राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गरौँ : राष्ट्रपति पौडेल

हिमाल प्रेस ३ असोज २०८१ १९:४२
8
SHARES
राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गरौँ : राष्ट्रपति पौडेल राष्ट्रपति रामचन्द्र पाैडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गर्न अपिल गरेका छन्।

संविधान दिवस, २०८१ को अवसरमा राष्ट्रपति भवन शीलत निवासमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति पौडेलले यस्तो अपिल गरेका हुन्। उनले भने, ‘हामी संकल्प गरौँ की हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन्। नागरिकको हितबाहेक हाम्रो राज्यको अरु कुनै स्वार्थ हुनेछैन।’

राष्ट्रपति पौडेलले लक्ष्य त्यसै प्राप्त नहुने र लक्ष्य प्राप्त गर्न संकल्प चाहिने उल्लेख गरे। उनले भने, ‘लक्ष्य प्राप्त गर्न साधना चाहिन्छ, लक्ष्य प्राप्त गर्न अविचलित भइ अगाडि बढ्ने अटल आस्था र उच्च नैतिक शक्ति चाहिन्छ। हामीले प्राप्त गर्न चाहेको राष्ट्रिय लक्ष्य हासिल गर्न आज महत्वपूर्ण संकल्प गरौँ, पहिलो संकल्प गरौँ, हामी लोकतन्त्रप्रति प्रतिबद्ध रहने छौँ। जस्तोसुकै अप्ठ्यारोमा पनि हामी लोकतन्त्रको गरिमालाई बचाउनेछौँ र नागरिकलाई केन्द्रमा राखेर अगाडि बढ्नेछौँ। अर्को संकल्प गरौँ कि हामी सुशासनप्रति प्रतिबद्ध रहने छौँ तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आबद्ध गर्नेछौँ।’

राष्ट्रपति पौडेलले समावेशीकरण र सामाजिक न्यायप्रति प्रतिबद्ध रहने तथा हाम्रा विभिन्न जाति, भाषा, धर्म, संस्कृति र सभ्यतालाई साझा बनाउने तेस्रो संकल्प गर्न आग्रह गरे। उनले भने, ‘भ्रातृत्व, एकता र समभाव हाम्रो जीवन पद्धति हुनेछ, सामाजिक एकता र आपसी सम्मान हाम्रो सांस्कृतिक चरित्र हुनेछ।’ जस्तोसुकै परिस्थितिमा पनि देश, यसको स्वाधिनता र सार्वभौमिकतालाई झुक्न दिनेछैनौँ भन्ने अर्को सङ्कल्प गर्न उनले आग्रह गरे। ‘पाँचौ, संकल्प गरौं कि हामी नागरिकको हितका लागि समर्पित हुनेछौ,’ राष्ट्रपति पौडेलले भने।

यी संकल्प गर्दै मुलुकको समृद्धिको यात्रामा अघि बढिरहँदा हामीले ध्यान दिनपर्ने केही महत्वपूर्ण विषय भएको उल्लेख गर्दै उनले राज्यलाई अझ लोकतान्त्रिक, न्यायपूर्ण, जनमुखी र सुशासित बनाउन आवश्यक रहेको बताए।

प्रकाशित: ३ असोज २०८१ १९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − eight =