काठमाडौँ- गोरखाको मनास्लु क्षेत्र घुम्न आउने पर्यटकका लागि त्यहाँस्थित चुमनुब्री गाउँपालिकाले प्रवेश शुल्क उठाउने निर्णय कार्यान्वयन नगर्न मनास्लु संरक्षण क्षेत्र आयोजनाले अनुरोध गरेको छ।
गत भदौ २० गते गाउँपालिकाका पदाधिकारी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, पर्यटन व्यवसायी तथा सरोकारवालाको बैठकले गाउँपालिकाले मनास्लु क्षेत्र प्रवेश गर्ने विदेशी पर्यटक र स्वदेशी पर्यटकका लागि शुल्क तोक्ने निर्णय गरेको थियो। गाउँपालिकाले विदेशी पर्यटक प्रतिव्यक्ति एक हजार र नेपाली पर्यटक प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क लिने निर्णय गरेको थियो।
अहिले संरक्षण क्षेत्र आयोजनाले गाउँपालिकालाई ‘पदयात्रा प्रवेश शुल्क संकलन गर्ने निर्णय कार्यान्वयन नगराउन’ अनुरोध पत्र लेखेको हो।
आयोजनाले चुमनुब्री गाउँपालिकाको सबै क्षेत्र यस मनास्लु संरक्षण क्षेत्रमा पर्ने र यस संरक्षण क्षेत्रमा पदयात्रामा आउने सबै विदेशी, सार्क तथा नेपाली पर्यटकका लागि कोषबाट व्यवस्थापन गरिएको प्रवेश शुल्क संकलन केन्द्रबाट विदेशीलाई तीन हजार, सार्क राष्ट्रका पर्यटकलाई एक हजार र नेपालीलाई एक सय लिने व्यवस्थालाई नै निरन्तरता दिन भनेको छ।
गाउँपालिकाले स्थानीय शासन सञ्चालन ऐन र स्थानीय आर्थिक ऐन २०८१ बमोजिम शुल्क तोकेको भनेको छ।
आयोजनाले भने उक्त ऐनमा जे कुरा लेखिएको भए पनि स्थानीय शासन सञ्चालन ऐन २०७४ को परिच्छेद ९ उपदफा ६४ को २ अनुसार उपदफा १ मा जुनसुकै कुरा लेखिएको भएतापनि पर्वतारोहण शुल्क, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा संरक्षण क्षेत्रको प्रवेश शुल्क निर्धारण र संकलन नेपाल सरकारले व्यवस्था गरे बमोजिम हुनेछ भनेर लेखेकोले सोहीअनुसार गर्न भनेको छ। आयोजनाले नियमित विपरीत शुल्क लिँदा नकारात्मक सन्देश जाने पनि बताएको छ।
अब मनास्लु प्रवेश शुल्क चुमनुब्री गाउँपालिकालाई पनि तिर्नुपर्ने