राउटे समुदायका एक युवाको मृत्यु

हिमाल प्रेस ३ असोज २०८१ १७:३९
18
SHARES
राउटे समुदायका एक युवाको मृत्यु प्रतीकात्मक तस्बिर।

सुर्खेत- दैलेख जिल्लामा बस्दै आएको लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु भएको छ। ६ महिनादेखि फोक्सो र कलेजो रोगका कारण बिरामीले थलिएका २२ वर्षका बिर्खबहादुर शाहीको गए राति निधन भएको हो।

बिर्खबहादुर दैलेखको गुराँस गाउँपालिका-१ सिमेसालमाको जंगलमा बस्दै आएको राउटे बस्तीका युवा हुन्। उपचारमा जानै नमान्ने राउटे समुदायका ती युवालाई प्रदेश अस्पताल सुर्खेतमा भदौ ३१ गते मात्र लगिएको थियो। शाहीको खकार परीक्षण गर्दा क्षयरोग देखिएको अस्पतालले जनाएको छ।

शाहीलाई क्यान्सरको थप परीक्षणका लागि मासु लिएर चेक गर्न राउटेहरू मन्जुर नभएपछि अस्पतालले हिजो साँझ डिस्चार्ज गरेको थियो। अस्पतालबाट डिस्चार्ज गरेर साँझ बस्तीमा पुग्दै गर्दा शाहीको बाटोमा मृत्यु भएको थियो। बिर्खको मृत्युपछि राउटेको परम्परा अनुसार राति नै दाहसंस्कार भएको राउटे परियोजनाका शिक्षक लालबहादुर खत्रीले जानकारी दिए।

४२ घर रहेको यो राउटे बस्तीमा अहिले १ सय ३४ जना मात्र सदस्य छन्। २०७५ सालयता ४३ जना राउटेको मृत्यु भएको छ। हरेक वर्ष राउटेको जनसंख्या घट्दै गएको छ। फिरन्ते जीवन बिताउने राउटे जातीका धेरैजसो सदस्यले अधिक मदिरा सेवनका कारण अकालमा ज्यान गुमाउँदै गएका छन्। राउटे जातीको संरक्षणका लागि कर्णाली प्रदेश सरकार र गुराँस गाउँपालिकाले मासिक भत्ता वितरणसमेत गर्दै आएको छ।

प्रकाशित: ३ असोज २०८१ १७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =