इजरायलले भारतबाट कामदार लैजाँदा नेपालको रोजगारी गुम्दै

हिमाल प्रेस ६ असोज २०८१ ८:१५
20
SHARES
इजरायलले भारतबाट कामदार लैजाँदा नेपालको रोजगारी गुम्दै

काठमाडौँ- इजरायलले भारतबाट कामदार लैजान थालेपछि नेपाली कामदार कम प्राथमिकतामा परेका छन्। गत साता भारत र इजरायल सरकारबीच सरकारी स्तरमा कामदार आपूर्ति गर्ने सहमति भएको हो।

भारतीय राष्ट्रिय सीप विकास निगमका अनुसार दुई देशबीचको सम्झौतामा इजरायलले भारतबाट १० हजार कन्सट्रक्सन वर्कर र ५ हजार केयर गिभरमा गरी १५ हजार भारतीय कामदार लैजाने भएको हो।

तीन महिनाभित्र इजरायलले भारतबाट १५ हजार कामदार लैजाने र चाँडै कामदार छनोटको प्रक्रिया अगाडि बढाउने भारतीय राष्ट्रिय सीप विकास निगमलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतीय कामदार लैजाने भएपछि इजरायलले छनोटमा परेका नेपाली कामदार पनि नलैजाने संकेत गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए।

उनका अनुसार नेपालमा छनोट प्रक्रियामा समस्या र श्रम सम्झौताअनुसार कामदार पठाउन अलमल गरेपछि इजरायलले भारतसँग छोटो समयमा श्रम सम्झौता गरेको उनले बताए। ‘नेपालबाट कामदार पठाउन सरकारी सयंन्त्र, नक्कली कागतजात र छनोट प्रक्रिया लामो लाग्ने भएका कारण इजरायलले भारतीय कामदार लैजान चाहेको देखियो’, ती अधिकारीले भने।

इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा)ले गोलाप्रथामार्फत २ हजार २ सय ४ जना नेपाली कामदार छनोट गरिसके पनि नक्कली कागजातको समस्या देखिएपछि छनोट प्रक्रिया रोकिएको छ। वैदेशिक रोजगार विभागका प्रवक्ता गुरुदत्त सुवेदी नक्कली कागतजात पेस गर्ने कामदारको अनुसन्धान भइरहेको बताउँछन्।

अनुसन्धान सकिएपछि छनोट भएका कामदार इजरायल पठाउने प्रक्रिया अघि बढ्ने उनले बताए। ‘इजरायलमा श्रम सम्झौताअनुसार कामदार पठाइरहेका छौँ। आगामी दिनमा सोही प्रक्रियाबाट कामदार पठाइनेछ। अहिले नक्कली कागतजातको अनुसन्धान भइरहेको छ’, सुवेदीले भने।

इजरायलले कृषि क्षेत्रमा १० हजार भारतीय कामदार लगिसकेको छ। गत अक्टोबरमा गाजामा इजरायल र प्यालेस्टिनीबीच युद्ध भएपछि ९० हजार प्यालेस्टिनीहरूलाई प्रतिस्थापन गर्दै नेपाल, भारतसहित भुटानबाट इजरायलले कामदार लैजाने प्रक्रिया अगाडि बढाएको थियो।

नेपालबाट कामदार पठाउन समस्या र छनोटमा परेका कामदारले पेस गरेको कागतजात नक्कली भएपछि छनोट प्रक्रिया रोकिएको छ।

कामदार पठाउने सरकारी संयन्त्रको ढिलासुस्ती, नक्कली प्रकरण र अन्य समस्याका कारण कामदार समयमा नपाउँदा कोटासमेत कटौती भइरहेको छ।

प्रकाशित: ६ असोज २०८१ ८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + fourteen =