दिल्लीको तेस्रो महिला मुख्यमन्त्री अतिशीले लिइन् सपथ

हिमाल प्रेस ५ असोज २०८१ १८:३५
12
SHARES
दिल्लीको तेस्रो महिला मुख्यमन्त्री अतिशीले लिइन् सपथ

काठमाडौँ- आम आदमी पार्टी (आप) की नेतृ आतिशी मार्लेना सिंहले दिल्लीको नयाँ मुख्यमन्त्रीका रूपमा सपथ लिएकी छन्। दिल्लीको मुख्यमन्त्री नियुक्त हुने आतिशी दोस्रो महिला हुन्। यसअघि कांग्रेसकी शिला दिक्षित र भाजपाकी सुषमा स्वराज त्यहाँको मुख्यमन्त्री भएकी थिइन्।

सुष्मा स्वराज र शीला दीक्षितको पाइला पछ्याउँदै ४३ वर्षीया आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बनेकी हुन्।

शनिबार राज निवासमा आयोजित एक समारोहमा आतिशीले मुख्यमन्त्रीको सपथ लिइन्। उनलाई उपराज्यपाल वीके सक्सनाले सपथ दिलाएका थिए। आपका अध्यक्ष अरविन्द केजरीवाल तिहाड जेलबाट रिहा भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने बताएका थिए।

केजरीवालको राजनीमापछि आप विधायक दलको बैठकले आतिशीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। आतिशीसँगै आपका नेताहरू सौरभ भारद्वाज, गोपाल राय, कैलाश गहलोत, इमरान हुसेन र मुकेश अहलावतले पनि दिल्ली सरकारमा मन्त्रीपरिषद्को सदस्यका रुपमा सपथ लिएका छन्। शपथग्रहण समारोहमा केजरीवाल पनि सहभागी भएका थिए।

आम आदमी पार्टीकी प्रमुख नेता आतिशीले पूर्व शिक्षामन्त्री मनिष सिसोदियाको सल्लाहकारको रूपमा रहँदा दिल्लीका सरकारी विद्यालयहरूमा शिक्षा सुधार गर्न महत्वपूर्ण भूमिका खेलेकी थिइन्।

निवर्तमान मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिनुपरेकोमा दुःखी भएको तर आफूमाथि आप नेताले गरेको विश्वासबाट आफू खुसी भएको सपथपछि नेतृत्व परिवर्तनबारे बोल्दै आतिशीले बताइन्।

उनले केजरीवालले आफ्नो पदबाट राजीनामा दिएकोमा दुःखी भएको उल्लेख गरिन्। सञ्चारमाध्यमसँग कुरा गर्दै आतिशीले आगामी विधानसभा चुनावपछि केजरीवाललाई मुख्यमन्त्रीको रूपमा फिर्ता ल्याउन आफूले कडा मेहनत गर्ने बताइन्।

उनले भनिन्, ‘सबैभन्दा पहिले म दिल्लीका लोकप्रिय मुख्यमन्त्री, आम आदमी पार्टीका राष्ट्रिय संयोजक र मेरा गुरु अरविन्द केजरीवाललाई धन्यवाद दिन चाहन्छु। उहाँले मलाई यति ठूलो जिम्मेवारी दिनुभयो र यसका लागि मलाई विश्वास गर्नुभयो।’

आतिशीले हाल दिल्ली विधानसभामा कालकाजी निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्छिन् र दिल्ली सरकारका धेरै जिम्मेवारी सम्हालिसकेकी छन्। उनी सन् २०२३ मा दिल्ली सरकारको मन्त्रीपरिषद्मा सामेल भएकी थिइन्। उनले नै आगामी विधानसभा चुनावको तयारीका लागि आम आदमी पार्टी ९आप० को नेतृत्व गर्नेछिन्।

प्रकाशित: ५ असोज २०८१ १८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + fifteen =