सहकारी ठगी प्रकरणमा संसदीय समितिले गर्‍यो रवि, जीबीसहितलाई कारबाहीका लागि सिफारिस

हिमाल प्रेस ३१ भदौ २०८१ १७:१८
सहकारी ठगी प्रकरणमा संसदीय समितिले गर्‍यो रवि, जीबीसहितलाई कारबाहीका लागि सिफारिस रवि लामिछाने

काठमाडौँ- सहकारी छानबिनसम्बन्धी संसदीय विशेष समितिले सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछाने, गोर्खा मिडियाका अध्यक्ष जीबी राईसहितलाई पनि कारबाही गर्न सिफारिस गरेको छ। प्रतिनिधिसभाले गठन गरेको संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदनमा सहकारी ठगीबाट फरार रहेका राईसँगै रवि लामिछानेलाई पनि कारबाही सिफारिस गरिएको हो।

‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुन बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने’ समितिको सिफारिसमा उल्लेख छ।

त्यसरी सिफारिस गर्ने क्रममा सेयरहोल्डरहरूको दायित्वको विषय उल्लेख गरिएको छ। ‘कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ। कम्पनीका सञ्चालक वा सेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन्,’ प्रतिवेदनको सिफारिसमा भनिएको छ, ‘सेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न मिल्दैन।’

प्रकाशित: ३१ भदौ २०८१ १७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 7 =