‘पार्टीभित्र कुनै असन्तुष्टि छैन, महन्थजी हाम्राे अभिभावक हुनुहुन्छ’

हिमाल प्रेस २ असोज २०८१ १९:३८
130
SHARES
‘पार्टीभित्र कुनै असन्तुष्टि छैन, महन्थजी हाम्राे अभिभावक हुनुहुन्छ’ लाेसपा नेता जितेन्द्र साेनल

काठमाडौँ – मधेश प्रदेश संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा यतिबेला असन्तुष्टी चुलिएको छ। आठजना प्रदेश सांसदमध्ये पाँच जनाको समर्थनमा सोनल दलको नेतामा चयन भए पनि अध्यक्ष महन्थ ठाकुरले निर्णय कार्यान्वयन नगर्न सभामुखलाई पत्राचार गरेपछि लोसपामा असन्तुष्टी चुलिएको हो। महाधिवेशनको पूर्वसन्ध्यामा लोसपाभित्र असन्तुष्टी पैदा भएपछि नेता–कार्यकर्तामा पनि एकखाले निराशा देखिएको छ। तर, सोनल भने यो विषयमा पार्टीभित्र कुनै विवाद वा असन्तुष्टी नरहेको दाबी गर्छन्। प्रस्तुत छ हिमालप्रेसले सोनलसँग गरेको संक्षिप्त कुराकानीको अंश :

अहिले जनकपुरमा बसेर के गरिरहनु भएको छ?

महाधिवेशन नजिकिँदैछ। हामी संगठन निर्माणमा जुटेका छौँ। सदस्यता वितरण अभियानलाई जोडतोडका साथ अगाडि बढाएका छौँ। संगठन निर्माण यतिबेला हाम्रो प्राथमिकतामा रहेको छ। गाउँदेखि टोलसम्म पुगेर संगठन निर्माण र सदस्यता वितरण अभियानलाई तीव्रता दिएका छौँ।

नेतृत्वसँग खटपट भएको कुरा बाहिर आएको छ नि?

महन्थ ठाकुर हाम्रो नेता हुनुहुन्छ। पहिले पनि उहाँ हाम्रो नेता हुनुहुन्थ्यो अहिले पनि हाम्रो नेता हुनुहुन्छ। उहाँकै नेतृत्वमा हामीले संगठन निर्माणलाई अगाडि बढाउने काममा जुटेका छौँ। जहाँसम्म असन्तुष्टि र खटपटजस्ता कुरा बाहिर आएको छ, त्यो सबै अपवाहमात्र हो। उहाँसँग कुनै खपटपट भएको छैन र हुँदैन पनि। महन्थजीकै नेतृत्वमा अहिलेसम्म काम गरेका छौँ। उनकै नेतृत्वमा काम गरिरहने छौँ।

तपाईंले स्वीकार नगरे पनि पार्टीभित्र केही नकेही असन्तुष्टी पक्कै पनि देखिएको छ? के हो त्यो?

होइन। एउटै परिवारका सदस्यहरूबीच सन्तुष्टी र असन्तुष्टी भइरहन्छ। हामी त पार्टीमा बसेर काम गरिरहेका छौँ। पार्टी पनि एउटा परिवार सरह नै हो। यहाँ पनि कहिले सन्तुष्टी, कहिले असन्तुष्टी भइरहन्छ। कहिले मनमुटाव पनि हुन्छ। यी सबैलाई म नियमित प्रक्रिया ठान्छु। बेलाबेला यस्ता कुराहरूको सामना परिवार र पार्टीका सदस्यहरूले गरिरहनुपर्छ। यसलाई गम्भीरताका साथ लिन जरूरी छ भन्ने म ठान्दिनँ। हुनत हामीबीच कुनै असन्तुष्टी, मनमुटाव वा तिक्तताजस्तो केही कुरा छैन। महन्थजी मेरो नेता हुनुहन्छ, मेरा अभिभावक पनि हो। उहाँबाट निर्देशित सिद्धान्त र नीति अनुसरण गर्नु हाम्रो दायित्व हो नै जिम्मेवारी पनि।

 त्यसो भए तपाईँ महन्थ ठाकुरबाट असन्तुष्ट हुनुहुन्न?

पक्कै पनि छैन। उहाँ मरो पार्टी अध्यक्षमात्रै होइन, अभिभावक पनि हुनुहुन्छ। उहाँले अपनाएको सिद्धान्त र नीतिअनुसार अहिलेसम्म हामी अगाडि बढ्दै आएका छौँ। उहाँकै निर्देशनअनुसार पार्टीमा काम गर्दै आएका छौँ। उहाँ सँधै सिद्धान्त र नीतिमा ठडिएर बस्ने व्यक्ति हुनुहुन्छ यो कुरालाई कसैले अस्वीकार गर्ने ठाउँ छैन। उहाँकै नेतृत्वमा यतिबेला हामी महाधिवेशनको तयारीमा जुटेका छौँ। संगठन निर्माण र सदस्यता वितरण अभियानलाई तीव्र पारिएको छ। महन्थजीकै नेतृत्वमा पूरा जोसका साथ महाधिवेशनको तयारीमा हामी जुटेका छौँ। पार्टीभित्र कुनै खटपट वा असन्तुष्टीजस्तो कुनै कुरा छैन। महन्थजीबाट म असन्तुष्ट हुने झनै कुनै कुरा नै भएन।

महाधिवेशन तोकिएकै समयमा हुन्छ त?

निश्चित रूपमा हुन्छ। महाधिवेशनको तयारीका लागि पार्टीको सबै निकाय जुटिसकेको छ। जिम्मेवारी प्रदान गरिएअनुसार सबै तह आ–आफ्नो ढंगबाट तयारीमा जुटेको छ। महाधिवेशन समयमै हुन्छ ढुक्क हुनुस्।

प्रकाशित: २ असोज २०८१ १९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast