ह्यारिसका पक्षमा ओप्रा, स्विफ्ट र क्लुनी : के सेलिब्रिटीको अनुमोदनले अमेरिकी चुनावमा फरक पर्छ?

हिमाल प्रेस ६ असोज २०८१ ११:२६
6
SHARES
ह्यारिसका पक्षमा ओप्रा, स्विफ्ट र क्लुनी : के सेलिब्रिटीको अनुमोदनले अमेरिकी चुनावमा फरक पर्छ?

काठमाडौँ- अमेरिकी राष्ट्रपति निर्वाचनकी उम्मेदवार कमला ह्यारिस बिहीबार राति मिसिगनमा थिइन्। सहरको सभागृहमा भएको कार्यक्रममा उनलाई साथ दिन ओप्रा विन्फ्रे देखा परिन्।

विन्फ्रे अमेरिकी मनोरञ्जन उद्योगको चर्चित नाम हो। ७० वर्षीया विन्फ्रे ‘टक सो’ चलाएर अमेरिकी समाजमा स्थापित भएकी हुन्। लोकप्रिय भए पनि उनी यत्तिका वर्ष राजनीतिबाट टाढा रहिन्। अमेरिकाका दुवै पार्टीसँग उनले कुनै किसिमको सम्बन्ध गाँसेकी छैनन्।

तर उनले गत महिना सबैलाई छक्क पारिन्, डेमोक्र्याटिक पार्टीको सम्मेलनमा उपस्थित भएर। जहाँ उनले ह्यारिसको उम्मेदवारीलाई समर्थन गरेको घोषणा गरिन्। ‘हामी सबैले ननसेन्सलाई भन्दा कमनसेन्सलाई चुन्नुपर्छ,’ उनको उद्घोष थियो।

गत बिहीबार राति ह्यारिसको कार्यक्रममा उनी उपस्थित मात्र भइनन्, ह्यारिसको अन्तर्वार्ता पनि लिइन्। कार्यक्रममा उपस्थित अरु ४ सय मानिस अन्तर्वार्ताका प्रत्यक्ष दर्शक बने। अन्तर्वार्ता लाइभ स्ट्रिमिङ गरिएको थियो, जसलाई अमेरिकाभर हजारौँले हेरे।

‘कमला ह्यारिसको चुनावी अभियानमा जनस्तरबाट समर्थन छ। यस्तो समर्थन पहिले कहिल्यै देखिएको थिएन। हामी सबैलाई यो अभियानले छोएको छ, किनभने यसले आशा जगाउने काम गरेको छ,’ विन्फ्रेले भनेकी छन्।

ह्यारिस र उनको पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवार बनेका टिम वाल्जलाई समर्थन गर्नेमा विन्फ्रे एक्ली सेलिब्रेटी होइनन्। समर्थक सेलिब्रिटीको सूची लामो छ। उसो त रिपब्लिकनका उम्मेदवार डोनाल्ड ट्रम्पको समर्थनमा पनि प्रशस्त सेलिब्रेटी अगाडि आएका छन्।

राष्ट्रपति निर्वाचनका दुवै उम्मेदवारको समर्थनमा सेलिब्रेटीहरू उत्रिएपछि एउटा बहस सुरु भएको छ। के सेलिब्रेटीहरूले उम्मेदवारलाई समर्थन गर्दा निर्वाचन नतिजामा फरक पर्छ? यो बहस भइरहँदा यतिचाहिँ भन्न सकिने अवस्था छ, विन्फ्रेको समर्थनका कारण उपराष्ट्रपतिका उम्मेदवार वाल्जको निर्वाचन जित्ने सम्भावना बढेको छ।

अमेरिकी बजारमा विन्फ्रेको सिफारिसको सहयोगमा धेरै कम्पनीहरूले आफ्नो उत्पादनको बिक्री बढाएको देखिएकै हो। धेरै कम्पनीको ब्रान्ड एम्बेस्डर बनेकी विन्फ्रेले अमेरिकी राजनीतिमा समर्थन सन् २००८ मा गरेकी थिइन्। त्यसबेला डेमोक्र्याटिक पार्टीभित्र राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा बाराक ओबामाले विन्फ्रेको समर्थन पाएका थिए।

त्यतिबेला नर्थवेस्टर्न विश्वविद्यालय र म्यारिल्यान्ड विश्वविद्यालयका शोधकर्ताहरूले विन्फ्रेको समर्थनलाई लिएर अनुसन्धान गरेका थिए। उनीहरूको निष्कर्ष थियो, विन्फ्रेको समर्थनका कारण ओबामाका पक्षमा १० लाख मत थपियो। यसरी ओबामाका पक्षमा थपिएका मतदातामध्ये अधिकांश महिला रहेको अनुसन्धानको निचोड थियो।

यसपालि डेमोक्र्याटिक पार्टीको उम्मेदवारको पक्षमा खुलेका सेलिब्रिटीहरूमा टेयलर स्विफ्ट पनि छिन्। विश्व पप दुनियाँले हाल सर्वाधिक ठूलो स्टार मानेको स्विफ्टको समर्थनले ह्यारिसका पक्षमा मत थपिने अनुमान गरिएको छ।

आफ्नो करियरमा राजनीतिबाट सधैँ टाढा रहेकी स्विफ्टले ह्यारिसलाई समर्थन गर्नुको कारण खुलाएकी छन्। ‘म उनलाई किन समर्थन गरिरहेको छु भने उनी अधिकारका लागि लड्छिन्। मलाई लाग्छ अधिकार बचाउनका लागि उनी जस्तो व्यक्तिको खाँचो छ,’ स्विफ्टले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेकी छन्।

केही समयअघि रिपब्लिकन पार्टीका उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्सले ह्यारिसलक्षित व्यंग्यात्मक टिप्पणी गरेका थिए। उनले बच्चा नजन्माउने बरु बिरालो पालेर बस्ने महिलाले अमेरिका चलाइरहेको टिप्पणी गरेका थिए। यो टिप्पणीपछि स्विफ्टले इन्स्टाग्राममा बिरालोसँगको फोटो राखेकी थिइन्। उनले त्यो फोटोसँगै गैरनाफामूलक संस्थाको लिंक पनि राखिदिइन् र आफ्ना २८ करोड फलोअर्सलाई त्यहाँ नाम दर्ता गर्न आग्रह गरिन्। भोट डट ओआरजी नाम गरेको सो संस्थाले स्विफ्टको आग्रहपछि ३५ हजार नयाँ मतदाताले नाम दर्ता गरेको बताएको छ।

गत बिहीबार मनमाउथ विश्वविद्यालयले जारी गरेको मत सर्वेक्षण नतिजाले पनि स्विफ्टले पार्नसक्ने प्रभाव इंगित गरेको छ। सर्वेक्षण प्रतिवेदनअनुसार ७६ प्रतिशत मतदाताले स्विफ्टले ह्यारिसलाई समर्थन गरिरहेको थाहा पाएको बताएका छन्।
‘आजको दिनमा यो पृथ्वीमा सबैभन्दा चिनिएको व्यक्ति टेयलर स्विफ्ट नै हुन्,’ पेन्सिलभानिया विश्वविद्यालयमा मार्केटिङ पढाउने प्राध्यापक माइकल प्लाट भन्छन्।

उसो त अन्य केही सर्वेक्षणका नतिजा पनि बाहिर आएका छन् जसको निक्र्योल छ, बहुमत मतदातालाई स्विफ्टको आग्रहले केही फरक पार्नेछैन। एबीसी र इस्पोसले संयुक्त रूपमा गरेको सर्वेक्षणमा ८१ प्रतिशत मतदाताले आफूहरूले गर्ने मतदानमा स्विफ्टको आग्रहको कुनै प्रभाव नपर्ने बताएका छन्। ६ प्रतिशत मतदाताले भने स्विफ्टकै कारण ह्यारिसलाई समर्थन गर्न सकिने र १३ प्रतिशतले टिप्पणी गर्ने उम्मेदवार भान्सलाई मत नदिने बताएका छन्।

यो सर्वेक्षणको नतिजा र सँगै आएको समाचारले ह्यारिसको प्रतिद्वन्द्वीहरूलाई प्रभावित भने पारेको छ। ट्रम्प आफैँले पनि प्रतिक्रिया दिएका छन्। ‘म टेयलर स्विफ्टलाई घृणा गर्छु,’ उनले लेखेका छन्।

डेमोक्र्याटिक पार्टीका नेताकार्यकर्ता चुनावमा कडा टक्कर हुने र थोरै मात्राले हारजितको निक्र्योल हुने बताइरहेका छन्। यस्तोमा हरेक मतको महत्त्व हुने र स्विफ्ट जस्ता सेलिब्रिटीहरूले युवा मतदातालाई मतदानमा सहभागी हुन प्रेरित गर्नसक्ने उनीहरूको भनाइ छ। सेलिब्रिटीहरूको प्रभाव त्यो तप्काको मतदातामा पनि पर्नसक्छ जो मतदान नगर्ने खालका हुन्छन्।

‘हामी यस्तो समाजको हिस्सा हौँ, जो मिडियाबाट एकदम प्रभावित छ। यस्तोमा लगभग सबैले कसलाई मत हाल्ने भनेर सोचिसकेका हुन्छन्। यसकारण जित हारको टुंगो लगाउने मतको मात्रा धरै नहुनसक्छ। सानो संख्याको मतदाताले यसपालिको निर्वाचनको नतिजा प्रभावित पार्नेछन्’, ह्यारिसको प्रचारप्रसार टोलीका एक सदस्य भन्छन्।

