संविधान लागू गर्न सत्तामा बसेका नेताहरूले ध्यान दिएनन् : डा. शेखर कोइराला

हिमाल प्रेस ३ असोज २०८१ ७:३६
18
SHARES
संविधान लागू गर्न सत्तामा बसेका नेताहरूले ध्यान दिएनन् : डा. शेखर कोइराला डा. शेखर कोइराला।

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानलाई इमानदारीपूर्वक लागू गर्न सत्तामा बसेका नेताहरुले ध्यान नपुर्‍याएको आरोप लगाएका छन्। संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो आरोप लगाएका हुन्।

कोइरालाले शुभकामना सन्देशमा भनेका छन्, ‘नौ वर्षअगाडि जारी भएको संविधानलाई इमानदारीपूर्वक लागू गर्न यस कालखण्डमा सत्तामा बसेका नेताहरुले खास ध्यान पुर्‍याएनन्।’

देशमा संघीय लोकतान्त्रिक गणतन्त्र लागू भए पनि संस्कारजन्य रूपमा एकात्मक राज्यको सोच र सिंहदरबार नै सबै थोक हो भन्ने मानसिकताबाट मुक्त हुन नसकेको सन्देशमा उल्लेख छ। कोइरालाले भनेका छन्, ‘यही कारण हो आज संविधानमाथि दबाब छ, यही कारण आज संघीय संरचनामाथि दबाब छ।’

राज्यको नयाँ संरचना निर्माणपछि उत्पन्न कानुनी जटिलताहरुलाई सम्बोधन गर्न ऐनकानुन तीव्रताका साथ निर्माण गर्नुपर्नेमा त्यसमा चुकेको कोइरालाको टिप्पणी छ। ‘कैयन् कानुन समयमा बनेनन्, कैयन् अझै बनेका छैनन्।’ यसैगरी उनले एकातिर राज्य संरचना अगाडि बढाउने ऐनकानुनको अभाव भएको अर्कोतिर संविधानको आफूअनुकूल व्याख्या गर्ने राजनीतिक नेतृत्वको सोचले आममानिसमा संविधानप्रति निराशा छाएको सन्देशमा उल्लेख गरेका छन्।

सरकार र राजनीतिक दलहरुले नेपालको सुन्दर भविष्य संविधानको जगबाट मात्र निर्माण गर्न सकिन्छ भन्ने हेक्का राख्न नसक्दा देशमा सामाजिक न्याय, आर्थिक वृद्धि सुशासनका कुरा गफ र भाषणमा मात्रै सीमित भएको आरोप नागरिकबाट आइरहेको कोइरालालले उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘संविधानतः सबै नेपाली नागरिक समान छन् भन्ने कुरा व्यवहारमा नदेखिँदा राज्यमाथि आममानिसको भरोसा र विश्वास संकटमा परेको छ।’ कार्यकारीमा बस्ने नेतृत्वको शक्तिको असीमित चाहनाले संविधानको मूल मर्म ‘शक्ति पृथकीकरणको सिद्धान्त’ लाई नै चोट पुग्न गएको सन्देशमा उल्लेख छ।

कोइरालाले भनेका छन्, ‘नेपालका संवैधानिक निकायहरुको गरिमा र भूमिकामाथि आमनेपालीले प्रश्न उठाएका छन् भने यसको पछाडि कार्यकारीबाट गरिने ‘मिचाहा प्रवृत्ति’ जिम्मेवार छ।’ उनले राज्य सञ्चालनका निकायमा सक्षम, योग्य र इमानदार मानिसहरूलाई पन्छाएर ‘आफ्नो मान्छे’ भर्ना गर्ने सामन्तवादी सोचबाट हामी कहिले मुक्त हुने भनेर प्रश्न गरेका छन्।

संविधानले नेपाल र नेपालीलाई राजनीतिक रूपले मात्र होइन भावनात्मक रूपले पनि जोडेको उल्लेख गर्दै कोइरालाले शुभकामना सन्देशमा भनेका छन्, ‘यो सबै नेपालीको साझा दस्तावेज मात्र होइन ‘साझा उपलब्धि र भविष्य’ पनि हो। हामी जुनसुकै राजनीतिक दल, वाद, समुदाय वा क्षेत्रको भए पनि देश वा विदेश बसेका छौँ भने पनि यो संविधानमार्फत आफ्नो र देशको भविष्य निर्माण गरौँ। यसका कमीकमजोरीलाई समय सापेक्ष परिमार्जन र सुधार गर्दै राष्ट्रहितमा अघि बढौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =