको विश्व गम्भीर रूपान्तरणको अवस्थामा रहेको र जलवायु परिवर्तन अब कुनै टाढाको खतरा नभई वर्तमान अवस्थाको वास्तविकता भएको उल्लेख गर्दै यसबाट समाजले बारम्बार बाढी, डढेलो, खडेरी र समुद्र सतह वृद्धिजस्ता प्रकोप झेल्नु परिरहेको र संवेदनशील क्षेत्रका समुदाय यी जोखिमको अग्रभागमा रहेको बताए।

मन्त्री पाण्डेले भने, ‘यसले हामीलाई संसारलाई कसरी हेरिरहेका छौँ, प्रकृतिसँग कसरी अन्तरक्रिया गरिरेका छौँ र संकटमा हामी कसरी प्रतिक्रिया दिन्छौँ भन्ने कुरा निर्धारण गर्ने छ, प्रकोप र जलवायु परिवर्तनका सन्दर्भमा यी सम्पदा हाम्रा लागि अझ बढी मूल्यवान् छन्।’

उनले संसारभरका मानिसले आफ्नो वातावरणमा अनुकूलन गर्नका लागि शताब्दीयौँदेखि जटिल ज्ञान र अभ्यासका प्रणाली विकास गरेको उल्लेख गर्दै कृषि कर्मका बेला गरिने पूजापाठ वा अनुष्ठान तथा प्रकृतिको चक्रसँग तालमेल गरी बाली लगाउने परम्परा यसको उदाहरण रहेको बताए।

प्रकाशित: ६ असोज २०८१ १३:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =