‘आनन्द संहिता’ माथि परिचर्चा

हिमाल प्रेस २९ भदौ २०८१ १९:२३
16
SHARES
‘आनन्द संहिता’ माथि परिचर्चा

पोखरा- पत्रकार तथा साहित्यकार घनश्याम खड्काद्वारा लिखित ‘आनन्द संहिता’ को पोखरामा शनिबार परिचर्चा गरिएको छ। र्‍यान्डम रिडर्स सोसाइटीले आयोजना गरेको कार्यक्रममा संस्थाका सहसचिव दीपक पराजुलीले अवधारणापत्र प्रस्तुत गरे। ‘मिथ्या’ उपन्यासका लेखकसमेत रहेका साहित्यकार पराजुलीले ‘आनन्द संहिता’ लाई स्वसहयोगी कृतिमात्रै नभई पाठकलाई बोध र बुद्धत्वतर्फ अभिमुख गराउने चेष्टा गरिएको कृतिका रूपमा चित्रण गरे।

‘पुस्तकमा घनश्याम दार्शनिक चिन्तकका रूपमा प्रस्तुत भएका छन्, यद्यपि सारमा यो कृति आध्यात्मिक देशना हो, जसको प्राथमिक स्रोत हो बुद्ध दर्शन र साथमा गीता, उपनिषद्, योग र तन्त्र पनि जोडिएका छन्,’ पराजुलीले भने, ‘यसको व्याख्याको केन्द्र भनेको मनोविज्ञान हो जसका लागि आत्मावलोकनदेखि ध्यानसम्मका साधनात्मक सुझाव पेस छन्।’ उनले कृतिलाई मानसिक उपचारको सूत्रका रूपा चर्चा गरे।

‘आनन्द संहिता’ सुखतर्फ होइन, आनन्दतर्फ अभिमुख हुन प्रेरणा दिने पुस्तक भएको तर्क गर्दै पराजुलीले यो कृति साधारण सिर्जना मात्र नभएर आध्यात्मिक चिन्तनको परिणाम भएकोमा जोड दिए। ‘पाठकलाई बोधको तहमा लैजाने, आफैँभित्र शान्ति र सुन्दरता अनुभूत गराउने प्रयासमा लेखक सफल भएका छन्,’ उनले भने । पाठकमा शान्तिको अनुभूति गराउने एउटा अमूल्य उपहारका रूपमा ‘आनन्द संहिता’ आएको बताउँदै कृतिको महत्त्व समयसँगै झनै बढ्दै जाने पराजुलीले निष्कर्ष सुनाए।

लेखक घनश्याम खड्काले सबै मानिसले जुनसुकै माध्यमबाट भए पनि आनन्दको खोजी गर्ने र आनन्द प्राप्त गर्नका लागि आफूले बुझेका उपायसहितका विचार पुस्तकमा प्रस्तुत गरेको बताए। ‘फिलोसफी’ र ‘दर्शन’ पर्यायवाची शब्दका रूपमा लिने गरिए पनि यसमा भिन्नता रहेको भन्दै खड्काले अरूमाथिको तर्कशास्त्र फिलोसफी र आफैँमाथिको ज्ञान र देखिएको यथार्थ विषयवस्तु प्रस्तुत गर्नु दर्शन भएको धारणा राखे। आजको शिक्षाले सुल्झाउनुपर्नेमा उल्झाइराखेको बताउँदै उनले आजका विद्यार्थीलाई ‘माइन्डफुलनेस’ को अभ्यासमा लगाउनु आजको आवश्यकता भएको सुनाए।

‘आनन्द संहिता’ स्वयंको चिन्तन गर्न आग्रह गर्ने रचना भएको लेखक खड्काको भनाइ थियो। उनको यसअघि बुद्ध दर्शनमा आधारित उपन्यास ‘निर्वाण’ (२०७२) सहित पुतलीको घर, न्यायको अवसान, दरबारको दुःखान्तलगायतका कृतिहरू प्रकाशित छन्।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पठन संस्कृतिले नै मानिसमा विवेक निर्माण गर्ने धारणा राखे। पढाउनुपर्ने र पढ्नुपर्नेले मात्र नभई आममानिसले पढ्नुपर्ने भन्दै आचार्यले आफ्नो व्यक्तिगत पुस्तकालयमा आफूले पढेका थुप्रै पुस्तकहरू रहेको स्मरण गरे।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले लेखकहरू केवल लेखनमा मात्र लागेर नपुग्ने धारणा राखे। अरूले के लेखेका छन् भन्ने पढ्नुपर्नेमा जोड दिँदै सरुभक्तले आनन्द प्राप्त गर्ने शैलीअनुसार गुणस्तरमा फरक पर्ने बताए। मानवीय जीवनका सबै क्रियाकलापहरू मस्तिष्कको खेल भएको उनले बताए। आनन्दलाई आफूले अहमको तुष्टिसँग तुलना गर्ने गरेको उनले बताए। तनावग्रस्त विश्वलाई मुक्त गराउनका लागि ‘आनन्द संहिता’ जस्ता कृतिहरू आउनुपर्ने सरुभक्तले बताए।

कार्यक्रममा सरस्वती प्रतीक्षा, बाबुराम सुवेदी, रामबहादुर माल, राममणि अधिकारी, श्रीकृष्ण पन्थीलगायतले कृतिकार र परिचर्चाकारलाई प्रश्न गरेका थिए। सोसाइटीको नियमित मासिक परिचर्चा कार्यक्रमको १०९औँ शृंखलाको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए।

संस्थाले प्रत्येक महिनाको अन्तिम शनिबार कुनै कृति वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको संस्थाका अध्यक्ष रुपिन्द्र प्रभावीले बताए।

प्रकाशित: २९ भदौ २०८१ १९:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =