भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव तथा राज्य सभाका पूर्वसदस्य सीताराम येचुरीको गत साता ७२ वर्षको उमेरमा निधन भयो। श्वासप्रश्वाससम्बन्धी समस्या झेलिरहेका येचुरीको नयाँदिल्लीस्थित एक अस्पतालमा उपचार भइरहेको थियो। येचुरीले आफ्नो राजनीतिक जीवनकालमा गरिखाने वर्ग, संविधान, सामाजिक न्याय र समानाताप्रति प्रतिबद्ध नेताको परिचय निर्माण गरेका थिए। येचुरीको निधन हुँदा भारतीय राजनीति शोकमा डुब्यो।
सीताराम येचुरीलाई नजिकका साथीभाइ सीता भनेर बोलाउँथे। सानो उमेरमै राष्ट्रिय राजनीतिमा स्थापित उनको उदय भने जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) बाट भएको थियो। सन् १९७० को त्यो दशकमा उनी वामपन्थी खेमाबाट उदाएका हुन्। सन् १९७७ देखि १९७८ को बीचमा उनी जेएनयू विद्यार्थी युनियनको अध्यक्षमा तीन पटक चुनिएका थिए। राष्ट्रिय राजनीतिमा स्थापित भइसकेपछि पनि उनी त्यो कालखण्डलाई पटकपटक सम्झिन्थे।
येचुरीको ठट्यौली पारामा विद्यार्थी राजनीतिको सम्झना गर्ने बानी थियो। जेएनयूमा विद्यार्थी युनियनको निर्वाचन जिते पनि उनलाई सहजै काम गर्न दिइँदैन थियो। संकटकाल भर्खरै समाप्त भएको त्यसबेलाको भारत येचुरीजस्ता युवा वामपन्थी नेताका लागि सहज अवश्य थिएन। उनी पटकपटक पक्राउ परे। यद्यपि उनलाई विश्वविद्यालयको राजनीतिले आखिरमा पार्टीको विद्यार्थी संगठनको राष्ट्रिय अध्यक्ष पदसम्मै पुर्यायो। उनी सन् १९८० दशकको उत्तरार्धमा सीपीआई (एम) को विद्यार्थी संगठन एसएफआईको अध्यक्ष चुनिएका थिए।
भारतीय राजनीतिमा येचुरीको सम्झना साम्प्रदायिकता र अधिनायकवादविरुद्ध लड्न संसद्मा रहेका फरकफरक राजनीतिक धारका दलहरुलाई एक ठाउँमा ल्याउने सांसदका रूपमा गरिनेछ। एक कम्युनिस्टका रूपमै जीवन समापन गरेका येचुरीका तमाम सफलतामध्येको एक सफलता यो पनि हो।
जेएनयूमा राजनीतिसँगै सेन्टर फर इकनमिक स्टडिज एन्ड प्लानिङमा अघि बढेको पढाइले येचुरीलाई परिस्कृत बनाउँदै लगेको थियो। उनले जेएनयूमै भारतीय कृषिमाथि शोध गर्नेगरी विद्यावारिधि सुरु गरेका थिए। येचुरीले विद्यावारिधिको उपाधि लिन भने सकेनन्। यद्यपि सुरुवाती अनुसन्धानका आधारमा उनले तयार पारेको शोध सन् १९७६ मा ‘इकनमिक एन्ड पोलिटिकल विक्ली’मा प्रकाशित भएको थियो।
विद्यार्थीका रूपमा सधैँ तेज मानिएका येचुरी उसबेलाको मद्रास (अहिलेको चेन्नई) मा जन्मिएका थिए। उनको परिवार आन्ध्र प्रदेशको काकिनाडाबाट चेन्नई बसाइँ सरेको थियो। हैदराबादमा हुर्किएका उनले विद्यालय शिक्षा त्यहीँ पूरा गरे। अंग्रेजी र हिन्दी भाषामा पोख्त उनी उच्चशिक्षाका लागि दिल्ली पुगेका थिए। माध्यमिक तहको केन्द्रीय परीक्षामा भारत टप गरेका येचुरीले स्नातक तहको अध्ययन दिल्लीको सेन्ट स्टिफन्स कलेजबाट गरेका थिए।
पढाइमा सधैँ अब्बल येचुरी टेनिस खेल्न मन पराउँथे। पुराना हिन्दी चलचित्रका गीत सुन्थे र गुनगुनाउँथे। उनलाई असाध्यै मन परेको र गुनगुनाउने गीतमध्येको एक थियो, काबुलीवाला चलचित्रको ए मेरे प्यारे वतन।
विद्यार्थी र विद्यार्थी नेताका रूपमा येचुरीका सिनियर थिए प्रकाश करात। कालान्तरमा यी दुई पार्टीमा स्थापित भए। तर त्यसअघि येचुरी र करात एसएफआईसँग आबद्ध हुन आइपुग्ने विद्यार्थीका लागि प्रशिक्षकजस्तै थिए।
विद्यार्थी राजनीतिको सुरुवाती दिनमै येचुरी लोकप्रिय बन्न सकेका थिए। यसको एक कारण थियो, उनको विचार अभिव्यक्त गर्ने शैली। सरल शब्दमा गहन विचार व्यक्त गर्न सिपालु उनी विद्यार्थीको भीडमा लोकप्रिय हुन थालेका थिए। उनलाई के भान भइसकेको थियो भने कम्युनिस्ट विचार सरल शब्दमा व्यक्त गरिनुपर्छ, न कि कठिन प्राविधिक शब्दको प्रयोग गरेर। उनलाई के पनि थाहा थियो भने गरिखाने वर्गको संघर्ष सरल शब्दमा उठाउन सकेमात्र समाजमा परिचित होइन्छ।
येचुरी सरल स्वाभावका थिए। सहजै उपलब्ध हुन्थे। हरेकको पहुँचमा थिए। नेताका रूपमा लोकप्रिय थिए। उनको लोकप्रियताको जग पूरा नहुने राजनीतिक वा अन्य किसिमका वाचा थिएनन्। उनी भाषणमा उत्तेजना पैदा गर्दैन थिए। बरु सबैले सजिलै बुझ्ने गरी आफ्नो विचार राख्थे।
येचुरी विद्यार्थी राजनीतिमा छँदाछँदै सन् १९८० दशकको मध्यतिरै पार्टी राजनीतिमा जोडिएका थिए। विद्यार्थी राजनीतिमा स्थापित भएको थोरै समयमै पार्टीको उपल्लो वृत्त छोएका उनलाई सीपीआई (एम) को ‘राइजिङ स्टार’ भन्ने गरिन्थ्यो। उनी सन् १९८० को दशकमा एसएफआईले निकाल्ने जर्नलको सम्पादक बनेका थिए। यो त्यसबेलाको कुरा हो जतिबेला भारतमा विद्यार्थीको सरकारविरोधी संघर्ष चरम बिन्दुमा थियो।
सीपीआई (एम) मा लागेको १० वर्षपछि येचुरी सन् १९८५ मा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। संयोगवश त्यसपछिका वर्ष विश्व कम्युनिस्ट आन्दोलनका लागि उतारचढावयुक्त रहे। सोभियत संघमा मिखाइल गोर्बाचेभले सरकार र पार्टीको क्रियाकलापमा पारदर्शिताको नीति ल्याए। उता चीनमा तियानमेन स्क्वायरमा नरसंहार भयो। बर्लिनको पर्खाल ढलेको पनि त्यही समयमा हो। आखिरमा सोभियत र पूर्वी युरोपमा समाजवादले बिदा लिनुपर्यो।
यस्तोमा वामपन्थीहरुले विश्वव्यापी आक्रमण सहनुपरिरहेको थियो। भारतमा येचुरी र उनको पार्टीमाथि दबाब थियो। येचुरी आफ्नो विचारमा अडिग रहे। उनको भनाइ थियो, ‘गल्ती भएका छन् तर समाजवाद नै भविष्य हो।’ विश्वमा भएका घटनालाई उनी सधैँ वामपन्थीको आँखाबाट विश्लेषण गर्थे र पार्टीले दिनुपर्ने जवाफ तयार पार्थे।
भारतीय संसद्मा बोल्दा येचुरी सधैँ ‘इन्डिया जुन भारत हो’ वाक्यलाई बारम्बार दोहोर्याउँथे। भारतीय जनता पार्टी (भाजपा) सन् २०१४ मा सत्तामा आएपछि र अल्पसंख्यकमाथि आक्रमण थालेपछि येचुरीले इन्डिया नै भारत हो भन्ने अवधारणालाई महत्त्व दिएका थिए। उनी आफू पढेको विश्वविद्यालयमाथि भएको आक्रमणविरुद्ध पनि उभिए। अनेक संघसंस्थामाथि हुने गरेका आक्रमणको विरोध गर्ने उनी दलित र अल्पसंख्यकको अधिकार रक्षाका हरदम डटिरहे। येचुरी सधैँ भन्ने गर्थे- भारतलाई भाजपा र कंग्रेस दुवै पार्टीबाट खतरा छ, बढी खतरा भाजपाबाट छ। यही विचारका कारण उनले कंग्रेससँग गठबन्धन बनाएर भाजपासँग लड्ने नीति अख्तियार गरेका हुन्।
भाजपाको उदयसँगै भारतमा वामपन्थीहरुको संसद्मा उपस्थिति निकै घट्यो। संसद्मा पकड कमजोर भए पनि सीपीआई (एम) नेतृत्वको वामपन्थी घटकले भाजपा र एनडीएका लागि बलियो विपक्षीका रूपमा रहिरहन प्रयत्न गरिरहे। उसो त भारतमा तेस्रो धार निर्माण गर्न उति सजिलो थिएन। फेरि सरकारले लिएको आर्थिक नीतिको विरोध गरेर मात्र पुग्ने थिएन, विकल्प पनि प्रस्तुत गर्नुपर्ने थियो। किनभने भाजपा सरकारले लिएको आर्थिक नीतिले असमानता बढ्दो थियो।
सन् २००४ देखि २०१४ सम्म भारतमा सत्ता चलाएको यूपीएले ल्याएको न्यूनतम साझा कार्यक्रममा सीपीआई (एम) को प्रभाव थियो। यो प्रभाव सन् २०२४ को निर्वाचनका लागि बनाइएको इन्डिया गठबन्धनमा पनि कायम रह्यो। विचार नमिल्ने पार्टीसँग पनि संवाद गरिरहने येचुरी इन्डिया गठबन्धन निर्माण हुनुको एक मुख्य कारक थिए।
येचुरीको व्यक्तित्व जस्तो थियो, उनको राजनीति पनि त्यस्तै थियो। उनको व्यक्तित्व उनले गर्दै आएको राजनीतिबाटै प्रेरित थियो। उनी समाजवादको प्रतिबद्धताबाट कहिल्यै डगमगाएनन्। आमनागरिकको दुःख र संघर्षबाट टाढिएनन्। सायद उनलाई सम्झिरहनुपर्ने कारण पनि यिनै हुन्।
फ्रन्टलाइन म्यागजिनबाट