नेपालगन्जमा रात्रि दौड : त्रिभुवन आर्मीका मुकेश र नरैनापुरकी गीता प्रथम

हिमाल प्रेस ४ असोज २०८१ ८:२५
42
SHARES
नेपालगन्जमा रात्रि दौड : त्रिभुवन आर्मीका मुकेश र नरैनापुरकी गीता प्रथम

नेपालगन्ज- दश किलाेमिटर नाइट रनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले जितेका छन्। संविधान दिवसका अवसरमा बिहीबार राति नेपालगन्जमा भएको रात्रि दौडमा पालले ३१:०७:२१ मिनेटमा दश किलोमिटर दौड पूरा गर्दै प्रथम भए।

यसमा सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबका सन्तोष विक्रम बिष्ट दोस्रो र किरणसिंह बोगटी तृतीय भए। सन्तोषले ३२:४८:४४ मिनेटमा निर्धारित दूरी पूरा गर्दा किरणले ३२:५४:६३ मिनेटमा दौड पूरा गरेर तृतीय भएका थिए।

धारा नेपालगन्ज म्याराथनको दशौं संस्करण विशेष बनाउन ‘दशौंमा दश इभेन्ट’ अन्तर्गत पहिलो कार्यक्रमका रुपमा भएको दश किलोमिटर रात्रि दौडमा महिला खुलातर्फ बाँके नरैनापुरकी गीता कुमारी साहु पहिलो भइन्। उनले ५९:१६:५२ मिनेटमा दूरी पूरा गर्दा कोहलपुरकी स्वस्तिका शाहीले ५१:०६:३७ मिनेटमा दूरी पूरा गरि दोस्रो भइन्।

सलिना थारु एक घण्टा ६ मिनेट ४८ सेकेन्डमा फिनिसिङ लाइन छुँदै तृतीय भइन्। पुरुष तथा महिला खुलातर्फका शीर्ष तीन जनाले क्रमश: नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँका साथै पदक र प्रमाणपत्र प्राप्त गरे।

लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तिरनदाज गौतम, केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेड, नेपालगन्ज म्याराथनका संरक्षक सदस्य केशरबहादुर आले, राखेप सदस्य दिपेन्द्र बिष्ट लगायतले पुरस्कृत गरे। रात्रि दौड जीवनमा पहिलोपटक दौड्न पाउँदा नै आफू निकै खुसी भएको विजेता पालले बताए। ‘मैले उपाधि नै जितें, इतिहास बनाउने अवसर पाएँ,’ उनले भने।

पहिलोपटक ठूलो इभेन्टमा भाग लिएकी बाँके नरैनापुरकी गीता साहुले आफूले नसोचेको नतिजा हात पार्दा निकै खुसी भएको बताइन्। ‘पहिलोपटक यति धेरै पैसा जितेकी छु, यो पैसा आमालाई दिन्छु, अब त अझै धेरै खेल्छु,’ उनले भनिन्।

भेट्रान पुरुषतर्फ रैवत दाहाल ३८:०८:७१ मिनेटमा दूरी पूरा गर्दै प्रथम, बाँके खजुराका भरत श्रेष्ठ ४८:५६:२३ मिनेटमा लिंदै दोस्रो तथा महेन्द्र बज्राचार्य ४९:१९:२५ मिनेट लिंदै तेस्रो भए। लुम्बिनीका निवर्तमान सदस्यसचिव भीम ओली, समाजसेवी लिलबहादुर थापाले भेट्रानलाई पुरस्कृत गरे। भेट्रान विजेता रैवतले पछिल्लो पुस्तालाई दौडमा आकर्षित गरिरहन आफू दौडिरहेको प्रतिक्रिया दिए। ‘राति दौड्दा फरक अनुभूति हुने रहेछ,’ उनले भने।

नेपालगन्ज उपमहानगरपालिका प्रवेशद्वारअगाडि निर्मित नाइट रन गेटबाट सुरु भएको दौड बीपीको चोम, धम्बोजी चोक, पुष्पलाल चोक, कारकादो चोक हुँदै राँझा नजिकै पुगेर पुनः सोही रुटमा बीपी चोक पुगेपछि दौड सम्पन्न भएको थियो।

नेपालमै पहिलोपटक नाइट रन आयोजना सफल भएपछि आयोजक पदाधिकारी तथा नेपालगन्जवासी उत्साहित देखिएका थिए। यसअघि नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले दौडको उद्घाटन गरेका थिए।

प्रकाशित: ४ असोज २०८१ ८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =