काठमाडौँ- नेपालमा के हुन्छ र भनेर युवा पुस्ता विदेश पलायन हुने क्रम बढ्दो छ। अधिकांशको गुनासो हुन्छ, देशभित्र केही गर्ने वातावरण छैन। दैनिक दुई हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गइरहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ।
स्वदेशमै केही गर्नुपर्छ र गर्न सकिन्छ यतै बसेर पाखुरा खियाउने युवा कमै छन्। यस्तैमध्येका एक हुन् चितवन कालिका नगरपालिका-२ पदमपुरका कमल शर्मा सुवेदी। उनको पहिचान बनेको छ, च्याउ किसान।
सुवेदी च्याउखेतीबाटै आत्मनिर्भर बन्ने उद्देश्यका साथ व्यावसायिक च्याउ उत्पादन थालेको बताउँछन्। उनले ‘रेन्स्की एग्रो फार्म’मार्फत डल्ले र पाते च्याउ गर्दै आएका छन्। उनी भन्छन्, ‘परिवारसँगै बसेर व्यावसायिक च्याउ खेती गरिरहेको छु। सबैले साथ दिएका छन्। कर्म गरे आफ्नै ठाउँमै राम्रो आम्दानी गर्न सकिन्छ।’
सुवेदी पनि चार वर्षअगाडि वैदेशिक रोजगारीमा युरोप र जापान जान कस्सिएका थिए। गाउँमै एकजना दाइले कृषि पेसामा लागेर आर्थिक रूपमा उचाइ प्राप्त गरेको देखेपछि उनले विदेश जाने योजना स्थगित गरे। उनले भने, ‘जहाँ गए पनि काम नगरी पैसा कमाउन सकिँदैन। त्यही भएर स्वदेशमै एकपटक खेती किसानी गर्नुपर्यो भनेर विदेशमोह त्यागेँ।’
उनको फार्ममा १२ वटा टनेलमार्फत डल्ले च्याउ उत्पादन भइरहेको छ। १०५ वटा टनेलमा पाते च्याउ उत्पादन भइरहेको छ। दुवै च्याउखेती आधुनिक प्रविधिबाट भइरहेको उनले बताए। च्याउ स्वास्थ्यका लागि फाइदाजनक भएका कारण यसमा लागेको उनी बताउँछन्। सुवेदीले १२ वटा टनेलमा गरी ६५ दिनमा करिब २४ हजार किलो डल्ले च्याउ उत्पादन हुने गरेको बताए। उनले भने, ‘पाते च्याउ ६० दिनमा ३५ हजार किलोभन्दा बढी उत्पादन हुन्छ।’
एक वर्षमा ६ पटकसम्म च्याउ उत्पादन गर्न सकिन्छ। गर्मी मौसमलाई सुहाउँदो टनेल निर्माण गरी वर्षैभरि च्याउ उत्पादन गरिरहेको उनले बताए। ‘डल्ले च्याउ फार्मबाटै प्रतिकिलो चार सय रुपैयाँमा बिक्री हुन्छ। पाते च्याउ तीन सय रुपैयाँ किलोमा बिक्री हुन्छ।’ उनले उत्पादन गरेको ७० प्रतिशत च्याउ चितवनमै व्यापार हुन्छ। पाते च्याउको सबैभन्दा ठूलो बजार चितवन, काठमाडौँ र मुस्ताङका होटल रहेको उनको भनाइ छ।
सुवेदीले तापक्रम मिलाउन ‘एयर हेन्डलिङ युनिट’ जडान गरेर च्याउ उत्पादन गर्दै आएका छन्। आफूले इजरायल र जर्मनी प्रविधिको प्रयोग गरेर च्याउ उत्पादन गरिरहेको उनी बताउँछन्। फार्ममा गर्मी र चिसो मौसममा वातानुकूलित टनेलमा च्याउ उत्पादन भइरहेको छ। सुवेदीले एउटा टनेल निर्माणका लागि १९ लाख रुपैयाँ खर्च गरिएको बताए।
सुवेदी भन्छन्, ‘काम निकै दुःख छ। तर च्याउ टिप्ने र बजार लैजाने बेलामा निकै आनन्द आउँछ। च्याउखेतीबाट हुने आम्दानीबाट पनि सन्तुष्ट छु।’ २०७९ पुसदेखि च्याउ उत्पादन सुरु गरेका सुवेदीले सबै खर्च कटाएर मासिक एक लाख २० हजारभन्दा बढी आम्दानी गर्दै आएका छन्। उनले फार्ममा परिवारका सदस्यबाहेक तीनजनालाई रोजगारी दिएका छन्।
सुवेदीले सुरुमा पाते च्याउ उत्पादन गरेका थिए। गत वर्षदेखि डल्ले च्याउ पनि उत्पादन थालेका कारण १ करोड ५० लाखभन्दा बढी लगानी भइसकेको उनले जानकारी दिए। उनी भन्छन्, ‘फार्ममा वार्षिक ५० देखि ६० लाखको च्याउ उत्पादन हुन्छ।’ च्याउखेतीबाट आएको नाफा फार्ममै लगानी गर्दै आएको सुवेदी बताउँछन्।
नेपालमा पहिले डल्ले च्याउ आयात हुने गरेको थियो। अहिले देशका विभिन्न ठाउँमा व्यावसायिक उत्पादन हुने थालेपछि स्वदेशी उत्पादनले बजार धान्न थालेको सुवेदी बताउँछन्। ‘नेपालमा दैनिक ३० हजार किलो च्याउ खपत हुन्छ। यति च्याउ नेपालमै उत्पादन भइरहेको छ। सरकारले विदेशी च्याउ आयातमा रोक नलगाउँदा स्वदेशी च्याउ उत्पादक मार परिरहेका छन्’, उनले भने।
किसानले दुःख गरेर च्याउखेती गरिरहे पनि बजारमा भने भारतबाट भन्सार छलेर ल्याइएको च्याउ सस्तो च्याउ बिक्री भइरहेको उनको गुनासो छ। यस कारण पनि नेपाली उत्पादकले कुनै मौसममा लगानी उठाउन मुस्किल भइरहेको उनले बताए।
सुवेदीले भने, ‘भन्सार छली गरेर भित्र्याइएको भारतीय च्याउ सरकारले नियन्त्रण गर्ने हो भने स्वदेशी च्याउले राम्रो बजार र भाउ पाउँछ। सरकारले यसरी भित्रिने च्याउमा रोक लगाउनुपर्छ।’
खुला नाकाबाट भारतीय च्याउ भित्र्याएर केही कृषि बिचौलियाले स्वदेशी च्याउ उत्पादक व्यवसायी र किसान विस्थापित गर्न खोजिरहेको आरोप उनको छ।
च्याउ उमार्न १६ डिग्रीको तापक्रम चाहिन्छ। यसलाई फलाउन १८ डिग्रीका तापक्रम मिलाउनुपर्छ। नेपालमा गोब्रे, कन्ये, पराले र सिताके गरी चार जातका च्याउ उत्पादन हुन्छन्। कन्ये तथा गोब्रे च्याउ बढी प्रयोग गरिन्छ। काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, पोखरा, धरान, विराटनगर, चितवन र कैलालीमा च्याउखेती गरिन्छ।