मुलुक सञ्चालनका लागि राज्यले विभिन्न तहका पद सिर्जना गरेको हुन्छ। त्यसमध्ये राजदूत पद पनि एक अति महत्त्वपूर्ण तथा संवेदनशील पद हो। राजदूत पदमा नियुक्ति पाउने व्यक्तिले अन्य मुलुकमा गएर काम गर्नुपर्ने हुन्छ। राष्ट्राध्यक्षबाट आफ्नो विश्वासपात्रका रूपमा ओहदाको प्रमाणपत्र बोकी अर्कै मुलुकको राष्ट्राध्यक्षसमक्ष पेस गरेपछि राजदूत पद क्रियाशील हुन्छ।
विदेशी दूतावास, राजदूत तथा अन्य कूटनीतिक कर्मचारीहरू सन् १९६१ को भियना अभिसन्धि तथा सन् १९६४ को कन्सुलरसम्बन्धी अभिसन्धिबाट निर्देशित हुन्छ। समस्या खडा भएको अवस्थामा यसै अभिसन्धिलाई उधृत गर्दै सल्टाउने गरिन्छ। अन्तर्राष्ट्रिय कूटनीतिक क्षेत्रमा भियना अभिसन्धिलाई मूल मन्त्रका रूपमा लिइन्छ।
समयको प्रवाहअनुसार राजदूत पदको अभिभारा पनि परिवर्तन भइआएका छन्। पुरानो जमानामा राजदूतहरूमा निकै ठूलो अभिभारा निहित हुने गर्दथे। देशहरूबीच शान्तिसम्झौता सम्पन्न गर्ने तथा युद्ध घोषणा गर्ने अधिकारसम्म हुन्थ्यो। हालको जमानामा त्यस्तो छैन। राजदूत पदमा सर्वविदित अभिभारा भनेको विदेशमा आफ्नो देशको हित प्रवर्धन गर्नु हो। राष्ट्रिय हित पनि एकनासको हुँदैन। विभिन्न मुलुकले आफ्नो देशकालअनुसारको राष्ट्रिय हित तोकेको हुन्छ। कुनै मुलुकको राजनीतिक स्वार्थ हुन्छ भने अन्य मुलुकको आर्थिक तथा अन्य स्वाार्थहरू हुन सक्छन्।
राजदूतको योग्यता
राजदूतको खास कुनै योग्यता तोकिएको हुँदैन तर पनि करियर राजदूतहरू परराष्ट्र सेवाअन्तर्गत रहने हुँदा शैक्षिक योग्यता तथा सरकारी निकायमा नोकरी पाउनका लागि आवश्यक सर्त पूरा गरेका हुन्छन्। तर करियरबाहिरका राजदूतहरू विभिन्न परिस्थितिमा नियुक्त गरिएका हुन्छन्। धेरैजसो मुलुकमा राजदूतहरू करियर सेवाबाट नियुक्त गरिएको हुन्छ। तर आवश्यक परेका बेलामा सरकारले अन्य विशिष्ट क्षमता भएका व्यक्तिहरूलाई पनि नियुक्त गर्न सक्छ। यसका थुप्रै उदाहरण पाइन्छन्।
मैले आफ्नो कूटनीतिक सेवामा कार्यरत रहँदा भेटेका केही विदेशी राजदूतका बारेमा उल्लेख गर्न चाहेको छु। सर्वप्रथम भेटेको विदेशी राजदूत टोक्योमा रोमानियाका राजदूत कन्सटेन्टाइन भ्लाद हुन्। उनी संवैधानिक कानुनका प्राध्यापक रहेछन्। पूर्वराष्ट्रपति निकोलाई चेचेस्कुले अनुरोध गरेकाले जापानमा राजदूत भई आएको भन्थे।
त्यो बेलाको नेपालको संविधानका बारेमा उनलाई थाहा रहेछ। संविधानको एक प्रति मगाइदिन अनुरोध गरेकाले उनको इच्छा पूरा गरिदिएको दिएँ। जापानका लागि फ्रान्सका राजदूत जिल्वर्ट पेरोल एयर फ्रान्सको प्रेसिडेन्ट भई काम गरी निकै दक्षता भएको व्यक्ति भएकाले जापानका लागि राजदूत पदमा नियुक्ति गरिएको रहेछ।
सन् १९८७ मा मेरो ओहदा निकै सानो थियो। तर कामविशेषले उनलाई निवासस्थानमा भेट्न जाँदा बडो आत्मीयताका साथ स्वागत गरेका थिए। सन् २००६ मा यूएईमा कार्यवाहक राजदूतको ओहदा लिई दूतावासमा गएपछि जापानी राजदूत टाकुमा हातानोलाई भेट गर्न गएँ। उनी मित्सुबिसी कर्पाेरसनमा कार्यरत तेल व्यापारको विशेषज्ञ रहेछन्।
जापान सरकारले त्यस कर्पाेरेसनबाट काजमा ल्याई उनलाई यूएईमा राजदूत बनाइएको रहेछ। यसरी देश र सरकारले विशेष दक्षता भएका व्यक्तिहरूलाई राजदूत पदमा नियुक्त गरी फाइदा लिन सक्छ। अमेरिकी राष्ट्रपति बिल क्लिन्टलने पनि फ्रान्क विस्नर भन्ने एउटा ठूलो कम्पनीको प्रेसिडेन्टलाई भारतका लागि राजदूत पदमा नियुक्त गरेका थिए। उनी अमेरिका तथा भारतका व्यापारिक सम्बन्धलाई निकै उकास्न सफल भएका थिए।
राष्ट्रपति क्लिन्टन खुसी भई कार्यावधि थप्न खोज्दा उनले मानेनन्। फ्रान्समा सरुवा गरिदिने कुरा गर्दा पनि नमानी स्वदेश फर्किएका थिए उनी। करियरका राजदूत सबै राम्रो तथा बाहिरबाट नियुक्त गरिएका सबै नालायक भन्ने हुँदैन। खासगरी नियुक्त गरिएका व्यक्तिको कार्य क्षमतामा को सफल हुन्छ भन्ने कुरा निहित हुन्छ।
राजदूतको तह
विदेशमा पठाउने राजदूतका रूपमा पठाउने व्यक्ति कुन तहको मानिस हो त्यो कुरा पनि कूटनीतिमा महत्त्वपूर्ण हुन्छ। करियर राजदूतको हकमा कूटनीतिक सेवाको तल्लो तहबाट उठेर २/३ वटा देशमा राजदूत भइसकेका व्यक्तिलाई वजनदार रूपमा मानिन्छ। राजदूत पठाउने सरकारले त्यस व्यक्तिलाई पठाउने देशसँग आफ्नो सम्बन्धलाई ध्यानमा राखी उपयुक्त व्यक्ति पठाएमा निकै उपयोगी तथा सफल हुन्छ।
सन् १९८० को दशकमा अमेरिकाले जापानसँगको बहुआयामिक सम्बन्धलाई ध्यानमा राखी सिनेटका लिडर माइक माइस्न्फिल्डलाई राजदूत नियुक्त गरेको थियो। उनले ११ वर्षसम्म काम गरे। त्यो बेलाका जापानका प्रधानमन्त्री यासुहिरो नाकासोने तथा उनीबीच निकै गहिरो सम्बन्ध कायम भएको थियो। अमेरिका तथा जापानका सम्बन्ध त्यति बेला निकै उकासिएको थियो।
एउटा भ्रम
नेपालमा यदाकदा सुनिन्छ, मन्त्री भएको मान्छे पनि राजदूत हुने रे। मन्त्री भइसकेपछि राजदूत हुनै नहुने बुझाइ सरासर गलत छ। किनभने कूटनीतिक सेवाबाहेकका अन्य व्यक्तिलाई राजदूत पदमा नियुक्त गर्न नहुने भन्ने छैन। सन् २००५ मा कोलम्बियाले अमेरिकाका लागि राजदूत पदमा राष्ट्रपति भइसकेका व्यक्ति आन्द्रियास पास्त्रानास आरोन्गोलाई नियुक्त गरेको थियो।
अमेरिकाले राष्ट्रपति पदमा लडेका तथा उपराष्ट्रपति भइसकेका वाल्टर मोन्डेललाई जापानका लागि राजदूत नियुक्त गरेको थियो। त्यस्तै केही समयअघि अस्ट्रेलियाले अमेरिकाका लागि राजदूत पदमा पूर्वप्रधानमन्त्री केभिन रुदलाई नियुक्त गरेको थियो। हाम्रै परिप्रेक्ष्यमा पनि प्रधानमन्त्री भइसकेका मातृकाप्रसाद कोइरालालाई अमेरिकामा तथा परराष्ट्रमन्त्री भइसकेका कृष्णराज अर्याललाई फ्रान्सका लागि राजदूत पदमा नियुक्त गरिएको इतिहास छ।
उच्च तहमा काम गरिसकेका व्यक्तिहरूको नियुक्तमा होस्ट मुलुकहरू खुसी हुन्छन्। कूटनीतिक तहबाट नियुक्त हुने व्यक्तिहरू देशपिच्छे फरक व्यवस्था भए पनि खासगरी परराष्ट्रमन्त्री, सचिव वा सहसचिव तहका व्यक्तिहरू हुन्छन्। एकताका श्रीलंकाले १४ वर्ष सेवा भएका उपसचिवसरहका व्यक्तिहरूलाई पनि राजदूत पदमा नियुक्त गरेको सुनिएको थियो। विभिन्न मुलुकमा काम गरी अनुभव बटुलेका करियर कूटनीतिज्ञहरूमा व्यावहारिक ज्ञान भने प्रशस्तै हुन्छ।
राजदूत पदमा कार्यरत व्यक्तिहरू प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीमा नियुक्त भएका उदाहरण छन्। केही वर्षअघि बुर्किना फासोको अमेरिकास्थित दूतावासमा कार्यरत राजदूत तेर्तियस जोन्गोलाई राष्टपतिले प्रधानमन्त्रीमा नियुक्त गरेका थिए भने दुई वर्षअगाडि नाइजेरियाका नवनिर्वाचित राष्ट्रपति बोलो टिनुबुले जर्मनीस्थित आफ्ना राजदूत युसुफ तुग्गारलाई परराष्ट्रमन्त्री नियुक्त गरेका थिए। त्यस्तै नेपालमा पनि भारतका लागि राजदूत भइसकेका चक्र बास्तोला पछि परराष्ट्र पनि भए। त्यस्तै भेषबहादुर थापा पनि राजदूतपछि परराष्ट्रमन्त्री भएका थिए। राजदूतसम्बन्धी पुराना उदाहरण त धेरै छन्। उनीहरू भने ०४६ सालको परिवर्तनपछिको उदाहरण हुन्।
थरीथरीका राजदूतको सम्झना
जसरी देशहरूको परिस्थिति फरक छन्। राजदूतहरू पनि फरकफरक स्वभावका हुन्छन्। कोही फरासिला, जोक गर्ने तथा हँसाउने खालका हुन्छ भने कोही एकदम गम्भीर। हतपत बोल्दै नबोल्ने खालका पनि हुन्छन्। सन् १९८६/८७ तिर टोक्योमा कार्यरत रहँदा गिनी गणतन्त्रका राजदूत बंगाली दावोसँग बराबर पार्टीहरूमा भेट हुन्थ्यो। निकै फरासिला राजदूत थिए उनी। उनी जहिले पनि आफ्नो देशको खनिज सम्पदाबारे बताउँथे।
त्यस्तै सन् १९९९ देखि २००३ सम्म फेरि जापानमा कार्यरत हुँदा पार्टीहरूमा विभिन्न देशका राजदूतहरूसँग भेट भइरहन्थ्यो। बंगलादेशका राजदूत अब्दुल मजिद नेपाली चेली मनीषा कोइरालाको ठूलो फ्यान। जहिले पनि सोधी राख्थे। कार्यकाल सकाई फर्केपछि नेपालमा गएर भेट्न जान्छु सम्म भन्थे। त्यस्तै भारतका राज्दूत अफताव सेथ पनि निकै फरासिला थिए। राम्रो भलाकुसारी गर्थे।
पाकिस्तानका राजदूत कामरान नियाज त नेपालबाटै सरुवा भएर जापान गएका थिए। प्रभावशाली व्यक्तित्व भएका राजदूत नियाज पनि निकै मित्रवत व्यवहार गर्थे। श्रीलंकाका राजदूत नेविल पियादिगामा मत्स्य मन्त्रालयको सचिवबाट जापानमा राजदूत भएका थिए। सन् २००० को अगस्टमा जापानका पूर्वप्रधानमन्त्री योसिरो मोरीको श्रीलंका भ्रमण गराउन नसकेका कारण उनलाई जापानबाट बंगलादेशमा सरुवा गरिएको थियो। एक दिन मसँग दु:खमनाउ गरेका थिए।
स्पेनिस भाषाका कारण मेरो मित्रता ल्याटिन अमेरिकी मुलुकहका राजदूतहरूसँग पनि हुन्थ्यो। बोलिभियाका राजदूत एडवार्दाे गालिन्दो राष्ट्रपति पदमा भएको निर्वाचनमा हारेपछि जापानमा राजदूत भएका थिए। हाम्रो भेट हुनासाथ अँगालो मारेर कुरा गर्थे। पाराग्वेका राजदूत ब्राजिल र पाराग्वेबीच बनाइएको इतापा दामको जनरल म्यानेजर भई काम गरिसकेका व्यक्ति थिए। म उनलाई सेन्योर एम्बासडर (महामहिमज्यू) भनी सम्बोधन गर्थेँ। अनि उनीचाहिँ मलाई राजदूत भन्न जरुरत छैन, लोपेज मात्र भने पुग्छ भन्थे। तर आफूलाई कहाँ चित्त बुझ्नु?
सन् २०१० मा राजदूतका रूपमा पेरिस पुगेपछि सबभन्दा पहिला जिबुटीका राजदूत रसद फराहसँग मोनाकोको राष्ट्रिय दिवसको पार्टीमा भेट भयो। उनी जापानमा १५ वर्षसम्म राजदूत भएर फ्रान्समा सरुवा भएको ११ वर्ष भइसकेको रहेछ। लगातार २६ वर्षसम्म राजदूत भई काम गर्नु भनेको पनि एउटा कीर्तिमान हो। कूटनीतिमा पोख्त व्यक्ति राजदूत फराहसँग मित्रता आजसम्म पनि कायमै छ। उनकै सुझावअनुसार हामी मार्च २०१४ दुई जिबुटी भ्रमणमा गएका थियौँ।
कार्यावधि
नेपाललगायत अन्य केही मुलुकहरूमा राजदूतको कार्यकाल चार वर्षको हुन्छ। युरोपेली मुलुकहरूको चाहिँ साढे २ वर्षदेखि ३ वर्षको हुँदो रहेछ। अपवादका रूपमा सन् १९८० को दशकमा आइभरी कोस्टका जापानस्थित राजदूतते २२ वर्षसम्म काम गरेका थिए। पेरिसमा दिनदिनै कूटनीतिक पार्टीहरू हुन्छन्। उही व्यक्तिहरूसँग बराबर भेट भइरहन्छन्।
कहिलेकाही खास गर्ने कुरा पनि केही हुँदैन। एसियाली मुलुकहरू अलावा आसियन, अफ्रिकी तथा ल्याटिन अमेरिकी मुलुकहरूका राजदूतहरूसँग पनि भेटघाट कुराकानी भइरहन्थ्यो। पेरिसमा बस्दा ब्रुनाइर्, इन्डोनेसिया, फिलिपिन्स, लाओसका राजदूतहरूसँग भेट भइरहन्थ्यो। ब्रुनाईका राजदूत हाजी सिदुप तथा कम्बोडियाका राजदूत किच उमान ११/१२ वर्ष पेरिसमा बसिसकेका थिए।
ब्रुनाईका राजदूत हाजी सिदुपले एक दिन मलाई भने, ‘मेरो कार्यकाल अलि लामो भएको छ तर सुल्तानको निगाह भएसम्म खाने हो। अरुले डाहा गरेर केही हुने वाला छैन।’ त्यस्तै ग्वाटेमालाका राजदूत आना इसावेला पेरेरा पनि ८ वर्ष भइसक्यो पेरिसमा राजदूत बनेको, अब त मेरो सरकारले मलाई बिर्सेजस्तो छ भन्थिन्। तर केही समयपछि भेट हुँदा निन्याउरो मुख लगाइरहेकी थिइन्। मैले के भो सेन्यो एम्बासडोर भी सोधेँ। मेरो सरुवा पुर्जी आयो भनिन्। गतिशील समयले कसैलाई स्थिर बन्न दिँदैन। सबैले बुझ्नु आवश्यक छ।
केही अप्रत्यासित घटना
मार्च २०१४ को एक दिन। म बिहानै एउटा समारोहमा गएको थिएँ। गिनी विस्साउका राजदूत म्याडम हिलिया बार्बरले मलाई हात तानी एउटा कुनामा लगिन्। उनीसँग खास कुनै हिमचिम भएको थिएन। अनि उनले भनिन्, ‘महामहिमज्यू, मेरो राजदूतावासमा बजेट नआएको ८ महिना भयो। साहै्र गाह्रो भइराखेको छ। तपाईँ मलाई ५ हजार युरो सापट दिन सक्नुहुन्छ? अचानक यस्तो प्रश्न तेर्सिएपछि म त अक्क न बक्क भएँ। साह्रै अप्रत्यासित प्रस्ताव थियो। मैले संयम भएर हेर्नुस् महामहिमज्यू, हाम्रो दूतावासबाहिर आर्थिक कारोबार गर्दा परराष्ट्र मन्त्रालयको स्वीकृति नलिई गर्न मिल्दैन, म सोधुँला भनेर उम्किएँ। त्यसपछि उनीसँग कहिल्यै भेट भएन।
म्यानमारका राजदूत ऊ ज्वार मिन न्युयोर्कबाट फ्रान्समा सरुवा भई आएका थिए। छोटो समयमा मित्रता भयो। घरमा डिनर लन्च त हुने नै भयो। मकहाँ पनि नियमित रूपमा पार्टीहरू भइराख्थे। एक दिन उनले मलाई भने, मलाई त घरमा ८/१० जना पाहुना बोलाउनुपर्यो कि कस्तो टेन्सन हुन्छ, तपाईँ त जहिले पनि पार्टी गरिराख्नुहुन्छ। कसरी व्यवस्थापन गर्नुहुन्छ भन्ने उनको सोधाइ थियो।
मैले भनेँ, ‘हामीकहाँ काम गर्ने मानिस त साह्रै थोरै छन्, तर विशेष रूपले विश्वासिलो तथा भरपर्दा छन्। काममा पोख्त छन्। पार्टी गर्नुअगाडि सबै बसेर सरसल्लाह गर्छाैँ। अनि काम बाँडफाँट पनि गर्छौँ। यसरी राम्ररी पार्टीहरू गर्दै आएका छौँ।’ पछि एक दिन उनी अत्यन्त जरुरी काम पर्यो भनी भेट्न आए। अनि उनले भने, ‘महामहिमज्यू मलाई त सरकारले लन्डनमा सरुवा गरिदियो। तुरुन्तै जानुपर्ने भयो। कुनै बिदाइ पार्टी पनि गर्न पाइनँ। कुनै दिन लन्डन आउनुभएमा एउटा डिनर उधारो भयो’ भनी हिँडे।
हामी सन् २०१९ मा म्यानमार भ्रमणमा जाँदा उनले लन्डनदेखि काठमाडौँस्थित दूतावासमा फोन गरी सघाएका थिए। म्यानमारमा सैनिकले सत्ता कव्जा गरेपछि उनले सो कदमविरुद्ध केही वक्तव्य निकालेको रहेछ। जसले गर्दा उनलाई तुरुन्तै पदबाट बरखास्त गरियो र एक दिन त गाडीमा नै सुत्नुपरेको खबर पढेको थिएँ। साह्रै नमज्जा लागेको थियो।
भनिन्छ, कूटनीतिज्ञहरूले टाउकोमा एन्टेना लिएर हिँड्नुपर्छ रे। त्यो भनेको समाचार संकलन गर्ने क्षमताको कुरा भयो। ४ नोभेम्बर १९७९ मा विश्वमा विरलै घट्ने घटना भएको थियो। इरानका राजा पहिलवीको पलायनपछि इरानी विद्यार्थीले अमेरिकी दूतावासभित्र पसी ५० जना जति कूटनीतिज्ञलाई बन्धक बनाए।
कुनै पनि राष्ट्रको दूतावासमा यसरी जबरजस्ती पस्नु भनेको भियना अभिसन्धिको पूरापूर उल्लंघन थियो। त्यो घटना अमेरिकाप्रति इरानी जनताको आक्रोशको विस्फोट थियो। तेहरानस्थित डिप्लोमेटिक कफ्सका डिन थिए स्विजरल्यान्डका राजदूत इरिक लान्गे। उनले इरानी परराष्ट्र मन्त्रालयमा गएर यस्तो कार्य सरासर गलत तथा भियना अभिसन्धिविरुद्धको कार्य भनी धाराप्रवाह बोलेका थिए। तर त्यस बेला कहीँकतैबाट सुनुवाइ भएन। बन्दीहरू २० जनवरी २०८१ का दिन ४४४ दिनपछि रिहा गरिए।
१७ डिसेम्बर १९९६ का दिन पेरुको राजधानी लिमास्थित जापानी राजदूतको निवासस्थानमा सम्राट्र अकिहितोको ६३औँ जन्मोत्सव कार्यक्रम चलिराखेको थियो। अचानक पेरुका तुपाक अमारुका छापामारहरूले दूतावासभित्र पसी जापानी कूटनीतिज्ञ तथा अन्य पाहुनासमेतलाई बन्दी बनाए। त्यस्तो कार्य त कुनै हिसाबले पनि उचित थिएन। साथै भियना अभिसन्धिको सरासर उल्लंघन थियो। १२६ दिनपछि जापानी मूलको पेरुका राष्ट्रपति अल्बर्टाे फुजिमोरीको विशेष निर्देशनमा पेरुको सैनिक कमान्डोहरूले आतंककारीहरूलाई मारेर समस्या सल्टाएको थिए।
हालसालै पनि ल्याटिन अमेरिकी मुलुकहरू मेक्सिको तथा इक्वेडरबीच पनि एउटा जटिल समस्या पैदा भएको थियो। इक्वेडरका उपराष्ट्रपति खोर्गे ग्यासमाथि ब्राजिलको निर्माण कम्पनी ओब्रेडेक्टवाट लाखौँ डलर घुस खाएको आरोपमा अदालतबाट सजाय भएको थियो। उनले मेक्सिकोको क्विटोस्थित दूतावासमा राजनीतिक शरण मागे।
मेक्सिको सरकारले उनलाई राजनीतिक शरण दियो। तर इक्वेडर सरकारलाई यसले निकै आक्रोशित बनायो। ५ अप्रिल २०२४ का दिन इक्वेडरका सैनिकहरू जबरजस्ती दूतावासमा पसी कूटनीतिज्ञहरूसमेतलाई दुर्व्यवहार गरेका थिए। यसले गर्दा दुई देशबीचको कूटनीतिक सम्बन्धसमेत विच्छेद भएको थियो। इक्वेडर सरकारबाट गरिएको सैनिक कारबाहीको निन्दा गरिएको थियो। मेक्सिको सरकारले द हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा इक्वेडरविरुद्ध मुद्दासमेत हालेका थिए।
कूटनीतिमा विदेशी भाषा
कूटनीतिज्ञले अंगेजीका अतिरिक्त संयुक्त राष्ट्रसंघका भाषामध्ये एउटा भए पनि राम्ररी सिकेमा उपयोगी हुन्छ। विश्वभरका कूटनीतिज्ञहरू चलायमान छन्। समयको प्रवाहमा को कहाँ पुग्छ, को कहाँ? कहिलेकाहीँ पुराना मित्रहरूँसँग भेट पनि हुन्छ। फ्रेन्च जानेमा अफ्रिकी मुलुकका कूटनीतिज्ञहरूँसग कुरा गर्न सजिलो हुन्छ भने स्पेनिस जानेमा ल्याटिन अमेरिकी मुलुकका कूटनीतिज्ञहरूसँग मित्रता गाँस्न सजिलो हुन्छ।
त्यस्तै जापानी, चिनियाँ तथा रुसी पनि प्रमुख भाषा हुन्। जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेले टोक्योमा रहेका जापानी भाषा वोल्न सक्ने राजदूतहरूलाई लन्चमा बोलाई अन्तरक्रिया गर्थे। १६ डिसेम्बर २०१८ मा आयोजित यस्तो कार्यक्रममा टोक्योस्थित २८ देशका राजदूत सम्मिलित थिए। त्यस्तो अवसरमा जापानी भाषाबाहेक अन्य भाषामा कुरा गर्न नपाइने रे भन्ने सम्म सुनिएको थियो। जापान तथा ती देशहरूसँग मित्रता बलियो बनाउने उद्देश्यले अभिप्रेरित थियो त्यस्तो कार्यक्रम।
अबुधाबीमा कार्यरत रहँदा एक दिन भियतनामका राजदूत के नोग खाईले अरबी भाषामा धाराप्रवाह भाषण गरेको सुनेको थिएँ। पछि बुझ्दा यूएईमा आउनुअगाडि उनले स्वदेशमै ५ वर्ष लगातार अरबी भाषा पढेका रहेछन्। हालै नयाँ राजदूतमा मनोनीत व्यक्तिमध्येवाट एकजनाले भाषाको महत्व दर्शाएर दिएको बयान चाखलाग्दो थियो। निश्चय नै कूटनीतिमा भाषाको ठूलो महत्त्व हुन्छ।
कूटनीतिमा उमेर
हाम्रो परिप्रेक्ष्यमा सरकारी जागिर खान पाउने उमेर ५८ वर्ष तोकिएको छ। अवकाश पाउन २।४ दिनअगाडि भए तापनि वरिष्ठताका आधारमा सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव स्तरका व्यक्तिहरूलाई राजदूत पदमा नियुक्त गरेको छ। साथै नोकरीबाट अवकाश भएपश्चात् पनि चार वर्षमा नबढाई काम गर्न दिने गरिएको छ। यी दुई पक्षमा नेपाल सरकार उदार छ। अन्य देशमा यस्तो व्यवस्था भएको सुनिँदैन।
राजदूत हुन योग्य व्यक्तिको उमेर कतिसम्म भन्ने पनि कुनै नियम छैन। सरकारले चाहेमा जुनसुकै उमेरका व्यक्तिलाई पनि नियुक्त गर्न सक्छ। केही वर्षअगाडि ७६ वर्षका व्यक्तिलाई श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरिएको थियो। पेरिस बसाइताका एक दिन एकजना अलि उमेर पाको भइसकेको कूटनीतिसँग भेट भयो। अल्दो फेरेर नामका ती कूटनीतिज्ञ फ्रान्सका लागि अर्जेन्टिना राजदूत रहेछन्। स्पेनिस भाषामा कुरा गर्दा उनी ८२ वर्षको भइसकेका रहेछन्। प्रधानमन्त्रीबाहेक अन्य सबैजसो महत्त्वपूर्ण मन्त्रालयमा मन्त्रीको पद सम्हालिसकेका व्यक्ति रहेछन् उनी। सरकारको आग्रहमा फ्रान्ससँगको सम्बन्धलाई महत्त्व दिई उनलाई राजदूत बनाई पठाइएको रहेछ।
राजदूतको काम कर्तव्य
विदेशमा रहेका नेपाली राजदूतहरूको काम कर्तव्य के हो त भन्ने यदाकदा प्रश्नहरू उठ्ने गरेको छ। जनमानसमा पनि राजदूतको जिम्मेवारीलाई लिएर निकै जिज्ञासा भएको पाइन्छ। सामान्यतया राजदूत नियुक्ति प्रक्रिया साधारण प्रशासनिक कार्य हो। तर यस कार्यले नेपालमा भने निकै कौतूहल पैदा गर्दछ। हाल विदेशमा ३० वटा नेपाली राजदूतका पदहरू स्थापना भएका छन्।
प्रचलित नियमअनुसार परराष्ट्र मन्त्रालयका सहसचिवहरूबाट ५० प्रतिशत तथा अन्य सेवा वा पृष्ठभूमिका व्यक्तिहरूको ५० प्रतिशत गरी राजदूत नियुक्त गर्ने चलन छ। अन्य सेवाका व्यक्तिहरू नियुक्त गर्दा निकै ध्यान पुर्याउनुपर्ने हुन्छ। कार्यक्षमता नभएका व्यक्तिलाई राजदूत जस्तो गरिमामय पदमा नियुक्त गरी पठाउनु भनेको समय तथा स्रोतको बरबादी मात्र हुन्छ। राजदूत पदमा सिफारिस भएपछि संसदीय सुनुवाइ समितिबाट अनुमोदित हुनुपर्ने संवैधानिक व्यवस्था छ। त्यस अवसरमा सिफारिस भएका व्यक्तिहरूले अनेकन् प्रकारका प्रस्तुति दिएका हुन्छन्।
उनीहरू नियुक्त भएर गएपछि के काम गर्छन् भनेर बाहिर आउँदैन। व्यक्ति जुन प्रक्रियाबाट नियुक्त भए पनि आफ्ने ओहदा सम्हालेपछि उसको प्रमुख अभिभारा दुई देशबीचको सम्बन्ध बलियो बनाउन, राष्ट्रको हित प्रवर्धन गर्नु तथा नेपाली नागरिकलाई सहयोग, सेवा पुर्याउनु हो। यति काम नगरे त्यो व्यक्तिलाई राजदूत हुन लायक मान्न सकिन्न। स्रोतसधानको कमी त देखिन्छ, तर पनि रणनीति बनाएर काम गर्न सकिन्छ, जसले आफ्नो देश तथा जनताका लागि फाइदा हुन्छ, सहयोग पुग्छ।
सरकारले पनि पठाएका राजदूतहरूको कार्यक्षमता मूल्यांकन नगरी हुँदैन। बोझ पन्छाएको जस्तो नियुक्तिको कुनै औचित्य हुँदैन। राजदूतमा जथाभाबी नियुक्त गर्न हुँदैन। विचार पुर्याएर उपयुक्त क्षमतावान व्यक्तिलाई नियुक्त गर्नुपर्दछ। राजदूत पदमा स्वच्छ छवि, विषयवस्तुको ज्ञान, शुद्ध नैतिक आचरण तथा कुनै कसुर नगरेको व्यक्ति नियुक्त हुनु जरुरी छ।
देशको इज्जत फालेका केही राजदूत
यत्रो ठूलो विश्वमा कुन देशमा के भइरहेको छ भनेर थाहा पाउन गाह्रो हुन्छ। राजदूतहरूको कुरा गर्दा बेलाबेलमा केही विवादका घटना आउँछन्। केही महिनाअघि मेक्सिकोको अर्जेटिनास्थित राजदूतलाई १० डलरको किताब चोरेको अभियोग लाग्यो। मेक्सिको सरकारले उनलाई तुरुन्तै राजदूत पदबाट बर्खास्त गरी स्वदेश बोलायो। नेपाली राजदूतका बारेमा पनि यस्तै एउटा उदाहरण छ। सन् १९९४ मा अगाडि जाइरेका (हाल जनगणतन्त्र कंगो) राजदूत इमानी माता लिकाम्वे सरकारवाट बजेट नपाउँदा अति नै बेहाल भएका थिए।
घरबहाल तिर्न नसकेपछि होमलेस भई उनी वार्साको रेल्वे स्टेसनमा बस्न थाले। भिख मागेर खान्थे। पोलिस सरकारले थाहा पाएपछि उनलाई एउटा एपार्टमेन्ट भाडामा लिएर राखिएको थियो। नेपालमा पनि कुनै बेला एकजना ठूलो देशको महिला राजदूत आएकी थिइन्। उनको क्रियाकलापहरू कूटनीतिज्ञको भन्न नसुहाउने भएर निकै होहल्ला भयो। पछि उनको सरकारले फिर्ता बोलायो। उनी यतै हल्लिएर बसिन्। निकै कसरत गरेपछि घरबाट निकालेर स्वदेश पठाइएको थियो।
त्यस्तै एउटा छिमेकी राष्ट्रको राजदूत पनि स्त्रीलम्पट स्वभावको पाइएपछि फिर्ता बोलाइएको थियो। एकजना मित्र देशका राजदूतले व्यावसायिक रूपमा विज्ञापनहरूमा देखा पर्न थालेपछि उनलाई तुरुन्तै फिर्ता बोलाइएको थियो।
(श्रेष्ठ फ्रान्सका लागि पूर्वराजदूत एवं पूर्वशिष्टाचार महापाल हुन्)
अत्यन्त पठनीय खुराकको रुपमा पाएँ यो लेख पाए । लेखक महामहिम मोहन कृष्ण श्रेष्ठ ज्यूलाई बधाइ तथा धन्यवाद ।
यो सबैले विषेश गरेर हालका महामहिम तथा भविष्यका महामहिमहरुले पटक पटक पढ्दा घाटा छैन ।
जयकुमार गुरुंग