यो साता गायक तथा गीतकार बिल्ली इलिस र उनका दाइ फिनिस ओकोनेलले पनि ह्यारिसलाई समर्थन गर्ने घोषणा गरेका छन्। उनीहरूले आफ्ना १२ करोडभन्दा बढी फलोअर्सलाई मतदानका लागि नाम दर्ता गर्न र डेमोक्र्याटिक पार्टीका दुई उम्मेदवारका पक्षमा मत हाल्न आग्रह गरेका छन्। इन्स्टाग्राममा उनीहरूको यस्तो आग्रह भरिएको सन्देशमा ह्यारिसको टोलीले इलिसकै गीतको एक टुक्रा प्रयोग गरी धन्यवाद दिएको छ।

चुनाव प्रचारप्रसारमा डेमोक्र्याटिक पार्टीले आफूलाई गरिखाने वर्गको पार्टीका रूपमा चित्रित गर्ने प्रयास गरिरहेको छ। यसकारण पार्टीका कतिपय नेताहरूले सेलिब्रिटीको समर्थनलाई धेरै प्रचार गर्न नहुने मत व्यक्त गरिरहेका छन्। पार्टीभित्र अर्को मत पनि छ, अमेरिकी समाजमा सेलिब्रिटी संस्कार बलियो भएकाले यसको अधिकतम प्रयोग गर्नुपर्छ।

सन् २०१६ को निर्वाचनमा हिलारी क्लिन्टनको अभियानलाई साथ दिने सेलिब्रिटीको संख्या पनि धेरै थियो। प्रख्यात र्यापर जे जी र उनकी पत्नी तथा स्टार गायिका बियोन्सेले क्लिन्टनका कैयौँ प्रचार कार्यक्रममा प्रस्तुति दिएका थिए। यद्यपि सेलिब्रिटीको साथ क्लिन्टनलाई निर्वाचन जिताउन पर्याप्त भएन।

यसपालिको निर्वाचनमा कसलाई समर्थन गर्ने भन्नेबारे जे जी र बियोन्सेको जोडीले खुलाएको छैन। तर बियोन्सेले आफ्नो लोकप्रिय गीत ‘फ्रिडम’लाई ह्यारिसको चुनावी विज्ञापन र अन्य गतिविधिमा प्रयोग गर्न दिएकी छन्। ‘हाम्रो चुनावी प्रचारप्रसार अभियान सेलिब्रिटीहरूले नेतृत्व गरेको जस्तो नदेखियोस् भन्नेमा हामी सजग छौँ। हो, हामी उनीहरूको साथको उपयोग गर्छौँ तर यसको उद्देश्य माहोल सिर्जना गर्न र निश्चित वर्गमा पुग्न मात्र हो,’ ह्यारिसको चुनावी अभियानका एक सदस्यले भने।

ह्यारिसका प्रतिद्वन्द्वी ट्रम्प राजनीतिमा होमिनुअघि टेलिभिजन स्टार थिए। फेरि ह्वाइट हाउस फर्कने लक्ष्यमा रहेका उनलाई पनि सेलिब्रिटीहरूको साथ छ। र्यापर किड रक, रेस्लर हल्क होगन र मोडल एम्बर रोजलगायतका सेलिब्रिटी गत जुलाईमा भएको रिपब्लिकन पार्टीको सम्मेलनमा उपस्थित थिए।

पूर्वराष्ट्रपति ट्रम्पले ह्यारिसलाई समर्थन गरिरहेका सेलिब्रिटीहरूको आलोचना गर्ने गरेका छन्। स्विफ्टविरुद्ध सामाजिक सञ्जालामा लेखेका ट्रम्पले केही समयअघि प्रख्यात कलाकार जर्ज क्लुनी आलोचना गरेका थिए। न्युयोर्क टाइम्समा लेखमार्फत क्लुनी जो बाइडनलाई उम्मेदवारी त्याग्न आह्वान गरेपछि ट्रम्पको टिप्पणी थियो, ‘कुलुनी राजनीतिबाट बाहिरिएर टेलिभिजनमा फर्कनुपर्छ। चलचित्रहरूले त उनलाई कहिल्यै साथ दिएका होइनन्।’

ट्रम्पको त्यो टिप्पणीको जवाफ कुलुनीले यो साता दिएका छन्। ‘हुन्छ, म टेलिभिजनमा फर्कन्छु यदि ट्रम्प पनि फर्किए भने,’ क्लुनी भनेका छन्।

फाइनान्सियल टाइम्सको सहयोगमा

प्रकाशित: ६ असोज २०८१ ११:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + thirteen =