स्वर्गद्वारी महाप्रभुको मन्दिर पुनर्निर्माणमा सहयोगको अपिल

हिमाल प्रेस २ असोज २०८१ २२:३६
20
SHARES
स्वर्गद्वारी महाप्रभुको मन्दिर पुनर्निर्माणमा सहयोगको अपिल

काठमाडौँ– तपोभूमि श्रीस्वर्गद्वारी आश्रम प्युठानमा स्वर्गद्वारी महाप्रभुको भव्य मन्दिर पुनर्निर्माण हुने भएको छ। यसका लागि श्रीस्वर्गद्वारी आश्रमले आआफ्नो श्रद्धाशक्तिअनुसार आर्थिक सहयोग गर्दै महाप्रभुको आराधना कार्यमा सहभागी बन्न सबै श्रद्धालु दातालाई अपिल गरेको छ।

नेपाली कला, शैली र प्रविधिको संयोजन गरी मन्दिर कलात्मक, आकर्षक र उदाहरणीय बनाउने लक्ष्य रहेको आश्रमले जनाएको छ। ‘यो मन्दिर नेपालको नमुना मन्दिर मध्ये एक उदाहरणीय हुनेछ’, आश्रमले जारी गरेको अपिलमा भनिएको छ।

श्रीस्वर्गद्वारी महाप्रभुप्रति श्रद्धा, आस्था र विश्वास राख्ने दानवीर भक्तजनको आर्थिक सहयोगमा भव्य मन्दिरको निर्माण गर्न लागिएको हो। नेपाली प्यागोडाशैलीको मन्दिरमा वास्तुकलाको सुन्दर नमुना बनाइनेछ। साथै दुईतले छानो र चारैतर्फ मुख्य कलात्मक काष्ठद्वार, प्रत्येक टुँडाल र लकासीमा भगवान्‌का विभिन्न अवतार चित्रांकित काष्ठकलाको प्रयोग गरिने छ।

श्रीस्वर्गद्वारी आश्रम सनातन धर्मावलम्बीहरूको आस्थाको धरोहरका रूपमा रहेको योगभूमि, यज्ञभूमि र तपोभूमिको समन्वयात्मक आध्यात्मिक तीर्थस्थल हो।

ऐतिहासिक, पौराणिक एवं धार्मिक महत्त्व बोकेको यस आश्रमको स्थापना विश्वकल्याणको पवित्रतम् उद्देश्यका साथ वि.सं.१९५२ सालमा अनन्त श्रीविभूषित स्वर्गद्वारी महाप्रभुबाट भएको हो।

विश्वशान्ति र विश्वका समस्त प्राणीमात्रको कल्याणार्थ सञ्चालित महायज्ञसहित श्रीस्वर्गद्वारी आश्रमको गुरुतर भार महाप्रभुले पौरस्त्य धर्म-संस्कृतिको नासोको रूपमा वैदिक सनातनीहरूलाई सुम्पिएको आश्रमले जनाएको छ।

यसैगरी स्वर्गद्वारी महाप्रभुले जीवनपर्यन्त कठोर तपस्या गरी समाधि लिएको स्थान गुफा मन्दिर स्वर्गद्वारी दर्शनार्थ आउने भक्तजनहरूको श्रद्धा र समर्पणको केन्द्र हो। सबैको अभिलाषा पूर्ण हुने यस मन्दिरमा शिवस्वरूप महाप्रभुको नामबाट शिवलिंगमा नित्य पूजा हुन्छ।

जीर्ण बनेको र दैनिक पूजामा समेत कठिनाइ बन्दै गएको, दर्शनार्थीहरूको भीड बढ्दै जाँदा दर्शन गर्न-गराउनसमेत कठिनाइ भएकोले पुनर्निर्माण गर्नुपर्ने आवश्यकता भएको आश्रमको अपिलमा उल्लेख छ।

सहयोग गर्न चाहनेले स्वर्गद्वारी आश्रमको नाममा कृषि विकास बैंक घोराही शाखाको खाता नं. ०९१९२००९८२५२७०१० रकम जम्मा गर्न, भागवत संन्यास आश्रम एवं गुरुकुल पशुपति राममन्दिरको मोबाइल ९८४१६०१२५९ र श्रीस्वर्गद्वारी आश्रम, प्युठानको मोबाइल ९८५७८३५०४२ मा सम्पर्क गर्न सक्नेछ।

प्रकाशित: २ असोज २०८१ २२:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 17 =