प्रधानाध्यापक, शिक्षक, पालिका र विषयविज्ञ मिलेर ‘संरक्षण शिक्षा’ पाठ्यक्रम निर्माण गरिँदै

हिमाल प्रेस १ असोज २०८१ ११:२२
86
SHARES
प्रधानाध्यापक, शिक्षक, पालिका र विषयविज्ञ मिलेर ‘संरक्षण शिक्षा’ पाठ्यक्रम निर्माण गरिँदै

बागलुङ-  जलवायु परिवर्तन र जैविक विविधताको संरक्षणका लागि स्थानीय पाठ्यक्रम तयार गर्नुपर्ने आवाज उठ्न थालेको छ। नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जैविक विविधताको संरक्षणका लागि नयाँ पुस्तालाई तयार गर्न पाठ्यक्रम आवश्यकता रहेको आवाज उठ्न थालेको हो।

सिकार आरक्षवरपर रहेका निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा रहेका विद्यालयका प्रधानाध्यापक, विज्ञान शिक्षक लगायतका सरोकारवालाले पाठ्यक्रमको आवश्यकता औँल्याए। ‘संरक्षण शिक्षा’ सम्बन्धी स्थानीय पाठ्यक्रम तयार गरेर माध्यमिक तहका विद्यार्थीलाई पढाउन सके जलवायु परिवर्तनका कारण जैविक विविधतामा देखिने समस्यासँग अनुकूलित हुन जनस्तरमा चेतना पुग्ने उनीहरूको धारणा थियो।

बागलुङको बुर्तिबाङमा चार दिनसम्म चलेको कार्यशालाबाट उनीहरूले ‘संरक्षण शिक्षा’ सम्बन्धी स्थानीय पाठ्यक्रम सिकाइ युनिटको खाका समेत तयार गरेका छन्। दिगो पर्यटन प्रवर्द्धन परियोजनाअन्तर्गत वातावरण तथा जैविक विविधता संरक्षणमा पारेको प्रभावका विषयमा आयोजित कार्यशालामा जलवायु परिवर्तन, वातावरण संरक्षण, दिगो पर्यटन प्रवर्द्धन तथा जैविक विविधताका विषयमा बृहत् छलफल भएको थियो। ढोरपाटन र निसीखोलाका स्थानीय विषयलाई प्राथमिकतामा राखेर सुरु भएको छलफलमा पाठ्यक्रमको आवश्यकता औँल्याइएको हो।

ढोरपाटन नगर र निसीखोलाका १२ विद्यालयका प्रधानाध्यापक, विज्ञान शिक्षक, पालिकाका शिक्षा संयोजकसहित विषयविज्ञको सहभागितामा पाठ्यक्रम निर्माणको माग उठेपछि संरक्षण शिक्षा पाठ्यक्रम र सिकाइ युनिटको खाका तयार पारिएको परियोजना निर्देशक अमर थापाले जानकारी दिए।

‘बढ्दो तापमान, हाम्रो मौसमी प्रणालीमा आएको फेरबदल र नागरिकको तहमा परेको जलवायु परिवर्तनको असरका विषयमा चर्चा हुन जरुरी थियो,’ उनी भन्छन्,‘हामीले प्राकृतिक रूपमा भइरहेको परिवर्तनलाई रोक्न सक्दैनौँ तर अनुकूलनका उपायहरूमा पुग्न सक्छौँ।’ छलफलबाट तयार भएको पाठ्यक्रमको खाकामा पर्यटन क्षेत्रका सम्भावना, स्थानीय वस्तु तथा सेवाको बजारीकरण, स्थानीय वस्तुको उपयोग लगायतका विषय समावेश रहेको उनले बताए।

पाठ्यक्रम र सिकाइ युनिटको खाका तयार भए पनि त्यसको कार्यान्वयनका लागि भने स्थानीय तह तत्पर हुन जरुरी छ। स्थानीय तहले बनाइरहेको स्थानीय पाठ्यक्रममा खाका अनुसारका विषयवस्तु समावेश हुँदा माध्यमिक तहमा जलवायु परिवर्तन र जैविक विविधताको विषय पढाइ हुने उनले बताए। पाठ्यक्रमका लागि परियोजनाले स्थानीय तहसँग अनुरोध गर्ने जनाएको छ।

प्रकाशित: १ असोज २०८१ ११:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 3 =