दृष्टि फाउन्डेसनलाई कैलाली विद्या निकेतनको खाद्यान्न र स्टेसनरी सहयोग

हिमाल प्रेस १ असोज २०८१ १४:४३
40
SHARES
दृष्टि फाउन्डेसनलाई कैलाली विद्या निकेतनको खाद्यान्न र स्टेसनरी सहयोग

धनगढी- कैलाली विद्या निकेतन धनगढीले २५औँ स्थापना दिवस समारोहबीच दृष्टि फाउन्डेसनलाई खाद्य सामग्री तथा स्टेसनरी प्रदान गरेको छ। बेसहारा महिला एवं बालबालिकालाई आश्रय दिइरहेको फाउन्डेसनलाई विद्यालयले सहयोग गरेको हो।

फाउन्डेसनमा हाल ६१ महिला र १६ बालबालिका आश्रित छन्। उनीहरूको लालनपालनमा थोरै भए पनि सहजता होस् भन्ने उद्देश्यका साथ सहयोग गरिएको विद्यालयका संस्थापक एवं प्रिन्सिपल टोपेन्द्र शाहले बताए।

२०५६ सालमा स्थापना भएको विद्यालयमा नर्सरीदेखि १० कक्षासम्म अध्यापन हुँदै आएको छ। शाहले विद्यालयलाई स्थापना कालदेखि हालसम्म सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्दै यस वर्ष रजत जयन्ती भएकाले आन्तरिक सदनात्मक प्रतियोगिता, तहगत प्रतियोगिताका साथै अतिरिक्त अन्तर विद्यालय स्तरीय विविध प्रतियोगिता, पूर्वविद्यार्थी मिलन कार्यक्रम गरिने जानकारी दिए।
‘हामी निरन्तर २५ वर्षदेखि शिक्षाको गुणस्तर अभिवृद्धिमा केन्द्रित छौँ। २५औँ वर्ष पार गर्दा हामी थुप्रै अभिभावक र विद्यार्थीको मन जित्न सफल भएका छौँ। त्यसले हामीलाई बलियो बनाउँदै लगेको छ’, उनले भने।
आगामी दिनमा पनि शैक्षिक गुणस्तर अभिवृद्धिमा कुनै सम्झौता नगरिने शाहको भनाइ छ। विद्यार्थी र अभिभावकको चाहनाअनुरूप समयसापेक्ष शिक्षा प्रदानमा अग्रणी भूमिका निर्वाह गर्दै आएको विद्यालयले आगामी दिनमा पनि त्यसलाई निरन्तरता लिने उनले बताए।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सदस्यसमेत रहेको विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको कार्यक्रमका सहभागीहरूले बताएका थिए।

प्रकाशित: १ असोज २०८१ १४:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast