ओहो, कस्तो भारी शब्द – मृत्यु। सम्झिँदै आङ जिरिङ्ङ हुने। तर मैले यही मृत्युलाई आफ्नो हत्केलामा समातेको छु। जन्मिएपछि मर्नु त पर्छ नै। आफ्नो आयु पूरा भएपछि मरेको मानिसका निम्ति ‘आखिर मर्नु नै पर्छ’ भनेर अलिकति चित्त बुझाउन पनि सकिन्छ। कतिपय मृत्यु भने अर्कै खालका पनि हुँदा रहेछन्। आमाको पेटबाट निस्किन नपाउँदै अथवा भनूँ राम्रोसँग जन्मिन नपाउँदै, संसार देख्न नपाउँदै, आवाज निकाल्न नपाउँदै संसार त्याग्नुपर्ने। मर्नुपर्ने। सीधा भाषामा भन्दा हत्या सहनुपर्ने।
कसरी सुनाऊँ म यो पीडा! आफूलाई शान्त गराउन मनभित्र कुनै किनारा पाइराखेको छैन मैले। सम्झाउनै सकेको छैन आफैँलाई। मेरा हात थरथरी काँपिरहेका छन् अहिले पनि। झन् त्यो भर्खरकी कलिली आमाको हालत के भयो होला? कसरी सम्हाली होला उसले आफूलाई? उसका सपना सबै चकनाचूर भए होलान्।
जम्मा अठार वर्षकी रहिछ ऊ। र, उसको पेटमा हुर्किएर प्रत्येक अंग तयार भइसकेको एउटा बच्चा अनि आफ्नो चाहना हुँदाहुँदै पनि जिउँदो जन्माउन नपाएको आमाको त्यो अथाह पीडा! र त ऊ अहिले जीवन र मृत्युको दोसाँधमा रुमल्लिरहेकी छे। थाहा छैन, उसले मृत्युलाई पछारेर फेरि जिउने साहस गर्न सक्छे या सक्दिन।
त्यो दिन म कसै गरी पनि बिर्सिन सक्दिनँ।
सधैँजस्तै हतारहतार गर्दै म आफ्नो ड्युटीका निम्ति अस्पताल पुगेँ। नाइट ड्युटीका निम्ति। दिनभरि आफ्नो कामका कारण थाकेको अवस्थामा पुगेको थिएँ।
त्यही दिनचाहिँ बिरामीको चाप अन्य दिनभन्दा धेरै नै रहेछ। हतारहतार मैले साथीहरूबाट आफ्नो कामका बारेमा जानकारी लिएँ र स्टेसन पुगेँ। स्टेसन पुगेको मात्रै के थिएँ, ३२ नम्बरको बेडमा बिरामी कराएको सुनेँ। आवाज अलिक पीडादायक नै लागेकाले म तुरुन्तै त्यता गएँ।
एउटी भर्खरकी कलिली केटी बेडमा पल्टिरहेकी रहिछ। उसको नजिकै एक महिला उदास मुद्रामा बसेकी थिइन्। बेडमा पल्टिएकी केटीलाई निकै नै पीडा भइराखेको रहेछ।
उसको पेटमा बच्चा हुर्किंदै रहेछ। ऊ आफैँ त यति कलिली छे, त्यसमाथि पेटमा बच्चा !फेरि बच्चा पेटमा बसेको सात महिना पुगिसकेको रहेछ। त्यो बच्चा फाल्ने उद्देश्यले आएकी रहिछ ऊ अस्पताल। नाम रहेछ, रीता। र, आफ्नी आमालाई साथमा ल्याएकी रहिछ।
रीतापीडामा छट्पटाउँदै थिई। त्यही भएर मैले अलि बढी नै फोकस गरेँ उसलाई।
‘यति सानो उमेरमा, फेरि सात महिनाको बच्चा हुने बेलासम्म किन चुप लागेर बसेकी रीता? तिम्रो बूढा खोइ?’
ओहो, ऊ त अविवाहित पो रहिछे !
मैले उसलाई आवश्यक हेरचाह गर्दै उसका बारेमा अझै बुझेपछि थाहा भयो, एकजना केटाले विदेश लैजान्छु भनेर उसलाई प्रेममा पारेको रहेछ। पछि उसलाई छोडेर सम्पर्कविहीन भयो रे! रीताको पेटमा बच्चा छ भनेर सुनेपछि सम्पर्कबाट हराएछ।
रीतालाई आफ्नो प्रेमी आएर स्वीकार गर्छ भन्ने आस रहेछ। र, प्रेमीसँगै बिहे गरेर बच्चा जन्माउने सोच बनाएकी रहिछ। बच्चा फाल्ने उसको अलिकति पनि मनसाय रहेनछ।
आज आऊला कि भोलि भन्दाभन्दै महिनौँ बिते तर उसको प्रेमी आएन। र, रीताले आफूमाथि बितिरहेको अवस्थाका बारेमा कसैलाई सुनाउन पनि सकिन। आफ्नो परिवारमा पनि भन्न सकिन। पेट बढ्दै गइरहेको थियो र सँगसँगै उसको डर पनि।
सकेसम्म त उसले आफ्नो अवस्था लुकाउन खोजेकै हो, तर कहिलेसम्म! फेरि लुकाएर लुक्ने कुरा पनि त हैन। उसको पेट बढ्दै गएपछि उसको परिवारले थाहा पाइहाल्यो। र, यो बेलासम्म सात महिना बितिसकेको थियो उसको पेटमा बच्चा बसेको।
परिवारले केरकार गरेपछि अहिलेसम्म बेवास्ता गरेर हिँडेको र सम्पर्कमा नआएको केटा अब पनि नआउने भन्दै परिवारमा अब के गर्ने भनेर सल्लाह भएछ। रीताको भविष्यका निम्ति भनेर उसको पेटभित्रको बच्चा फाल्नुपर्छ भन्ने निर्णय भएछ र रातारात अस्पताल भर्ना गराएछ उसको परिवारले।
‘दिदी, म बाँच्दिनँ होला। मेरो पेटमा मलाई एकदमै गाह्रो भइराखेको छ। सास फेर्न पनि गाह्रो भइराखेको छ।’ ऊ यो बेला तीनवटा पीडाले किचिएकी थिई। एक त जीवनको यो कलिलो उमेरमै प्रेमका नाममा धोका पाएकी थिई, अर्को इच्छा नहुँदानहुँदै बच्चा फाल्नुपरिरहेको थियो र पेटको बच्चाले गर्दा दुःख पनि पाइरहेकी थिई।
‘दिदी, तपाईंलाई थाहा छ – मेरो पेटमा छोरो छ रे नि!’ उसले मसँग भनी।
मैले उसका बारेमा मायालु तरिकाले सोधेकाले हुन सक्छ, उसले मलाई आफ्नो मान्छेझैँ गरेर भनी। अति प्यारी लागी मलाई ऊ।
‘हेर्नुस् त, तपाईंको हात दिनुस् न, मेरो पेटमा मेरो बच्चाले कस्तरी खेल्दै छ! लात्ता हान्दै छ मलाई! उसलाई पनि छिटोछिटो संसारमा निस्किन मन छ होला है, दिदी!’ ऊ आफ्नो नजन्मिएको बच्चाप्रति मोहग्रस्त भएकी थिई। सात महिनासम्म आफ्नै पेटमा राखेको हुनाले होला, उसलाई त्यो बच्चा आफ्नै अङ्गझैँ लागेको। हरेक महिलालाई यस्तै लाग्छ पनि।
तर उसको बाध्यता! बच्चा फाल्नुपर्ने थियो। उसलाई हेर्दा लागिरहेको थियो, जब ऊ यो कुरा सम्झिन्थी, बेडमा ओछ्याइएको नीलो तन्नालाई पक्रिँदै, कोतर्दै आँखाभरि आँसु बनाउँथी। फेरि त्यसलाई रोक्ने कोसिस गर्थी र भित्रभित्रै निलिदिन्थी। सायद ऊ आफ्नो मनलाई कठोर बनाउन खोज्दै थिई। यति कठोर कि उसले आफ्नो बच्चा आफ्नै आँखाअगाडि मर्दा पनि त्यसलाई सहन सकियोस्, ढुंगाजस्तै कठोर। उसको अनुहारका भावहरूले अनौठा खालका उसका हर्कत ओकलिरहेका थिए।
म सोचिरहेको थिएँ, ‘त्यो बच्चालाई पनि यो संसारमा आउन कति हतारो छ होला है! उसले पनि आफ्नी आमालाई छाड्न चाहँदैन होला। निःस्वार्थ माया गर्छ होला। मुस्कुराउँछ होला।’
उसको देखिइनसकेको मुस्कान पनि मलाई प्यारो लागिरहेको थियो। रीताको एउटा अंशको मुस्कान।
मैले पुलुक्क रीतालाई हेरेँ। उसले पनि मतिर हेरेर भनी, ‘दिदी, के म निर्दयी आमा हुँ? हेर्नु न, मेरो छाती पनि कस्तो चड्किँदै छ!’
उसको यो प्रश्नले मलाई निकै भावुक बनायो -‘कस्तो निर्दयी आमा।’
मैले उसलाई मात्रै समय दिएर हुँदैनथ्यो। उसका लागि गर्नुपर्ने औषधिमूलो गरेर र उसलाई तथा उसकी आमालाई आफूले सकेको सम्झाएर म अरु बिरामी हेर्नतिर लागेँ।
रीताको बेडनजिकै अर्की महिला पल्टिरहेकी थिइन् र नजिकै थिए उनका पति। उनीहरू रीतातिर अचम्मको भावले हेरिरहेका थिए। अचम्मको संयोग त के भने उनीहरूचाहिँ वर्षौंसम्म बच्चा नभएको भएर उपचारका क्रममा अस्पतालमा आएका रहेछन्।
हे भगवान्! संसारमा भगवान्ले कसैलाई वरदानको रुपमा बच्चा दिएको छ भने कसैले त्यही वरदान पनि पाएको हुँदैन। हामी स्वास्थ्यकर्मीहरू चाहिँ कसैको काख रित्यााउँदै छौँ र कसैको काख भर्नका निम्ति अनेकौँअनेकौँ प्रयास गर्दै। यो कस्तो खालको विडम्बना!
यो अवस्था देखेर मैले लामो सास फेरेँ। थचक्क बसूँजस्तो लाग्यो। ध्यान पुनः रीतातिरै गयो। आँखाभरि रीता मात्रै घुमिराखी। यसबाट बच्न म छिटोछिटो उसको बेडबाट पूरै किनारा लागेँ र अरु बिरामीतिर नै ध्यान दिन थालेँ। यति गर्दा पनि मेरा आँखामा रीता नै घुमिराखी। मैले आफूले हेर्नुपर्ने सबै बिरामीलाई हेरेर सकेँ र आएर आफ्नो ठाउँमा बसेँ।
रातको अँध्यारो बढ्दै गयो। जतिजति रात छिप्पिँदै गयो, अस्पताल परिसर शान्त हुँदै गयो। बिरामी आफ्नो बेडमा चुपचाप पल्टिरहेका थिए भने बिरामी-कुरुवाहरू पनि आफ्नोआफ्नो ठाउँमा निद्रामा थिए।
राति दुई बजे सुनसान रातको शान्त वातावरणलाई नै तर्साउने गरेर चिच्याएको आवाज आयो, ‘मरेँ नि, आमा!’
रीता चिच्याएकी थिई। औषधिले काम गरेछ उसलाई। उसका घरहरू पनि खोलिँदै रहेछन्। बच्चा निस्किने क्रममा टाउको निस्किएको थियो।
रीता घरी मरेको लासजस्तै बन्थी भने घरी होसमा आएर पूरै चिच्याउन थाल्थी। निकै छट्पटाहटपछि उसको अंगबाट रगतको वर्षासँगै बच्चा निस्कियो।
उसले भनेजस्तै बच्चा छोरा नै रहेछ।
‘दिदी, मेरो छोराको मुख देखाइदिनुस् न! म हेर्छु नि, दिदी !’ ऊ मसँग भन्दै थिई।
आखिर आमा भनेको आमा हो नि, उफ्!
मैले त्यो बच्चालाई जब आफ्नो हातमा राखेँ, उसको धड्कन महसुस गरेँ। कस्तो सुन्दर थियो बच्चा! नाक लामो रहेछ। शरीरका अन्य सबै अङ्ग लामालामा नै थिए। ओजिलो रहेछ बच्चा।
‘म पनि यसरी नै त जन्मिएकी हुँ नि!’ मलाई एक्कासि मेरी आमाको याद आयो, जसले मलाई सत्र वर्षको उमेरमै जन्माउनुभएको थियो। र, म पनि सात महिनामै जन्मिएकी थिएँ रे, रीताको छोराजस्तै। आज मैले त्यो बच्चामा आफ्नै छवि देखेँ।
बच्चा चल्दै थियो। उसको धड्कनले काम गरिराखेको थियो। र, उसले अन्तिमअन्तिम सास फेर्दै थियो।
सायद मेरी आमाले मलाई यसै गरेर तुहाएकी भए आज मैले संसार देख्ने थिइनँ। राम्रोसँग सास नै फेर्न नपाई मर्ने थिएँ। संसार देख्नै पाउने थिइनँ, जसरी यो बच्चाले देख्न पाएन। र, आउनै नपाई गयो। हामी सबै जनालाई रmवाएर गयो। मेरो हातबाटै आफ्नो यात्रा बदल्यो।
म एकाएक भावविहीन भएँ।
मैले यी मेरा हातबाटै कतिलाई संसार देखाएँ। कतिले मेरै हातमै रहेर सास फेर्न सिके। मैले उनीहरूको धड्कनको अनुभव गरेँ। र, केहीले मेरा यी हातमै आफ्नो प्राण पनि त्यागिदिए। आजको बच्चाको प्राणत्यागले मलाई पागलझैँ बनायो। आजको यो मृत्युले मलाई निकै भार बोकायो। निकै बोझिल बनायो।
मेरो दिमागले निकै समय काम गरेन। म ठप्प भएर थचक्क भुइँमा बसेँ। रीता आफ्नै पीडामा थिई। सायद पीडा सहन नसकेर बेहोस थिई। त्यो कलिली रीताका अंगहरू छुट्टिँदाखेरिको उसको त्यो पीडालाई मैले पनि सहनै सकिनँ।
कसरी व्यक्त गरुँ म यो पीडा, जसको कुनै किनारा छैन
हात थरथर काँप्छ जब, आफैँभित्रको सपना चकनाचूर गर्छु।
यो पेटमा लुकेको सानो संसार, जसको आवाज छैन।
तर, मेरो हृदयले सुनेको छ उसको सानो धड्कन, चुपचाप।
निःस्वार्थ माया थियो उसको, नदेखेको मुस्कानमा पनि
तर संसारले बाध्य गरायो, आफ्नै अंशलाई बिर्सिनुप¥यो।
के म निर्दयी हुँ, यो प्रश्नले जलाइरहन्छ दिनरात
तर जिन्दगीको खेलले मलाई, यो कठोर निर्णयमा बाध्य गरायो।
समाजको ठूलो आवाजले, मेरा कान हुँदै सुनिरहेको थियो
आफ्नै सपनालाई भत्काएर, भविष्यको खातिर बाँच्नुपर्ने यो यात्रा।
आँखामा आँसु नदेखिए पनि, मनमा भारी बादलहरू छन्
यो सन्तानको माया र सपना, मेरो साससँगै जलेको छ।
यो निर्णय मेरो थियो कि, संसारले थोपरेको बोझ ?
मभित्रैको सच्चाइ कसरी सुनाऊँ, जब उत्तर नै छैन।
पेटमा रहेको त्यो निर्दोष ज्यानलाई, बिनाआवाज मार्न बाध्य भएँ,
संसारको कठोरताले मेरा मनका सपनालाई कुचलिदियो।
तर समयले घाइते गर्छ र पनि म बाँच्नुपर्नेछ
यो मनमा सधैँ पोलिरहने घाउ बोकेर,
त्यो बच्चाका लागि म यो शब्दकोशमा कवि बनेर,
आफ्नै पीडालाई कागजमा पोखिरहनेछु।