८४ वर्षीया शारदाको कलायात्रा

सुस्मिता बजगाईं २९ भदौ २०८१ १७:४९
62
SHARES
८४ वर्षीया शारदाको कलायात्रा

काठमाडौँ- बबरमहलस्थित नेपाल कला परिषद्को भुइँतला वरिष्ठ चित्रकार शारदा चित्रकारले कोरेकी करिब ६० तस्बिरले सजाइएको छ। २०१० देखि २०८० सालसम्मका मानवीय जीवनशैली, संस्कृति झल्किने तस्बिरदेखि आकर्षक फूलसमेत छन्।

प्रवेशसँगै दाहिनेतिर शारदाका विषयमा पत्रपत्रिकामा प्रकाशित लेख तथा समाचारका ‘कटिङ’ ले स्थान पाएका छन्। देब्रेतिर डिजिटलमा उनको भिडियो प्रसारण भइरहेको छ।

यो दृश्य हो हिमालय आर्ट फेस्टिभलको सातौँ संस्करणको। प्रदर्शनी शनिबार सम्पन्न भएको छ। आयोजकले यस वर्ष वरिष्ठ कलाकार शारदा चित्रकारलाई विशेष सम्मान गरेको छ। नेपाली कला क्षेत्रमा उनको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो।

१९९७ सालमा काठमाडौँको तलाछेँटोलमा जन्मिएकी शारदाले चित्र बनाउने प्रेरणा घरबाटै प्राप्त गरिन्। उनलाई आफूले कहिलेदेखि चित्र कोर्न थालेको स्पष्ट छैन। उनले भनिन्, ‘मैले कहिलेदेखि चित्रकला सिक्न थाले भन्ने प्रश्नमा म आफैँ अलमलिएकी छु। सायद क, ख लेख्न सिक्नुअगावै हुनुपर्छ। सानो छँदा बुबाले दसैँको बेला पूजाकोठामा मेरो हात भित्तामा देउताको आँखा लेख्न लगाएको सम्झना मनमा ताजा छ।’

१३ वर्षको उमेरमा झ्यालमा बसेर उनले घरअगाडिको पञ्चमुखी सन्झ्याल ठूलो कागजमा ब्रसले कालो रङ चोपेर दुरुस्त उतारेकी थिइन्। शारदाको परिवार चित्रकलामा समर्पित। बुवा हुन् तेजबहादुर चित्रकार त्यसबेलाको चर्चित चित्रकार र कला प्रशिक्षक पनि। जसका कारण उनको घरमा चित्रकला सिक्न आउनेको भीड लाग्थ्यो। घरभरि सबै विद्यार्थीले चित्र बनाइरहेको देख्दा शारदालाई पनि त्यसप्रति मोह जाग्दै गयो। केरा होस् या सुन्तला कुनै फल खान पहिले त्यसकै चित्र कापीमा सार्नुपर्दथ्यो शारदालाई।

चित्रकलामा सानैदेखि लगनशील शारदाले छोरी भएकै कारण १४ वर्षको उमेरसम्म पढ्न पाइनन्। छोरीले पढ्न हुन्न भन्ने संस्कारले त्यसबेला आफू पढाइप्रति वञ्चित बनेको उनी बताउँछिन्।

शारदा काठमाडौँकी रैथाने। शिक्षित बुबा। यसैको प्रभाव होला ढिलै भए पनि उनले उच्चशिक्षा हासिल गरिन्। पद्मकन्यामा कलेज पढिन्। त्रिभुवन विश्वविद्यालयबाट मानविकी संकायमा स्नातक उत्तीर्ण गरिन्। जुद्धकला पाठशाला अर्थात् ललितकला क्याम्पसबाट कलामा उच्चशिक्षा लिइन्।

कलामा स्नातक सकेपछि सन् १९६६ मा उनले जनक शिक्षा सामग्री केन्द्रमा ‘आर्टिस्ट’ मा जागिर खाने अवसर पाइन्। ढिला भए पनि पढाइलाई निरन्तरता दिनु र चित्रकलामा सफलता पाउनुको श्रेय उनी बुबा तेजबहादुरलाई दिन्छिन्। उनी सानैदेखि बुबाले बनाउने चित्रमा सहयोग गर्थिन्। सन्तानको चाहना बुझेर सानैदेखि बुबाले घरमा उनीलाई सधैँ चित्र बनाउन गृहकार्य दिएर आफू स्कुल पढाउन जाने गरेको उनले बताइन्।

पढाइबाट फर्केपछि शारदा सधैँ बुवालाई काममा सघाउँथिन्। कलम, कुची, रङसँग खेल्दाखेल्दै उनीभित्र चित्रकलामा दक्षता विकास हुँदै गयो। देशमै कलाको शिक्षालाई निरन्तरता दिँदै एक सक्षम कलाकार बनोस् भन्ने उनको बुवाको इच्छा थियो। उनलाई पनि देशबाहिर गएर आफूपनि कला अध्ययन गर्न जान मन लाग्थ्यो तर छोरी भएकीले देशबाहिर जाने इजाजत पाइनन्।

‘बुवाले जे सिकाउनुभयो मैले त्यही सिकेँ। त्यसलाई निरन्तरता दिएँ तर अहिले समय परिवर्तन भइसकेको छ। पहिलेजस्तो लैंगिक विभेद छैन। बाहिर पढ्न जान वञ्चित छैन’, उनले भनिन्। शारदा आफूले भोगेको जीवन र अहिलेको समयमा निकै परिवर्तन भएको बताउँछिन्।

‘समाजमा लैंगिक असमानतामा हुँदाहुँदै पनि बुबाले आगन्तुकलाई मेरो चित्रकला देखाएर परिचित गराउनुहुन्थ्यो। मलाई आफूसँगै बसालेर मैले बनाएका चित्रहरू आफ्नो शिष्यलाई देखाएर गौरव गर्नुहुन्थ्यो। बुबाले चित्रकला शिक्षाप्रदान गर्नमा छोराछोरीमा केही भेदभाव गर्नुभएन। यसैको परिणाम आज चित्रकलामा सफलता हासिल गरे’, उनले भनिन्।

शारदालाई चित्र कोर्न स्थलमै पुग्नुपथ्र्याे। त्यसबेला पनि परिवारबाट एक्लै पठाउँदैनथे। आमालाई साथ लिएर जान्थिन्। कहिले पशुपति, कहिले स्वयम्भू, कहिले भक्तपुर, कहिले पाटन।

शारदा पुरुषसत्तात्मक समाजमा जहिले पनि पुरुषको अधीनमा बस्नुपर्ने, महिलालाई एउटा फलमात्र हो जस्तो गरी हेर्ने, महिलाले भोग्नुपर्ने पीडा नबुझ्ने विषयलाई कलामा उतार्थिन्।

उनी घुम्न जाँदा होस् या बिदा मनाउन, वनभोजमा जाँदा अधिकांश समय चित्र कोरेर बिताउँथिन्। जुन विषयले प्रभाव पार्‍यो त्यसमा चित्र कोरिहाल्थिन्। उनी जहाँ बस्थिन् त्यहाँ चित्र कोर्थिन्।

चित्रकलाबाट सुरुमा उनले आफ्नै बुबाबाट सारी उपहार पाएकी थिइन्। ‘रुसका तत्कालीन राष्ट्रपति ख्रुस्चेवको नेपाल आउँदा उनको मुहार चित्र बनाएर सघाएबापत खुसी भएर मलाई एकैचोटि चारवटा सारी ल्याइदिनुभएको थियो’, उनले सुनाइन्।

२०२३ सालमा आयोजित प्रथम राष्ट्रिय कला प्रदर्शनीमा आफ्नो बज्यैको मुहारचित्र बनाएकोमा उनले दुई सयसहित सान्त्वना पुरस्कार पाइन्। जसले उनलाई चित्रकला बनाउन हौसला मिलेको थियो।

शारदाले विवाहपछि चित्र कोर्न भने छोडिनन्। घरको काम, सन्तानको हेरचाह, पारिवारिक जिम्मेवारी सम्हाल्दै फुर्सदमा चित्र कोर्थिन्। पतिबाट पनि उनले सहयोग पाइन्। ‘पतिले मलाई चाहेजति कला सामग्री ल्याइदिएर चित्रकला सिर्जना गर्दै जाने हौसला बढाइदिनुहुन्थ्यो’, शारदाले भनिन्।

बिहेपछि घरको काम भ्याएर कोठाभित्र बसेर पनि कलासाधनामा अनवरत रूपले लागिरहन्थिन्। बच्चा खेलाउँदै सन् १९७० मा बनाएको ‘स्टिल लाइफ’ चित्र आँखामै बसेको छ।

चित्रकलाको निरन्तर अभ्यासपछि सन् २००२ मा प्रथमपटक एकल चित्रकला प्रदर्शनी गरिन्। दोस्रोपटक सन् २००४ मा रातो मछिन्द्रनाथको रथजात्रामा समर्पित चित्रहरूलाई समेटेर दोस्रो एकल प्रदशनी गर्न सफल भइन्। सन् २०१० मा नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति भएर नेपालको कलासंस्कृतिलाई प्रवर्धन गर्ने काम गरिन्।

रोटरी क्लबसँग सहकार्यमा सन् २००४ मै कन्टेमपोररी वोमेन आर्टिस्ट एन नेपाल भन्ने शीर्षकमा नेपाली र नेपालमा बसोबास गरिरहेका केही विदेशीसमेत २५ महिला कलाकारको सामूहिक कलाप्रदर्शनीको आयोजना गर्ने अवसर पाइन्।

आफ्नो चित्रकला बिक्री हुन थालेपछि उनले गृहिणीलाई सीप तालिम दिएर आयमूलक नारी सशक्तीकरणमा लागिन्। समाजमा विद्यमान पितृसत्तात्मक सोच त्याग्दै नेपालमा पहिलोपटक महिला सशक्तीकरण समूहको गठन गरी चित्रकला तालिम दिने जमर्काे गरिन्।

जीवनकलामा बिताएकी शारदालाई अहिले समाज र मानवीय दृष्टिकोण परिवर्तन भए पनि कलालाई नेपालीले बुझ्न गाह्रो रहेको शारदाको बुझाइ छ। कलाबारे बुझ्न पहिले गहिरो अध्ययन गर्न जरुरी रहेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘महिला कलाकारको लगन र कला दक्षताको विकास गर्न प्रोत्साहन गर्न आवश्यक छ।’

अक्षर चिन्नुअघि चित्र कोर्नतर्फ रमाएकी शारदा ८४ वर्षकी भइन्। एक सक्षम महिलाको उदाहरणीय पात्र बनिन्। उनीभित्र कलाको भोक अझै सकिएको छैन। ‘मेरो अन्त्य निश्चित छ तर पनि म निरन्तर कुची चलाइरहेकी छु’, उनले भनिन्, ‘कलासाधनामा सधैँ र अन्तिम अवस्थासम्म पनि आफूलाई समर्पित गर्न पाऊँ।’

प्रकाशित: २९ भदौ २०८१ १७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − two =